गजबका माड्साब: पढाउने, हसाँउने अनि कमाउने !

प्रतिक ढकाल २०८० भदौ ६ गते १६:३४

माड्साब भन्ने वित्तिकै हाम्रो दिमागमा आइहाल्ने सम्झना भनेको कडा मिजास अनि गम्भिर कुराकानी गर्ने शिक्षक । 

तर, यी माड्साब अर्थात् आशिष खनालको स्वभाव भने हाम्रो कल्पनाको माड्साब भन्दा फरक छ । यी माड्साब स्मार्ट देखिन्छन्, हसाउँछन् ब्यङ्ग गर्छन् अनि नरम मिजासका छन् । 

यी माड्साब काठमाडौं नरेफाँटको लाँलिगुराँस स्कुलमा पढाउँछन् । पढाउने बाहेक यिनको अर्को परिचय पनि छ- कार्टुनिस्ट ।

उनी कार्टुन अर्थात् ब्यङ्ग चित्र बनाउँछन् । कहिले नेता कहिले कार्यकर्ता त कहिले व्यवस्थाका नकरात्मक पक्षलाई झिकेर कार्टुन कोर्छन् ।

कार्टुनिस्ट आशिष खनाल ‘माड्साब’   फोटो: जीविको मिडिया

“पढ्न पनि सजिलो हेर्दा नि रमाइलो अनि चसक्क घोच्ने कार्टुन चाहिँ कुरीति बिसंगती बिरुद्दको सबैभन्दा शशक्त आवाज हो कि जस्तो लाग्छ,” आशिष सुनाउँछन् । 

गत साल वर्खाको समयमा आशिष खनाल ‘माड्साब’ले आफ्नै गाउँसम्म पुग्ने हिलो बाटोलाई जोडेर स्थानीय प्रतिनिधिलाई व्यङ्ग गर्दै एउटा कार्टुन बनाए । कार्टुन इलामेली भेगमा चर्चित बन्यो । धेरैले आशिषको व्यङ्गलाई मन पराए । 

तर, कार्टुनिस्टको रुपमा भर्खर भर्खर चिनिन थालेका माड्साबले भने कार्टुन बनाएकै कारण आएका धम्की गालिहरूको रुपमा यो घटना सम्झन्छन् ।

कार्टुन बनाएपछि जनप्रतिनिधीका शुभचिन्तकहरुबाट दैनिकजसो धम्की खेप्नुपर्यो उनले । तर, यही घटना पश्वात भने उनलाई लाग्यो प्रतिनिधिलाई सजग राख्न कार्टुन चाहिँ गतिलो माध्यम हुनेरहेछ । त्यसपछि कार्टुन मार्फत् वेथिति बिसङ्गतीलाई उनले पोख्न थाले । 

उनका व्यङ्ग्य पाठकले रुचाउँदै गए माड्साब कार्टुनिस्टको रुपमा चिनिँदै गए । शिक्षक पछाडि अर्को बलियो पहिचान पनि थपियो – कार्टुनिस्ट ।

कार्टुन मार्फत उनले प्रस्तुत गर्ने शशक्त व्यङ्ग्यको प्रभाव साथीभाई आफन्तसम्म हुँदै विभिन्न सञ्चारमाध्यमसम्म पुग्न थाल्यो । उनी बिना पारिश्रमिक आफ्ना कार्टुनहरू सञ्चारमाध्यममा छपाउन थाले । जति कार्टुन बनाउँदै गए उनको माग बढ्दै गयो । आफूले बनाएको कार्टुन छपाउन उनले विभिन्न पत्रपत्रिका र अनलाइन मिडियालाई अनुरोध गरे तर कसैले पनि उनको कलालाई ठाउँ दिएनन् । अहिले समय परिवर्तन भएको छ, उनै माड्साबको कार्टुनलाई आफ्नो सञ्चारमाध्यममा प्रकाशित गर्न भन्दै विभिन्न पत्रपत्रिका र अनलाइन मिडियाले आग्रह गर्ने गर्छन् अनि स्तरीय पारिश्रमिकको पनि प्रस्ताव गर्छन् ।

उनी भन्छन्, “पेशाको मर्म बुझेर काम गर्यो, मेहनत गर्यो भने स्थापित हुन समय नलाग्ने रहेछ । म सानो समयमा नै स्थापित हुने क्रममा छु । स्वयंसेवी कार्टुनिस्टले अहिले पैसामा काम थालेको छ ।”

अहिले उनी पारिश्रमिकमा काम गर्छन् र निकै रुचाइएका कार्टुनिस्ट हुन् । चित्रकला गर्ने सीप सानैबाट थियो उनलाई । स्कुलमा हुँदा चित्र कोर्ने अनि चित्र बनाएरै पुरस्कार जितेका धेरै घटनाहरू उनी सम्झन्छन् । यही कलाले पनि उनलाई कार्टुनिस्ट बन्न डोहोर्याएको हो कि झैँ लाग्छ आशिषलाई । 

अहिले कार्टुनिस्टका रुपमा चिनिएका यी शिक्षकलाई कार्टुन भन्दा शिक्षण पेशा प्यारो लाग्छ । परिवारका अधिकाँश सदस्य नै अध्यापनसँग जोडिएकाले यो पेशासँग छुट्टै सामिप्यता छ । तर अध्यापनसँगै व्यङ्ग्य चित्र कोरेर आम जनतालाई गम्भिर विषयमा हाँस्दै सोच्न बाध्य बनाउन उनलाई औधी मजा लाग्छ । कार्टुन बनाएर सामाजिक राजनीतिक कुरीतिका विरुद्ध छेड हान्न भिन्नै उर्जा र शक्ति मिल्ने बताउँछन् माड्साप ।

वास्तवमा भन्नुपर्दा माड्साबको कार्टुनले आम जनतालाई पेटमा घोच्छ अनि हाँसो लाग्छ तर नेता र कार्यकर्तालाई भने मनमा घोच्छ अनि पीडा हुन्छ ।

हेर्नुहोस्, ब्यङ्ग्य चित्रमा जमेका आशिष खनाल माड्साबको भिडियो कथा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *