ट्यांकीबाटै लाखौँ कमाउछन् चितवनका युवा

जीविको २०७८ असोज २५ गते ९:१४

नौ वर्षको अष्ट्रेलिया बसाइ सकेपछि प्रकाश पन्थी आफ्नो कमाईलाई कृषि क्षेत्रमा लगानी गर्ने योजना बनाएर नेपाल फर्कन्छन् । नेपाल फर्केपछि प्रकाशले बाल्यकालको साथी कपिल राज रेग्मी सँगको भेटमा कृषि क्षेत्रमा लगानीको बारेमा छलफल हुदाँ हालसालै चल्तीमा आएका एभोकाडो र ड्रागन फूडका बारेमा चर्चा सुरु हुन्छ । जमिन र मेहनतमा धेरै लगानी लाग्ने भएकोले अन्य विकल्पमा आयो –माछा पालन । त्यसपछि सुरु भयो प्रविधिको खोजी ।

सफ्टवेयर डेभलपर काम गरिरहेका कपिल र प्रकाशले माछापालनमा नयाँ सम्भावना खोज्न थाल्छन् । नयाँ प्रविधि खोज्ने क्रममा यी दुई युवाले बायोफ्लक प्रविधि बारे जानकारी भेट्टाउँछन् ।

बायोफ्लक प्रविधि भनेको बुझिने भाषामा ट्याङ्कीमा माछा पाल्ने प्रविधि हो बायोफ्लक सस्तो पनि हुन्छ माछापालनलाई सजिलो पनि । अहिले यी दुई युवाले ट्याङ्कीबाटै वार्षिक मुनाफा मात्र १० लाख हुन्छ । “माछापालन गर्ने आँट जुटाएर राम्रो निर्णय गरेछु,” कपिल भन्छन् ।
नयाँ प्रविधिमा काम गर्नका लागि धेरै जोखिमहरू हुन्छन् । यसको लागि प्राविधिक सहयोग, लगानीको सुनिश्चितता चाहिने हुन्छ । तर यी दुई युवाले जोखिम मोलेरै अष्ट्रेलियामा कमाउने र सफ्टवेयर डेभलपमेन्टको काम गरेर भन्दा बढी बचत गर्छन् ।

“प्राविधिक ज्ञान लिएर बायोफ्लक माछापालन गर्न सके गाडी किन्न समय लाग्दैन,” जीविको सँगको कुरामा कपिलले भने ।

२०७५ सालको अन्त्य सम्म नेपालमा परम्परागत विधिबाट माछा पालन हुने गर्दथ्यो । केही समय अघिसम्म नेपाली माछापालक किसानले पोखरी बनाएर ठूलो मेहनत र लगानीमा माछापालन गर्ने गर्दथे । त्यस समयसम्म नेपालमा पोखरी र केही सीमित नदिहरुबाट मात्र माछा उत्पादन हुने गर्दथ्यो ।

भारतमा ट्याङ्कीमा नै सफल माछापालन भइरहेको देखेपछि कपिल र प्रकाशले माछा पालन सुरु गर्ने निर्णय गरेका हुन् । त्यसपछी सुरु भयो प्रविधिको खोजी । केही समय अध्यान अनुसन्धानपछि १७ वटा ट्याङ्कीमा बायोफल्कको प्रविधिमा माछापालनको सुरुवात गरे । अहिले आम्दानी देखेर मख्ख छन् ।

बायोफ्लक प्रविधिको माछापालनमा पोखरीको माछापालन भन्दा गुणात्मक फाइदा हुन्छ । “एउटा ट्याङ्कीबाट ३०० देखि ५०० केजीसम्म माछा उत्पादन गर्न सकिन्छ जबकी पोखरीमा १५० केजी भन्दा बढी उत्पादन गर्न सकिँदैन,” कपिलले भने ।

जमिनको सतहभन्दा माथि जमिनलाई हानी नपुर्याई ट्याङ्की मार्फत माछा पालन गर्न सकिने प्रविधिलाई बायोफल्क भनिन्छ । यस प्रविधिबाट माछा पालन गर्दा सानो ठाउँमा पनि बढी माछा पालन गर्न सकिन्छ ।

यस प्रविधिमा माछा पालन गर्दा पानीमा ब्याकटेरीया उत्पादन गरी माछालाई सुहाउदो वातावरण तयार गरिन्छ ।

माछाले फ्लक खाने र फ्लकले प्राङ्गारिक पदार्थ खाने हुँदा यसमा जलीय पर्यावरण चक्र सन्तुलन हुन्छ । यो प्रविधिबाट उत्पादन भएको माछा स्वस्थ हुन्छ ।

“बायोफ्लक प्रविधिबाट उत्पादन भएको माछा फोहर हुँदैन । यो प्रविधिमा पानी परिवर्तन गरिरहनु पनि पर्दैन यो प्रविधिबाट पालिएका माछालाई प्रोटिनयुक्त दाना खुवाइने हुनाले यसबाट उत्पादन हुने माछा स्वस्थकर र स्वादिलो हुन्छ । सामान्यतया पोखरीको तुलनामा कम मात्रामा दाना खुवाएर माछा उत्पादन गर्न सकिन्छ,” कपिल भन्छन् ।

माछाको भुरा राख्नु अगाडी सर्वप्रथम साधा पानीमा खुदो वा मलासीस राख्ने गरिन्छ त्यसपछि अक्सिजनको मात्रा मिलाईसकेपछी पानीमा एक प्रकारको जिवाणु तयार हुन्छ जसले माछालाई हानी गर्ने किसिमका पदार्थहरुलाई नष्ट गर्ने काम गर्दछ । त्यसपछि सम्भब हुन्छ सानो क्षेत्रफलमा प्रविधिक माछापालन ।

यो प्रविधिमा थोरै जग्गा भएकाले माछापालन गर्न सक्छन् । थोरै जग्गामा धेरै पाल्न मिल्ने र निकाल्न (हार्भेस्टिङ) सजिलो हुन्छ । जुन माछाको माग बढी छ, त्यसलाई लक्षित गरेर माछापालन गर्न सकिन्छ । माछा पाल्नकै लागि खाडल खन्न नपर्ने भएपछि जमीन पनि बिग्रँदैन । पानीको स्रोत कम भएको ठाउँमा यो प्रविधि निकै लाभदायी हुन्छ । पहाडी भेगका साना गरामा पनि यो प्रविधिमार्फत माछापालन गर्न सकिन्छ ।

पोखरीको हिसाबमा यो धेरै सस्तो हुन्छ । परम्परागतरूपमा माछापालन गर्दा एक कट्ठा जग्गामा १५० केजीदेखि ३०० केजी मात्र माछापालन गर्न सकिन्छ तर यो प्रविधिमा सोही बराबरको जग्गामा छ हजार केजीसम्म उत्पादन गर्न सकिन्छ । एक कट्ठा जग्गामा तीन डायमिटरका १६ वटा ट्याङ्क अट्छ । जसले एक सिजनमा छ हजारदेखि आठ हजार केजीसम्म माछा उत्पादन गर्न सकिन्छ । माछापालनमा प्रयोग हुने ट्याङक फरक फरक आकारको हुन्छ । सामान्यतया एउटा तीन मिटर व्यासको व्यवस्थित ट्यांक निर्माण गरेर ट्यांकमा माछाका भुराहरु राख्दा सम्म एक ट्यांकीको लगानी ६० देखी ७० हजार सम्म पर्ने गर्दछ । माछा उत्पादन भइसकेपछी पुंन त्यहि ट्याङ्की प्रयोग गर्न मिल्ने भएका कारण दोस्रो पटकको उत्पादनमा लागत कम लाग्छ ।

पछिल्लो समय बायोफ्लक प्रविधि जस्तै माटोको भाँडामा माछापालन प्लास्टीको ट्याङ्कीमा माछापालन जस्ता सम्भावनाको पनि अनुसन्धान गरिरहेको कपिल बताउछन् ।

वातावरणको हिसाबले नेपालको भित्रि मधेश र तराईमा यसको व्यापक सफलताको सम्भावना रहेको छ ।

कपिलका अनुसार तराई र भित्रि मधेशमा एक सालमा २ पटक सम्म उत्पादन गर्न सकिन्छ पहाडमा भने सालमा ४ महिना सम्म जाडो महिना रहने भएका कारण ट्यांक बाट दुईपटक माछा निकाल्न सकिदैन ।

बायोफ्लक प्रविधि बढि जाडो हुने भूभागमा भने त्यति सफल मानिदैन । तर गर्मी हुने तराई र फाँटहरुका माछा पालकका लागि भने बायोफ्लक बरदान साबित हुने सरोज बताउछन् । बायोफ्लकमा पोखरीमा नै पालिने किसिमका माछाहरु पालीदैन पोखरीमा पालीने माछाहरुलाई ठूलो क्षेत्रफल चाहिने भएका कारण ट्याङ्कीमा यस किसिमका माछा नबढ्ने समस्या देखिन्छ । बायोफ्लकमा सामन्यतया इन्डियन कंगास (बैठा) फिलापिया (भाले प्राजाती) कमन कार्क, जस्ता माछाका प्रजातीहरु पालन गरिन्छ ।

बायोफ्लक प्रविधिबाट गरिने माछा पालनमा पर्याप्त सम्भावना देखेपछि सरकाले पनि यस किसिमको माछा पालन गर्ने किसानलाई ५०% अनुदानको व्यवस्था गरेको छ ।

बायोफ्लक माछापालनमा ठूलो सम्भावना देखेपछि आफुजस्तै युवाहरुलाई माछापालनमा आकर्षीत गराउन उनीहरुले तालिम पनि दिने गरेका छन् । परामर्श लिन आउनेलाई पनि स्वागत गर्छन् ।

बायोफ्लक माछापालनको महत्व आउदो दिनहरुमा अझ बढेर जाने कपिलको बुझाई छ । समय सँगै मानिसले खेती गर्ने जमिन सीमित हुँदै गइरहेको छ अबको १० देखी १५ वर्ष पछाडी बायोफ्लक माछापालन थोरै जमिन हुने किसानहरुको आम्दानीको ठूलो स्रोत बन्न सक्छ ।

नेपालमा रोजगारीका सिमित अवसरहरु हुँदा कृषि सबैलाई अटाउन सक्ने क्षेत्र हो । सरकारी तथ्यांक अनुसार ६८ प्रतिशत जनसख्या कृषि पेशामा रहेको छ । “कृषिमा आउन चाहाने किसानहरुले प्राविधिक र वैज्ञानिक ज्ञान लिएर आउन जरुरी छ । प्राविधिक ज्ञान लिएर आउने सम्पूर्ण युवाहरुलाई कृषि जीवन निर्वाहको दरो आधार बन्न सक्छ,” उनको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *