
त्यो भाँडा माझ्ने केटो कसरी बन्यो सेफ आर के लामा ?

२५ वर्षअघि आर. के. लामाले कल्पनासमेत गरेका थिएनन् एकदिन उनी विश्वका विभिन्न देशहरूमा पुग्नेछन्, हजारौं युवालाई सेफ बन्न सिकाउनेछन्, र होटल तथा हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनेछन् ।
“बुद्धिको छोरोले बुद्धि बिगार्यो, सहरका होटलमा जुठा भाँडा माज्छ” एक वर्ष होइन, दुई वर्ष होइन वर्षौं वर्ष त्यो ठिटोले गाउँलेको अपमानले भरिएको वचन सुनिरहनुपर्यो। त्यससमय मन भक्कानिन्थ्यो, अन्योल लाग्थ्यो भविष्य । उनको बाल्यकाल अभावमै बित्यो । परिवारले उनलाई एस.एल.सी सम्म पढाउने पनि अवस्था थिएन । सानैबाट हठी स्वभावका आर.केलाई त्यससमय नै लाग्थ्यो सहर जान्छु, कमाउँछु जिन्दगी फेर्छु ।
सुरुवातका केही दिन काम खोज्नैमा वित्यो, नयाँ सहर, नयाँ मान्छे, नयाँ परिवेश कता कता उनलाई त्यहि सहरको रङ्गिन वातावरणले लोभ्याउँथ्यो कोही बेला फेरि गाउँ नै फर्किउँ झै लाग्थ्यो । त्यहिसमय उनले एउटा सानो होटलमा भाँडा माझ्ने काम पाए । तलब थियो महिनाको एक हजार रुपैयाँ। त्यहि पैसाले जेनतेन गर्जो टर्थ्यो ।
जुठा भाँडा माज्ने काम गर्दागर्दै उनले वेटरको भूमिका सम्हाले। थोरै समयमै उनलाई किचनमा पठाइयो। किचन हेल्परको रूपमा काम सुरु गरेपछि पनि आलोचना गर्नेहरू रोकिएनन् तर आर.के. लामाले ती शब्दहरूलाई अपमान होइन, प्रेरणाको स्रोत बनाए।
उनी मौन रहे, तर भित्रभित्रै अझ दृढ बन्दै गए। उनी भन्छन्, “मेरो यात्रा त्यति सहज थिएन, तर जब म किचनमा छिरेँ, मेरो जिन्दगीले रङ ल्याउन थाल्यो।” त्यसपछि सुरु भयो उनको नयाँ यात्रा ।
त्यो भाँडा माझ्ने केटो कसरी बन्यो सेफ आर के लामा ? पूरा कथा VIDEO
भाँडा माझ्ने हात अब खाना बनाउने कलामा निपूर्ण हुँदै गयो। किचन हेल्परबाट कुक बने, अनि कुकबाट सेफ। उनको मेहनत, लगन र धैर्यले उनलाई नेपालमै सीमित नराखी, विदेशसम्म डो-यायो। उनी थाइल्याण्डको प्रसिद्द होटलमा सेफको काम गर्नसम्म पुगे ।
“गरिखाने हो भने पढाइ र सीप दुवै चाहिन्छ। सीप छ भने संसारको कुनै पनि झुपडीदेखि राजदरबारसम्म आफ्नो मूल्य साबित गर्न सकिन्छ,” उनको आवाजमा दरो आत्मविश्वास छ, “मैले कहिल्यै सेचेकै थिइन डाडु पन्यू चलाएरै घर घडेरी जोड्ने, गाडी चढ्न सकिन्छ भनेर।”
आज उनले हजारौं युवालाई सेफ बन्न प्रशिक्षण दिइसकेका छन्। नेपाली स्वादलाई विश्वका विभिन्न देशमा पुर्याएका छन्। जसलाई भाँडा माझिरहेको भनेर हेला गरिन्थ्यो, उनी अहिले कामको कुनै हैसियत सानो हुँदैन भन्ने प्रमाणसहित प्रेरणाको पात्र बनेका छन् ।
उनी आर के हस्पिटालिटी नामक एक प्रतिष्ठित इन्टिच्यूटका संस्थापक हुन्, जहाँ हजारौं युवाले हस्पिटालिटी र कुकिङ सीप सिकेका छन्। उनी आफ्नो संस्थानबाट नयाँ पुस्तालाई पनि सीप र अवसरको बाटो देखाउँदै छन्।
“नेपालमै पनि राम्रो सीप भए भने एक लाख रुपैयाँसम्म कमाइ सजिलै सम्भव छ,” आर.के. लामा दृढतापूर्वक भन्छन्, “र यदि त्यो सीप लिएर विदेश पुग्नुभयो भने ४ देखि ५ लाख रुपैयाँसम्म मासिक आम्दानी हुन्छ।” मैले आफैंले अनुभूत गरेको कुरा हो यो।
“तर दुखको कुरा के छ भने, आज पनि हामीकहाँ भान्साको कामलाई छोरीहरूले गर्ने काम भनेर हेर्ने गरिन्छ,” उनी भन्छन्, “तर म भन्छु म त्यही भान्साबाट खाएर, बाँचेर, सम्मान कमाएर बाँचेको मान्छे हुँ।” उनको नजरमा, सीपले न केवल आर्थिक स्वावलम्बन दिन्छ, त्यो त सामाजिक संरचना तोड्ने हतियार पनि हो। “हामीले काम सानो ठान्यौँ, जात र लिङ्गले काम छान्यौँ, त्यसैले सीपलाई हेप्यौँ। म यही सोचसँग लड्दै आएको छु।
अबका पुस्ताले सोच बदल्नुपर्छ सीप सधैं सम्मानयोग्य हुन्छ,” उनी भन्छन्। “अहिले त समाजले उल्टै भन्छ वाह, छोरो त बुद्धिको जस्तो रहेछ,” आर.के. लामा मुस्कुराउँदै भन्छन्, “पहिले जुन हातले भाँडा माझेको देखेर हेला गर्थे, आज त्यही हातले बनेको खाना खाएर सम्मान गर्छन्।”
अभिभावकहरूको भूमिका पनि महत्त्वपूर्ण छ। उनी भन्छन्, “देशलाई मात्र दोष दिएर हुँदैन, गरे यहाँ पनि अवसर टन्नै छ मागेका जागिरमा सीपको योग्यता नहुँदा जनशक्ति भेटिएको छैन । परिवर्तन गर्नु छ भने अभिवावकले पनि पढाईसँगै सीप सिकाउन आफ्ना छोरा छोरीलाई प्रेरित गर्नुपर्छ ।” मेरो छोरो अहिले पढ्दै छ, र मैले सँधै उसलाई भन्छु, ‘अध्ययन मात्रै नगरी, जीवनका हरेक पक्षमा सीप पनि सिक्नुपर्छ। जीवनमा सफलता पाइने हो भने केवल पढाइ मात्र पर्याप्त हुँदैन, हरेक पाटोमा दक्षता र मेहनत अनिवार्य छ।
आर.के. लामा को कथा केवल संघर्ष र परिश्रमको कथा मात्र होइन, एक प्रेरणा हो। आज उनले नेपाली युवाहरूलाई मात्र होइन विदेशीहरूलाई पनि कुकिङ र हस्पिटालिटी सिकाउँदै छन्। “जीवनमा जब तिमीले सीप र श्रमलाई आफ्नो आधार बनाउँछौ, सम्झनु तिम्रो सफलतालाई कसैले रोक्न सक्दैन।”
त्यो भाँडा माझ्ने केटो कसरी बन्यो सेफ आर के लामा ? पूरा कथा
