घाँस काट्ने ती हातले अहिले लाखौँका थाङ्का कोर्छन्
रामेछापको गाउँमा जब उनका काकाहरु थाङ्का कोर्थे, सानी तारा ढोकाबाट हेरिरहन्थिन्। काकाको हातमा रङ र ब्रस नाच्थे, अनि क्यानभासमा बिस्तारै थाङ्का चित्र उत्रन्थ्यो। उनले चुपचाप त्यो दृश्य हेरिरहन्थिन्, कागजका पातलै रेखामा बन्ने बोधिसत्वका आँखाहरु, सुनका रङले भरिँदै जाने मण्डलको वृत्त, अनि रङ र श्रद्धा मिसिएको वातावरण।
तर आँखै अगाडि काकाले थाङ्का कोरेको त्यो दृश्य उनको लागि टाढाको जस्तो लाग्थ्यो। गाउँमा त्यस्तो काम पुरुषले गर्थे, महिलाले होइन भन्ने सामान्य बुझाइ थियो। उनलाई थाङ्का कोर्ने रहर थियो तर सामाजिक मूल्यले छेकेर उनले कहिल्यै त्यो कुरा कसैसँग गरेनिन्। उनले आफ्ना कुरा राख्न त सकिनन् तर क्यान्भासको त्यो रङको गन्ध र चित्रको सौन्दर्य भने उनको मनभित्र कतै रहिरह्यो।
गाउँमा उनको दैनिकी सामान्य थियो, बिहानै उठेर भकारो थल्ने, दाउरा खोज्न जाने, घाँस बोकेर फर्किने। साँझ खेतमा काम सकेर आँगनमा बस्दा कहिलेकाहीँ उनलाई आफ्ना काकाको चित्र सम्झिन्थ्यो। त्यसबेला लाग्थ्यो “कसरी बनाउँछन् होलान्, त्यो अनुहार?” उनले कहिल्यै ब्रस समाइनन्, तर मनले कहिल्यै त्यो कुरा छोडेन।
१८ वर्षअघि, उनले अन्ततः त्यो मनको कुरा सुनेर यात्रा सुरु गरिन्। गाउँबाट काठमाडौं आउने निर्णय सजिलो थिएन। घरका धेरै कुरा, काम, जिम्मेवारी छाडेर उनी एक्लै ओर्लिइन्। घाँस काट्ने हातहरु अब क्यानभास कोर्न अगाडि बढे। उनी भन्छिन्, “मलाई खुबै रहर थियो थाङ्का कोर्ने तर ब्रससम्म समाएको थिइन् सिधै काम पाउने अवस्था पनि थिएन।”
काठमाडौं आइपुग्दा सहर उनको लागि नयाँ थियो— भीड, धुलो, घरका झ्यालहरूमा टाँसिएका रङका पोस्टरहरू, र हरएक गल्लीमा व्यस्त मान्छे। सुरुमा उनी ज्यालामजदुरी गरेर दुई वर्ष कटाइन्। तर घुम्दै जाँदा भक्तपुरमा एउटा थाङ्का कार्यशालामा काम गर्ने मौका मिल्यो।
उनी सम्झन्छिन्, “सामान्य पैसा पाउने सर्तमा काम थालेँ, तर केही पनि सजिलो थिएन, एकदमै गारो भयो।” काममा गएको पहिलो दिनलाई सम्झँदै भन्छिन्, “पहिलो पटक ब्रस समाउँदा हात कामेका थिए, रङ लतपतियो भने के गर्ने भन्ने डर पनि थियो।” सुरुमा अरूले कोरेका चित्रमा रङ भर्ने जिम्मेवारी दिइयो। काम सानो थियो, तर उनको लागि ठूलो थालनी थियो।
सुरुवाती वर्षहरू सिकाइका वर्ष थिए। टिप्पणी सुन्नु, गल्ती सुधार्नु, र हरेक चित्रमा नयाँ कुरा खोज्नु यही उनको दिनचर्या बन्यो। उनले बिस्तारै आकृति कोर्न सिकिन्, अनुहारमा भाव उतार्न सिकिन्, अनि थाङ्काको अर्थ बुझ्न थालिन्।
आज, थाङ्काको ब्रस समाएको १८ वर्षपछि, तारा तामाङ थिङका हातले कोरेका थाङ्का अमेरिका, अष्ट्रेलिया र जापानका भित्तामा छन्। भक्तपुरको आफ्नै कार्यशालामा उनी अहिले २१ जनालाई सिकाउँछिन्, जसमा धेरै युवा र केही गृहिणी पनि छन्। उनी स्वयं ४०–५० हजारसम्म आम्दानी गर्छिन्, विद्यार्थीहरू २०–२५ हजारसम्म कमाउँछन्।
उनी भन्छिन्, “पहिला म आफैं डराउँथेँ—हातले हुन्छ कि हुँदैन। तर अब ती हातले आफू सँगै अरुलाई पनि जीविको धान्ने बनाएको छ।” उनी बिहानै कार्यशालामा पुग्छिन्। क्यानभासहरू टेबलमा फैलाइएका हुन्छन्, रङको गन्धले पुरै कोठा भरिएको हुन्छ। विद्यार्थीहरू ब्रस समाएर ध्यानपूर्वक चित्र बनाइरहेका हुन्छन्। कहिले–काहीँ उनी छेउमा गएर रेखा ठीक गर्छिन्, कहिले रङको मात्रा देखाउँछिन्।
थाङ्का कोर्नु उनको लागि अब केवल सीप होइन, जीवनको भाषा भइसकेको छ। उनी भन्छिन्, “मलाई लाग्छ नेपालीका हात बहुमूल्य छन्। जसले घाँस काट्थे, दाउरा बोथ्थे, तिनै हातले अहिले लाखौँको कला सिर्जना गर्न सक्छन्।”
“मेरो अगिल्लो पुस्तालाई पनि मैले सिकाउँछु, त्यो सीप, त्यो अनुशासन र श्रद्धा, यही नै हाम्रो सम्पत्ति हो।” उनी अझ थप्छिन्, “पहिला कल्पना पनि गर्न सक्दिनथेँ कि मेरो कला विश्वसम्म पुग्नेछ। तर अहिले विश्वभरका भित्ताहरुमा मेरो थाङका टाँगिएको देख्दा, सुन्दा खुशी लाग्छ।”
रामेछापको त्यो ढोकाबाट थाङ्का हेरिरहेकी सानी केटी, अहिले अरूलाई पनि थाङ्का कोर्न सिकाइरहेकी छिन्। उनी भन्छिन्, “हामीले गर्ने काम सानो छैन। अवसर चाहिँ खोज्न सक्नुपर्छ। मलाई थाङ्काले त्यो अवसर दिएको छ।”
