जब सरकारले नै ठग्छ, आफ्नै देश परदेश जस्तो लाग्छ

प्रतिक ढकाल २०८२ असार १२ गते ९:४६

यो पहिलोपटक होइन उनी परदेशिएका। अघिल्लोपटक परदेशिएका बेला उनको आँखामा सपना थियो जीवन बनाउन, पैसा कमाउन र फर्केर आफ्नै देशमा केही गर्न। यसपटक विदेशिँदा भने उनको आँखामा सपना थिएन। आशा थिएन। थियो त केवल एक गह्रौँ बोझ—सरकारले पचाएको पसिनाको मूल्य, पालिकाले नतिरेको मेहनतको पारिश्रमिक, अनि दलालले खाएको लाखौं रुपैयाँ।

यसपटक उनी विदेशिएका थिए नराम्रोसँग हारेपछि। “देशले नै धोका दिएपछि मानिसले कहाँ जाओस् त?” उनी भन्छन्। अहिले दुबईको एउटा सानो कोठामा बसेर सम्झदा उनको कथाको भार विशाल लाग्छ। टाउकोमा १६ लाख बढी ऋण छ, परिवार घरदेशमा छ, ज्यान परदेश। १६ घण्टा काम गरेर घर फर्किएपछि खुट्टा तन्काउने ठाउँ छैन, मन तन्काउने ठाउँ झन् कहाँ भेटियोस्?

दैलेखका निरक बस्नेत पहिलोपटक हातमुख जोर्न भनेर कुवेत हानिए। १९ वर्षको उमेरमा विदेशिँदा परिवार छाड्नुपर्ने असह्य पीडा बोकेर गएका थिए। “पीडा थियो तर कमाउँछु, गर्छु भन्ने जोश पनि थियो,” उनी भन्छन्। “दुई वर्ष कुवेतमा बसेँ, धेरै राम्रो कमाइ त थिएन तर परिवार चलेकै थियो। म दुई वर्षपछि मलेशिया जाने भनेर नेपाल फर्किएँ।”

मलेशिया, कुवेत, कतार हुँदै उनले परदेशमा एक दशक बिताए। त्यसपछि २०७५ सालमा उनी फर्किए। मलेशियामा कमाएको पैसाले उनले गाडी किने। सुर्खेत-दैलेख कुदाउने सोचले नेपाल आएपछि यातायात व्यवसायीको रूपमा उनको पहिलो अध्याय सुरु भयो। सुरुमा आम्दानी राम्रो भयो। तर बिस्तारै प्रहरी, सवारी कार्यालय, र यातायातका कर्मचारीको कमिसनले सास फेर्नै गाह्रो बनायो। धेरैले भन्थे, “तपाईं लामो समय टिक्नुहुन्न।”

भयो पनि त्यस्तै। १० ठाउँमा ट्राफिकलाई घुस, यातायात समितिका नाममा हुने सिन्डिकेटले व्यवसाय चलेको दिन गाडीको स्टेरिङ छोडिदिए।

मलेशियाबाट फर्किएपछि निरकले किनेको गाडी

त्यसपछि नेपालमा सकिएन भन्ने लाग्यो। अब नयाँ गन्तव्य खोज्नुपर्छ भनेर यूरोप हान्ने सुर कसे। दलाललाई ३ लाख पनि बुझाए, तर दलाल सम्पर्कविहीन भयो। उनी भन्छन्, “ठूलो सपना थियो, यूरोप छिर्न सकिएन। फेरि नेपालमै केही गर्नुपर्छ भन्ने लाग्यो। अनि आफूले बुझेको सीप हो भन्ने ठानेर वर्कशप खोलेँ।” बाइक, ट्रिपर, बोलेरो, एम्बुलेन्स मर्मत गर्थे। कमाइ सन्तोषजनक थियो, ग्राहक पनि राम्रा थिए। तर पालिकाले काम गराएर पैसा दिएन। दुईटा पालिकाले मेयर र उपमेयरको सिफारिसमा गाडी मर्मत गराए। बिल काटे, कागजात दिइयो, तर दुई वर्षसम्म २ लाख रुपैयाँ अड्काएर राखे। उनले सम्झाइ–बुझाइ गरे, दर्जनौँपटक गाउँपालिका पुगे, तर जवाफ एउटै—“अहिलेलाई बजेट छैन, पर्खिनुस्।”

जब देशमै हारिएपछि फेरि विदेश जाने सोच गरे। एउटै आशा बाँकी थियो—‘यो पटक त ठीक होला।’ दलालले भन्यो, “पक्का यूरोप पुर्याइदिन्छु। सफा काम छ, राम्रो तलब छ।” उनले घरको ऋण गरेर ७ लाख बुझाए। भिसा र टिकट आउँछ, मेडिकल हुन्छ। सबै कागज लिएर उनी त्रिभुवन विमानस्थल पुगे। उनलाई यूरोप लैजाने भनेर नेपालबाट उडाइयो । दुबई पुर्याइयो त्यसपछि दलाल भाग्यो । सम्पर्क गर्न खोज्दा सम्पर्क नै भएन । यूरोप जाउँ दलाल छैन, घर फर्किऊँ मन छैन । 

“दुबईमा पुगेको दुई घण्टा नबित्दै म एक्लो थिएँ,” उनले सुनाए। सुरुका दिनहरूमा अल क्वसिसका सडकहरूमा भौँतारिनुपर्‍यो। कहिले निर्माण कम्पनीको फेन्स पछाडि रात बित्यो, कहिले नेपाली साथीले दिएको कार्पेटमा रात कट्यो। तर उनले हार मानेनन्। दर्जनभन्दा बढी कामको अनुभव बटुले—भाँडा माझ्नेदेखि ढोका खोल्ने र अफिस सफा गर्ने कामसम्म। “मैले हरेक अवसरलाई समात्ने कोसिस गरेँ,” उनले भने। कुनै रेस्टुरेन्टमा तीन दिन काम गर्दा तलब आएन, कुनै कम्पनी बन्द भयो, त कतै लामो समय काम गरेर पनि थोरै दिराम मात्र हात लाग्यो। “प्रत्येक कामले मलाई केही सिकायो,” उनले थपे।

वर्कसपमा आफैँ बाइक मर्मत गर्दै निरक

आज, फ्रिल्यान्स भिजामा दुबईको एउटा अफिसमा अफिसबोइको रूपमा काम गर्दैछन्। मासिक ३०–४० हजार कमाउँदै। उनको यो कमाइले घरदेशको ऋण चुकाउन सकिँदैन, परिवार धान्नै पनि हम्मे-हम्मे हुन्छ। घर आउने त आँटै छैन, बरु यूरोप छिर्ने सोच बुनिरहेका छन्। “मलाई आफ्नै देश फर्कन डर लाग्छ। बरु पुग्दै नपुगेको यूरोप जान जोखिम कम लाग्छ। म देश फर्कन सक्दिन,” उनी सुनाउँछन्। “देश फर्कने कुरा गर्छन्, तर डर लाग्छ। म त्यहाँ विफल नागरिक हुँ, यहाँ सफल कामदार।”

नेपालमा अहिले हरेक दिन २ हजारभन्दा बढी युवाले श्रम स्वीकृति लिइरहेका छन्। २०८१/८२ मा मात्रै ६ लाख ८५ हजारभन्दा बढी श्रम स्वीकृति जारी भएको छ। यीमध्ये कति विदेशिन बाध्य भएका छन्  छन्? कति आफ्नै देशमा हारेका छन्? कतिलाई देशले नै खेदेको छ ?  जब देशमै डर लाग्न थाल्छ, विदेशको जोखिम ‘अवसर’ बन्न पुग्छ। के अब पनि हामी भन्छौं—‘युवा फर्किएर देशमै केही गरुन्’? कि त्यो एउटा विडम्बनापूर्ण मजाक मात्रै हो?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *