
बोरा र धोक्रा बोकेर फर्कियो अमेरिकी सपना
आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही नेपाली अमेरिका बाट फर्किए। बोरा, धोक्रा र प्लास्टिकको झोलामा सामान गुन्ट्याएर ल्याएका ती युवाहरू सायद एक समय ठुलो अमेरिकी सपना बोकेर अमेरिका पुगेका थिए। तर, उनीहरू डिपोर्टेसनमा परेर स्वदेश फर्किन बाध्य भएका हुन्।
अमेरिकी आप्रवासन निकायले ३७ जना नेपाली नागरिकलाई डिपोर्ट गरी चार्टर्ड विमानमार्फत नेपाल पठाएको हो। उनीहरूलाई ‘अवैध बसोबास’ तथा आप्रवासन कानुन उल्लंघन गरेको आरोपमा फिर्ता गरिएको हो।
डिपोर्ट गरिएका नेपालीहरू आइतबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। तीमध्ये ३२ जना पुरुष र ५ जना महिला रहेको जनाइएको छ।
❓ किन डिपोर्ट गरिए?
अमेरिका प्रशाषनको भनाइअनुसार, ती नेपालीहरू वैधानिक कागजात बिना अमेरिका प्रवेश गरेका, भिसाको सर्त उल्लंघन गरेका, वा शरणार्थीका रूपमा स्वीकृति नपाएर बसेका थिए। अमेरिकी कानुनअनुसार उनीहरूलाई स्वदेश फिर्ता गरिएको हो।
🛃 नेपाल आइपुगेपछि प्रक्रिया
नेपाल आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको सम्पर्कमा राखेर छाडिएको छ ।
उनीहरूको स्वास्थ्य परीक्षण, पहिचान प्रमाणिकरण, र मानव तस्करीसँग सम्बन्धित जोखिम मूल्यांकन समेत गरिएको छ।
यदि कुनै गम्भीर मानव बेचबिखन र तस्करीको केस देखिएमा छुट्टै अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ। यसको लागि उनिहरुले प्रहरीमा अनुसन्धानको लागि निवेदन दिनु पर्ने हुन्छ ।
📊 तथ्यांक र प्रवृत्ति
अमेरिकाबाट नेपालीहरू यसअघि पनि नियमित रूपमा डिपोर्ट हुने गरेका थिए
२०२१ – ३५ जना
२०२२ – २४ जना
२०२३ – २५ जना
२०२४ – ५३ जना
२०२५ मे महिनासम्म – ३७० भन्दा बढी
दोस्रो कार्यकालमा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा कडाइ गरिरहेको छ, जसको प्रत्यक्ष असर नेपाली आप्रवासीहरूमा पनि देखिएको हो।
⚠️ अमेरिका पुग्ने रहर, डिपोर्ट हुने जोखिम
बिना कानुनी प्रक्रिया अमेरिका पुग्ने, वा त्यहाँ नियम उल्लंघन गर्दै बस्ने नेपालीहरूको संख्या उल्लेख्य छ।
नेपालका विभिन्न भागबाट ३० देखि ४० लाख रुपैयाँसम्म खर्च गरेर, ३ देखि ६ महिनासम्मको जोखिमपूर्ण यात्रा पार गरेर अमेरिका पुग्ने चलन नयाँ होइन।
तर, भिसा वा प्रवेशाज्ञा विना अमेरिका छिर्न खोज्ने नेपालीहरूलाई आगामी दिनहरूमा झनै कडा निगरानी, कारवाही र डिपोर्टेसनको सास्ती भोग्नुपर्ने देखिन्छ।
