यसकारण मुर्रा भैंसीलाई भनिन्छ – काला सोना

जीविको २०८० जेठ २२ गते १४:५७

‘भारतले नेपाललाई मुर्रा जातिका १५ वटा भैंसी र राँगा दिने’ विषयले केही दिन यता खुबै चर्चा पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा मुर्रा राँगा दिने कुरा भारतीय दूतावासले जनाएको थियो । नेपाल सरकारको आग्रह बमोजिम नै भारतले नेपाललाई मुर्रा दिन लागेको हो । मुर्रा भैंसीको विषयलाई लिएर सामाजिक सञ्जालमा ट्रोल र मिम भाइरल भए । सामाजिक सञ्जालमा जति छिटो यो विषय तातियो उति छिट्टै सेलाउला पनि तर हामीले भने मुर्रा जातिका भैंसी पाल्दा हुने फाइदाका बारेमा यो छोटो सामाग्री तयार गरेका छौं ।

मुर्रा भैंसी भनेकै दूध उत्पादनको लागि प्रख्यात भैंसीको एक प्रजाति हो। यो मूलतः भारतको पञ्जाबमा पाइन्छ तर अहिले यसलाई भारतकै अन्य प्रान्त र अन्य देशहरूमा पनि पालिन्छ। हरियाणामा यसलाई ‘काला सोना’ भनिन्छ। मुर्राले अरू भैंसीले भन्दा ३ गुणा बढी दूध त दिन्छ नै दूधमा फ्याटको मात्रा पनि धेरै हुने भएकाले नेपालको तराइ भेगमा पनि किसानले मुर्रा भैंसी पाल्ने गरेका छन् । भारतको हरियाणाका एक किसानले पालेको मुर्रा भैंसीले दैनिक २९ लिटर दूध दिने र यो भैंसीको मूल्य ९१ लाख रुपैयाँ तोकिएको समाचार मिडियामा पनि आएको थियो । 

मुर्रा भैंसी पालिरहेका किसानका कुरालाई आधार मान्दा मुर्रा भैंसीले औसतमा १२ देखि १५ लिटरसम्म दैनिक दूध दिन्छ भने दूधमा ७ प्रतिशतसम्म फ्याट पाइन्छ । नेपालका विभिन्न स्थानीय निकायले पनि किसानलाई अनुदानमा मुर्रा जातको भैंसी दिने गरेका छन् ।

विभिन्न भरपर्दो स्रोत र मुर्रा भैंसी पालिरहेका किसानसँग कुराकानी गरेर हामीले मुर्रा जातिका भैंसीबाट हुने १० फाइदाहरू यहाँ उल्लेख गरेका छौं:

१. उच्च दूध उत्पादन: मुर्रा भैंसी उच्च दूध उत्पादन क्षमताको लागि परिचित छ, जुन यस नस्लको प्राथमिक फाइदाहरू मध्ये एक हो। मुर्राले प्रति दिन औसत १२ देखि १६ लिटर दूध उत्पादन गर्न सक्छ ।

२. उच्च फ्याट: मुर्रा भैंसीको दूधमा उच्च फ्याट हुन्छ, सामान्यतया ६% देखि ८% सम्म फ्याट पाइने भएकाले यसलाई घिउ, बटर र क्रिम जस्ता डेरी पद्दार्थ उत्पादनको लागि उपयोग गरिन्छ ।

३. पौष्टिक गुण : मुर्रा भैंसीको दूधमा प्रोटिन, भिटामिन र खनिजहरू प्रशस्त हुन्छन्, उपभोक्ताहरूको लागि पोषणको बहुमूल्य स्रोत हो मुर्रा भैंसी।

४. अनुकूलन क्षमता: मुर्रा भैंसी विभिन्न मौसमी अवस्थाहरूमा राम्रोसँग पाल्न सकिन्छ । नेपालमा पनि तराईमा मात्र होइन मध्यपहाडी क्षेत्रमा समेत 

मुर्रा भैंसी पाल्न थालिएको छ र यसबाट किसानले उच्च मुनाफा कमाउँदै आएका छन् । 

५. रोग प्रतिरोधात्मक क्षमता: मुर्रा भैंसीमा रोग प्रतिरोधात्मक क्षमता उच्च रहेको छ । अन्य भैंसीमा जस्तो रोगहरूको जोखिम छ, स्वास्थ्य अवस्था बलियो भएको मुर्रामा त्यस्तो जोखिम हुँदैन ।

६. खनजोतका लागि: मुर्रा राँगा अन्य राँगा भन्दा बलियो हुने भएकाले ग्रामीण क्षेत्रमा खन्ने, जोत्ने जस्ता कृषि कार्यका लागि प्रयोग गर्न सकिन्छ। भारतका विभिन्न ग्रामीण भेगमा खनजोतसँगै मुर्रालाई ढुवानी कार्यमा पनि प्रयोग गर्ने गरिन्छ ।

७. प्रजनन क्षमता: मुर्रा भैंसीको उच्च प्रजनन क्षमता हुन्छ, यो विशेषताले गर्दा किसानहरूले निरन्तर दूध उत्पादन गर्न पाउँछन् ।

८. दीर्घायु: यी भैंसीहरूको तुलनात्मक रूपमा लामो आयु हुन्छ, जसले किसानहरूलाई उत्पादकता र आर्थिक लाभको दिगो अवधि प्रदान गर्दछ।

९. उच्च बजार माग: मुर्रा भैंसीले उच्च गुणस्तरको दूध दिने र फ्याट पनि उच्च हुने भएका कारण बजारमा यसको अत्यधिक माग रहेको छ । यसले गर्दा किसानहरूले पाडापाडी, राँगा अनि भैंसी बेचेर पनि राम्रो मुनाफा पाउन सक्छन् ।

१०. युवा उद्यमशीलतालाई प्रोत्साहन : मुर्रा भैंसी पालनले ग्रामीण क्षेत्रको सामाजिक-आर्थिक विकासमा योगदान पुग्न सक्छ। समाजमा सकारात्मक प्रभाव पार्न चाहने युवाहरूले यसैबाट उद्यमशीलताका अवसरहरू भेट्न सक्छन्, रोजगारीका अवसरहरू सृजना गर्न सक्छन् अनि ग्रामीण जीवनस्तरमा वृद्धि गर्न र दिगो कृषिलाई प्रवर्द्धन गर्न सक्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *