कृषि गरेँ अनि जोगी भएँ
करोड डुब्यो। सपना पनि त्यसैसँगै डुब्यो । सिन्धुपाल्चोकका किसान मदन न्यौपाने भन्छन् — “अब त कसैले सुको पत्याउँदैन।” त्यो वाक्य बोल्दा उनी हाँस्छन्, तर त्यो हाँसोमा कुनै अर्थ छैन न हौसला छ मात्र फिक्का र पीडा मिसिएको हाँसो । मुस्कान सुकिसकेको छ, आशा जलेको छ।
३ वर्ष मलेशिया बसेर केही पैसा आम्दानी गरेपछि नेपाल फर्किएर माटोमै रमाउने सुर कसेका उनले ३ जना साथीहरुसँग मिलेर एकीकृत कृषि गर्ने सुर कसे । फलफुल, गाई-भैँसी, बाख्रा देखि कुखुरासम्म फार्ममा अटाउने योजना बन्यो । सुरुवातमा १५० बाख्रा पालेका उनीहरुले लिजमा लिएको जमिनमा फलफुल पनि रोपे ।
फार्मको नाम रह्यो MRT । यसरी जबरदस्त उत्साहले खोलेको फार्मको अहिले नाम मात्र बाँकी छ । फार्ममा केही बाख्रा-कुखुरा छन् केही फलफुलका रुख छन् अरु केही छैन । कहिले यहाँ डेढ सय बाख्रा थिए, गाईभैंसी, फिड, मजदुर, नयाँ योजना, हरेक बिहानको उत्साह।
फार्मको उद्वघाटनको दिनलाई मदन सम्झछन् । फार्म उद्घाटन भएको दिन गाउँभर हल्ला थियो —
“मदनले ठुलो काम गरेछ!” फोटो खिचियो, आशा बुट्यो, सरकारी अफिसका हेर्न पनि आए । त्यसबेला म आफैँ बडो गर्भका साथ भन्थेँ, “देशमै बसेर केही गर्न सकिन्छ।” उनीहरुको योजना ठूलो थियो तर समयले अरू योजना बनाइसकेको थियो।
पहिलो बाख्रालाई रोग लाग्यो। उपचार गरियो, फिड र पानीको हेरचाह बढाइयो, औषधि किनियो। तर एकपछि अर्को मरिरहे। पशु चिकित्सकले रोगको नाम दिए, तर उपाय दिन सकेनन्। गोठभित्र डेढ सय बाख्रामध्ये १२ वटा मात्र बाँकी भए ।
“सबै गए…,” उनी भन्छन्, “बाख्रा पनि, आत्मविश्वास पनि।” त्यो शब्द सुन्दा लाग्छ, मानौँ जीवनको हरेक हिसाब एकैचोटि माइनसमा पुगेको हो। त्यो घाटा केवल पैसाको होइन, आत्माविश्वासको पनि थियो।
त्यसपछि सुरु भयो रिनको यात्रा। पहिले बैंक गए, कागज लिएर। बैंकले भन्यो, “फार्म सकियो भने अब ग्यारेन्टी के छ?”
गाउँमा हल्ला चल्यो — “मदनले फार्म चलाउने सकेन रे।” उद्वघाटनमा बढो साथ र सहयोग दिने आश्वासन पाएका मदनलाई अब कसैले ऋण त परै जाओस्, हजार रुपैयाँ कसैले पत्याउँदैन ।
“अब त कोही पत्याउँदैन,” उनी फेरि भन्छन्, “कसैले सुको दिँदैन।” त्यो ‘सुको’ शब्दमा एक किसानको विडम्बना लुकेको छ ।
मदनका लागि अब हरेक दिन नाफा–घाटाको होइन, अस्तित्वको लडाइँ हो। फार्मको नाम बोर्ड अझै छ, MRT FARM लेखिएको छ, तर माटोमा झुकेको। गोठभित्र सुक्खा पराल, बाख्राको गन्ध हराइसकेको। केही पुराना फिडका बोराहरू कुहिँदै छन्, अनि कुनामा एउटा पुरानो फोटो — उद्घाटनको दिनको। फोटोमा हाँसिरहेका छन् उनी, अहिले त्यो हाँसो हावामा उडिसकेको छ।
“धैर्य गर भन्छन् सबै,” उनी भन्छन्, “तर के थाहा, धैर्य गर्न पनि पैसा चाहिन्छ।”
त्यो वाक्यमा, थकित यथार्थ छ। कसरी धैर्य गर्ने जब ब्याजमा ब्याज थपिँदै जान्छ, जब बिहान उठ्दा मनमा हिसाबको डर आउँछ? कहिलेकाहीँ उनी नोटबुक पल्टाउँछन् — फिड, औषधि, मजदुरी, कर्जा — सबको रेकर्ड। हिसाब हेर्दा लाग्छ, जीवन पनि एउटा घाटा किताब बनेको छ।
त्यही बेला, कहिले काँही उनी आफैंसँग कुरा गर्छन् — “के गल्ती मैले गरेँ र? मेहनत त गरेँ नि।” तर त्यस प्रश्नको जवाफ हावाले गोठभित्र हल्लाइरहेको परालले मात्र दिन्छ । उनी गहिरो सास लिँदै सुनाउँछन्, “कृषि गरेरै जोगि भएँ,”
धैर्यताको बाँध टुटिसकेपछि अब मदनले विदेशिने सुर कसेका छन् । “यहाँ अब केही सम्भव छैन,” उनी भन्छन्, “विदेश गएर केही काम गरेँ भने यो ऋण तिर्छु।” तर त्यो ‘तिरौँ’ पनि प्रश्नचिन्ह बनेर झुण्डिएको छ — किनकि विदेश जान पनि पैसा चाहिन्छ । उनलाई कसैले पैसा दिन चाहान्न ।
उनी आफ्नो गोठ तिर हेर्छन् —“माटोमा लगानी गरेँ, माटोमै गाडियो। अब माटोसँग कुरा गर्न पनि डर लाग्छ।”
गाईभैंसी बेचिसकिएको छ, बाख्राको खोरमा केही बाख्रा बाँकी छन् । उनी बिहान उठ्छन्, खेतको छेउमा पुग्छन्, घाम ताप्छन्, अनि सोच्दछन्—‘के देशमा कृषक हुन अपराध हो?’
“एकपटक लाग्यो, देशमै बसेर केही गर्छु, अब लाग्छ देशले मलाई फिर्ता गर्न खोज्दैछ।” उनी हाँस्छन् रात परेपछि उनी गोठको ढोकामा ताल्चा लगाउँछन्,
सिन्धुपाल्चोकको त्यो डाँडामा अझै बिहान पर्छ, तर गोठभित्र सूर्यको उज्यालो अब पस्दैन।
बाख्राको आवाज हराएको, मदनको आत्मविश्वास हराएको ।
