आफ्नो माटोको उत्पादन राजधानीलाई चखाउने कर्णालीका डाक्टर

प्रतिक ढकाल २०८० कार्तिक २३ गते १४:४४

कस्तो आलु डाक्टर हो ? डाक्टरले आफ्नो काम गर्नु नि के आलु बेचिराख्नु …

जब जुम्लेली आलु काठमाडौंमा बेच्छु भन्दै डा. भुमेस काफ्लेले ट्विट गरे उनले यस्तै यस्तै प्रतिक्रियाहरु पाए ।  डेन्टल सर्जन भुमेस काठमाडौंलाई जुम्लेली उत्पादन चखाउँछन् । दिनभर क्लिनिक चलाउँछन् अनि बाँकी समय चाहिँ जुम्लेली उत्पादन बेच्न भ्याउँछन् ।

डा. भुमेस/फोटो : पुष्कल श्रेष्ठ/जीविको

दशक अगाडि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिडिएस् सक्काएका भुमेस केही समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिरे भए । जन्मथलो कर्णालीमा बसेर काम गरिरहँदा उनले त्यहाँका अनेकौँ कृषि उपजले बजार नपाएको देखे । बाल्यकालमा खासै यस्ता विषयबारे थाह नभएपनि पछि भुमेसको चेतनाले ती उत्पादनलाई बजार देखाउनुपर्छ भन्ने सोच्यो ।  त्यसपछि आफ्ना भाईसँगको सल्लाहपछि सुरुभयो कर्णाली काठमाडौं उद्यमको कथा । 

फोटो : पुष्कल श्रेष्ठ/जीविको

सुरुवातमा भुमेसले मार्सी चामल काठमाडौंमा बेचे पछि ओखल हुँदै कागुनो, फापर र कोदोसम्म उनले काठमाडौं पठाए । सुरुवातमा अनलाइन प्रणालीमार्फत् मात्र समान काठमाडौंमा बेच्दै आएका उनले बसुन्धारमा ओखल अर्गानी मार्ट नाम दिएर पसल नै खोले, समयक्रममा सम्भावना देखेपछि नयाँ बानेश्वरमा नयाँ आउटलेट खोलियो ।

अहिले दिउँसोको समयमा उनका भाईले मार्ट सम्हाल्छन् । बेलुका भाईसँगै हात बढाउँछन् भुमेस पनि । 

उनी भन्छन्, “गाउँको स्वाद काठमाडौंलाई चखाउन पाएको छु, खुसी लाग्छ” अब भने नेपाली अर्गानिक स्वादलाई विश्वबजारसम्म पुर्याउने सोच छ भुमेसको ।

“सिंहदरबारले कर्णाली देखेको छैन । तर त्यहाँ प्रचुर सम्भवाना छ, म कर्णाली चिनाउने अभियानमा पनि छु,” भुमेसले भने । 

फोटो : पुष्कल श्रेष्ठ/जीविको

लोकल उत्पादनको महत्व हामीले अझैँ बुझेका छैनौँ र बुझेपनि प्रयोग भने नगर्ने चलनले गर्दा अहिलेपनि कर्णालीको उत्पादनले सम्भावना अनुसारको न्यूनतम पनि बजार नपाएको गुनासो उनी पोख्छन् ।

उनी भन्छन्, “जुम्लाको स्याउ झापा पुगोस्, झापाको चामल कर्णाली पुगोस् । देशका सबै उत्पादनले बजार देखोस् यही चाहना छ”

हेर्नुहोस्, कर्णालीका उद्यमी डाक्टरको : भिडियो कथा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *