प्रविधि मार्फत समृद्धि खोज्दै युवा (भिडियो)

जीविको २०७९ कार्तिक २९ गते २०:२०

“चल्तीका कुनै कम्पनीका थ्री डी प्रिन्ट मेसिन किन्ने हो भने यसको १ लाखसम्म पर्दछ, तर हामी आफैले करिव २० हजार खर्च गरेर  घरमै बनाउन सकिन्छ,” गोल्डेनगेट कलेजका दिवस खनाल लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा आफूले आविष्कार गरेको थ्री डी प्रिन्टरको बारेमा बताउँदै थिए ।

डेढ वर्ष अघि विश्व कोरोना महामारीको चपेटामा पर्‍यो । लकडाउनमा मानिसहरू घरभित्रै सिमित बने । दिवसले भने यो समयलाई सृजनात्मक काममा उपयोग गर्ने भन्ने अठोट लिए । प्रविधिसँग जोडिएको आफ्नो क्षमता अनि दक्षतालाई निखार्ने र प्रयोग गर्ने समयको रूपमा यो समयलाई उत्पादनमूलक बनाउने दृश्य अनुरुप दिवसले योजनाहरु बनाउन थाले । यसै समय दिवसले गरेको मेहनतको प्राप्ती हो ‘थ्री डी प्रिन्टर’ । त्यतिबेला उनी भर्खरै कक्षा ९ मा पढ्दै थिए । 

“मलाई सानै बेलादेखि केही नयाँ कुरा गरौँ जस्तो लाग्थ्यो, मलाई प्रविधिसँग जोडिएका विषयमा अत्यन्तै रुचि थियो । यूट्युबमा थ्री डी प्रिन्टर देखेँ अनि यो बनाउने प्रकृयाहरु सिक्दै आफूले पनि उक्त प्रिन्टर बनाउन प्रयास गरेँ, सबैबाट राम्रो प्रतिक्रिया पाउँदा उत्साहित भएको छु,” दिवस सुनाउँछन् । 

स्कुल कलेजको लागि प्रभावकारी हुने थ्री डी प्रिन्टरको प्रयोग गरेर पढाउँदा विद्यार्थीहरूलाई राम्ररी विषयबस्तु बुझ्न सघाउने हुँदा यो अत्यन्तै उपयोगी भएको दिवस बताउँछन् ।

3D प्रिन्टिङ कुनैपनि अक्षर वा वस्तुलाई प्रिन्टरको माध्यमबाट हुबहु उतार्ने एउटा प्रविधी हो । जसमा प्रिन्टर प्रयोगकर्ताले आफूले चाहेका र प्रिन्टरमा प्रिन्ट गर्न मिल्ने आकारका वस्तुहरू निकाल्न सक्छन् । 

जस्तो कि सामान्य प्रिन्टरमा कुनै अक्षर लेखेमा कागजमा उक्त शब्द प्रिन्ट भएर निस्कन्छ तर 3D मा प्रिन्ट गर्दा उक्त शब्द आकारमा बाहिर निस्कन्छ, यसरी भएको प्रिन्टलाई हामीले छुन वा प्रयोग गर्न पनि सक्छौ ।

शिक्षा क्षेत्रदेखि रोवटिक्स सम्ममा प्रयोग गर्न मिल्ने बस्तुहरू प्रिन्ट गर्न मिल्ने उक्त प्रिन्टरलाई नेपालमा नै स्टार्टअपको रूपमा सुरुवात गर्न भने चुनौती रहेको दिवस बताउँछन् ।

उनी भन्छन्, “ठूलो परिमाणमा यसलाई बनाएर बेच्ने व्यापार सुरूवात गर्ने लक्ष्य छ तर विडम्बना नेपालमा यसलाई चाहिने सामग्री पाउँदैन, पाएपनि अरू कुनै उद्योगको काममा प्रयोग भइसकेका पुराना सामाग्रीहरू प्रयोग गर्नुपर्ने हुन्छ । मसँग प्रतिभा छ म बनाउन सक्छु तर नेपालमा यस्ता सामाग्री बनाएर उद्यमी बन्ने काममा सहयोग गर्ने संयन्त्रको भने अभाव छ ”

हेर्नुहोस्, प्रविधिमार्फत समृद्धि खोज्दै युवाको पहिलो अङ्कमा प्लस टु पढ्दै गर्दा 3D प्रिन्टर बनाएका सूचना प्रविधिका राइजिङ स्टार  दिवस खनालको कथा:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *