म त नेपाली, मैले सानो काम किन गर्छु र स्वदेशमा ?

प्रतिक ढकाल २०८० साउन १५ गते २१:०३

कतारको एउटा प्रतिष्ठित कम्पनीले डेढसय सेक्युरिटी गार्ड माग्यो

मेनपावरको विज्ञापन फेसबुकमा देख्ने बित्तिकै झापा चारआलीका एक युवाले (उनले नाम खुलाउन चाहेनन्) डेढ बिगाहा जग्गामा सुपारी खेती लगाउने सपना टुङ्ग्याए, नेपालमै बसेर आम्दानी गर्ने सोचलाई पूर्णविराम लगाइदिए ।

उनले खेती गरी जीविको टार्ने सोच फेरेसँगै परिवारमा पनि हर्षोल्लास नै छायो । 

उनका बुबाले भने, “घरै भए डुकु हुनेथियो, विदेशियो ढुक्क भयो अब आफ्नो गरिखान्छ”

अहिले उनी कतारमा सेक्युरिटी गार्ड छन्, काम गरी बचाएको ३० हजार जति पैसा जेनतेन नेपाल पठाउँदैछन् । उनी खुसी छन् छैनन् थाहा छैन तर झापामा लाखौँ आम्दानी हुने उनको बारी चाहिँ बाझो नै छ । 

उनले जीविकोसँग आफ्नो कथा यसरी बेलिबिस्तार लगाए ।

“ काम नै सुरु नगरेपछि पैसा कमाइन्छ कमाइँदैन भन्ने थाह भएन तर यथार्थ चाहिँ खेती गर्दा गाउँमा कसैले पनि गन्दैनन्, । विदेशमा दुःख देखिँदैन नेपालमा श्रम गरे दुःखी देखिन्छ,” उनले भने । 

नेपालमा उनका बाले उनलाई पढाउन सक्ने जति आम्दानी गर्थे । केही साल विदेशिएर नै फर्किएका थिए उनका बुवा पनि ।

तर, उनले पढाई गर्न सकेनन् । व्यापार गर्ने सोच त थियो तर के गर्ने के बेच्ने टुंगो नै लगाउन सकेनन् ।

उनी सुनाउँछन्, “घुम्ने कुर्सीमा बसेर कम्प्युटर थिचे बा खुसी, मलाई नि कृषि गर्न मन नभएको । यस्तोमा विकल्प नै एउटै देखियो – विदेश”  

माथिको घटना कोट्याउँदै गर्दा झट्ट अर्को घटना सम्झिएँ । ललितपुर चाकुपाटमा म लगायतका केही साथीहरू एक भोजनालयमा खाना खान्छौँ ।

सस्तो, मिठो अनि घरायसी खाना दिने भएर होला त्यहाँ खाना खान इन्जिनियरिङ कलेजका विद्यार्थी, वरपर कार्यालयका कर्मचारीको घुँइचो नै लाग्छ ।

हुनतः भोजनालय चलाउँदाको दुःख हामीले व्यक्तिगत रूपमा भोगेका छैनौँ तर त्यहाँको व्यापार देखेर चाहिँ दंग हुन्छौँ ।

दिनमै २ सय ५० प्लेट खाना बेच्ने त्यो पसल बाहिर निस्केपछि हामी प्रायशः गफिन्छौँ, “थालमा २० रुपैयाँ नै बचे पनि बिहान बेलुका गरि २ लाख बढी आम्दानी हुने रहेछ”

एकदिन अलि फुर्सद देखेर भोजनालय चलाउने दिदीलाई पनि मैले सोधेँ, “आम्दानी चाहिँ कति छ नि ?”

उनले सुनाइन्, “थोरै नाफामा काम गर्छौँ धेरै बेच्छौँ दिनको ८ हजार काहीँ जाँदैन”

मन मनै गन्ती लगाएँ मासिक २ लाख ४० हजार ।

उनै दिदी अस्ति दुःखी हुँदै भन्दै थिइन्, “छोरो आइएलटिएस् गर्दै थियो, परीक्षा दिएको सबै राम्रो भएछ एउटामा चाहिँ ५.० आयो रे अष्ट्रेलियाको भिसा लाग्दैन भनेको रहेछ । नेपालमै भाँडा माझ्नेभो अर्को देशको भिसा नलागुन्जेल”

होटेल, रेस्टुराँ अनि कृषि नै विदेशमा गर्दा ठूलो काम नेपालमा सानो चाहिँ कसरी हुन्छ त हौ दिदी ? मैले दिदीलाई सोधेँ ।

“तपाईंले डिभी भर्नुभयो ? सोच्नुहोस्, तपाईंलाई पर्यो । अब भन्नुस् तपाईं जानुहुन्छ या जानुहुन्न ?” दिदीले मलाई नै प्रश्न गरिन् ।

म अवाक् भएँ । एकछिन अघिसम्म नेपालमा दिदीको कमाई गनिरहेको मैले जवाफ फर्काउन नै सकिन । नेपालमै कहिले शब्दमा रङ्ग भर्दै कहिले दृश्यमा आवाज भर्दै बसेको मेरो मन एकछिन विदेशमा पुग्यो साथीभाइ सम्झियो पैसा सम्झियो अनि फेरी यथार्थतामा फर्कियो ।

देश छोड्न सबैलाई हतार नै छ । सके युरोप अमेरिका नभए खाडी मलेसिया । यस्तो लाग्छ देश मरुभूमि भइसक्यो अनि देशभित्रै रोजगारी भनेको मरुभूमिमा पानी भेटेसरह ।

आर्थिक वर्ष २०७९-८० को एक वर्षमा वैदेशिक रोजगारीमा जानका लागि भनेर करिब ८ लाखले श्रम स्वीकृति लिएका छन् । रोजगारीका लागि विदेशिने सँगै वैदेशिक अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य छ ।

नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत एनओसी शाखाले दिएको तत्थ्याङ्क अनुसार २०७९ सालमा विदेशमा अध्ययन गर्न जान १ लाख १७ हजार जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

यस तथ्याङ्कमा माथिका मैले चिनेका दुई युवाहरू पनि पनि समावेश छन् ।

विदेशमा झैँ आम्दानी छैन स्वदेशमा, अवसर पनि थोरै छ जुन कुरामा सत प्रतिशत सत्यता छ । तर, विदेशिने युवाहरूको त्यो ठूलो जमात मध्ये सबै विदेशिनुपर्ने परिवेश बनिसकेको छ र ? कि हामीले अवसर देखेका छैनौँ वा हामीलाई काम ठूलो सानो लाग्छ ? कथित सानो काम गर्न मन नै नलाग्ने हो नेपाली युवालाई ?

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाकी छोरी सश ओबामा एउटा रेस्टुराँमा काम गर्ने गरेको मिडियामा आएको थियो । उनको पारिवारिक पृष्ठभूमिको बावजुद ह्वाइट हाउसमा समय बिताउन भन्दा आफ्नो मेहेनत निखार्न लागेकी थिइन् । नेपालमा पनि यो समाचारले चर्चा पाएको थियो । हजारौँले यो समाचारलाई सेयर गरे तर कतिले त्यसलाई आफ्नो जीवनमा अपनाए त्यो भने थाहा छैन ।

स्वदेशमा रोजगारीकै कुरा उठ्दा एउटा तत्थ्याङ्क प्रस्तुत गर्न मन लाग्यो ।

विश्व बैंकको बाइल्याटरल रेमिट्यान्स म्याट्रिक्सअनुसार सन् २०१७ मा नेपालमा काम गर्ने भारतियमार्फत ३०२ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भारत गयो । अर्थात् भारतबाट नेपालमा रोजगारीमा आउनेहरू मार्फत वार्षिक ३ खर्ब रुपैयाँ भन्दा बढी रकम भारत भित्रन्छ । यसरी काम गर्ने कामदारहरू अधिकांश अनौपचारिक क्षेत्र अर्थात् घर बनाउने, मोटर ग्यारेजमा काम गर्ने, खाली सिसि बोतल उठाउने, ठेला तथा साइकलमा व्यवसाय गर्ने मानिसहरू रहेका छन् ।

माथिको तत्थ्याङ्क हेर्दै गर्दा भारतबाट पनि त नेपालमा विप्रेषण भित्रन्छ नेपालको पश्चिम नेपालका प्रत्येक घरबाट रोजगारीका लागि भारत पुगेका छन् भन्ने कुरा उठ्न सक्छ । तर, सोही साल भारतबाट १०२ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स मात्र नेपाल भित्रिएको थियो अर्थात् नेपाल आउने रेमिट्यान्सको आकार भन्दा भारत भित्रने रेमिट्यान्सको आकार नै दोब्बर रहेको छ ।

अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूको आम्दानी चाहिँ कति होला ? यहाँ अर्को जिज्ञासा उठ्ला । 

गत जेठमा मेरै नजिकका आफन्तको घर बनाउने क्रममा केही भारतीय कामदारसँग मेरो कुराकानी भयो ।

श्रम, रोजगारीका विषयमा चासो हुनाले प्राय आम्दानी सोधिहाल्न मन लाग्छ ।

घर छाडेर यहाँसम्म आउनुभाछ कति कमाउनुहुन्छ ? मैले प्रश्न सोधेँ 

बिहारका राजिब यादवले मलाई सुनाए : “दुई सिफ्ट काम गर्छौँ; बिहान ७ देखि १  बजेसम्म काम गर्दा १५ सय कमाउँछु अनि २ देखि ८ सम्म गर्दा १ हजार,”

राजिबले दिनमा २५ सय कमाउँदा रहेछन् खर्च कटाएर ५५ हजार नेपाली भारत पठाउँछन् रे ।  

देशमा नै ७०-७५ हजार रुपैयाँ आम्दानी गर्न सकिने ठाउँमा किन नेपाली कामदार भेटिँदैनन् ? आफैँलाई जिज्ञासा लाग्यो । अनि मनमनै सोचेँ हाम्रोमा कामको सम्मान गर्ने चलन नै कहाँ विकास भएको छ र ? घुम्ने कुर्सी बाहेकको अरू काम गरे समाजले के भन्ला आफन्तले के भन्लान् भन्ने डर लागिहाल्छ । अनि सँगै ‘नेपालीले आफ्नो देशभित्र सानो काम त गर्ने नै होइन’ भन्ने भावनाले सताइहाल्छ ।

जिज्ञासा बढ्दै गएपछि मैले पनि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष रवि सिंहलाई भारतीय कामदारले कमाउने पैसा अनि नेपालमा काम गर्ने भारतीयको तलब बारे सोधेँ ।

अध्यक्ष रविले भने, “समस्त निर्माण क्षेत्रमा काम गर्ने कामदारमध्ये २५ देखि ३० प्रतिशत भारतीय कामदार छन् । जसमा सामान्य लेबर काम गर्नेले मासिक ४० हजार कमाउँछ भने दक्षता भएको मिस्त्रीले मासिक डेढलाखसम्म पैसा कमाएर जान्छ । भारतीय कामदार नभए त निर्माण क्षेत्र नै धराशायी बनिहाल्छ नि ”

नेपाली श्रमिक प्रोफेसनल नहुनु, अनुशासन नहुनुले पनि भारतीय कामदारलाई अवसर बढेको उनको बुझाई छ ।

उनी भन्छन्, “नियमित काम गरिदिने हो भने विदेश गएर निर्माण क्षेत्रमै काम गरेर कमाउने ३०-४० हजारको दोब्बर आम्दानी नेपालमा नै छ ।तर, विदेशमा कमाए ठूलो, नेपालमै श्रम गरे सानो होइन्छ भन्ने मानसिकता छ,” उनी थप्छन्, “ नेपालमा अवसर छ तर काम प्रतिको सम्मान र अनुशासन भने छैन”

शब्द बढ्दै जाला तर अझै एउटा तत्थ्याङ्क जोड्न मन लाग्यो, 

अर्घाखाँचीमा गत असारमा भएको एक पत्रकार सम्मेलनमा कृषि तथा पशुपङ्क्षी विकास मन्त्री वेदुराम भुसालले नेपालमा १० लाख ३० हजार हेक्टर क्षेत्रफल बाँझो  रहेको तत्थ्याङ्क प्रस्तुत गरे ।

कृषि पेसाकै लागि भनेर दक्षिण कोरिया अनि इजरायल जानका लागि नेपाली युवाहरू तँछाड मछाड गर्ने तर आफ्नै ठाउँमा भएको २ करोड रोपनी बढी जग्गा जमिन बाँझो हुँदा कसैलाई चासो छैन ।

भौगोलिक रुपमा इजरायलमा पानी प्रशस्त छैन खेतीका लागि उपयुक्त जमिन छैन तर पनि इजरायल कृषिका लागि अग्रणी देशको रुपमा चिनिन्छ । इजरायलमा खेती गर्न पर्याप्त जमिन नहुँदा घर तथा भवनको भित्तामा पनि खेती हुन्छ जसलाई भर्टिकल खेती भनिन्छ ।

तर, संसाधनले भरिपूर्ण नेपालमा प्रशस्त पानी अनि उर्बर भूमि हुँदा हुँदैपनि हामी व्यवसायिक खेती गर्न भने हिचकिचाउँछौँ, गर्दैनौँ ।

नेपालमा नै बसेर स्वरोजगार बन्न सकिन्छ, रोजगारीका अवसरहरू सृजना हुँदैन भन्ने मानसिकताको बीउ किन र कसरी उब्जियो ? विज्ञलाई प्रश्न राख्न मन लाग्यो ।

त्रिभुवन विश्वविद्यालय इन्डष्ट्रियल एण्ड अर्गनाइजेसनल साइकोलोजीकी पूर्व प्राध्यापक डा. रिता श्रेष्ठ भन्छिन्, “समाजले कामलाई वर्गीकृत गरिदिएको छ; शारीरिक मेहनतको काम, बलको काम गरे त्यो काम सानो हुन्छ । एसी भएको कोठामा कुर्सीमा बसेर काम गरे ठूलो । यसरी कामलाई वर्गीकृत गरिदिएका कारण श्रम बजारमा थपिने युवाहरूमा हीनताबोध छ र विदेशलाई नै उनीहरू उपाय देख्छन्” 

नेपालमा र विदेशमा एउटै प्रकृतिको काम गरेपनि हैसियत चाहिँ ठाउँ अनुसार वर्गीकृत गरिएको छ जसले मूलरूपमा काम प्रतिको सम्मानमा समस्या निम्त्याउँछ । अझ कार्यक्षेत्रमा गरिने भेदभाव, काम अनुसार निर्धारण हुने सम्मान जस्ता कुराहरूले मनोसामाजिक समस्या नै निम्त्याएको डा. रिताको तर्क छ ।

उनी भन्छिन्, “आफ्नो पेसालाई व्यवसायिक बनाउने, आफ्नो पेसाको सम्मान आफैँले गर्न सुरुवात गरेदेखि श्रम बजार अझ व्यवस्थित बनेर काम गर्ने वातावरण सुदृढ भएर जानेछ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *