युरोप र अमेरिकासम्म ग्राहक बनाउने नेपाली आईटी कम्पनी

प्रतिक ढकाल २०८२ असार २७ गते १०:२३

विप्लव कार्कीलाई अफिस जानु पर्दैन। उनीसँग टाइम कार्ड छैन, सूट-बुट पनि छैन। अफिसको साटो उनले ल्यापटप छेउमा चिया राख्ने ठाउँ बनाएका छन्। कहिलेकाहीँ कोठाको कुनो, कहिले भान्साको टेबुल, अनि कहिलेकाहीँ त छतमै काम गर्छन्। उनी भन्छन्, “भान्सामा बसेर पनि विश्व पुग्न सकिने रहेछ।”

विप्लव कार्की हाइपर्स नामको टेक कम्पनीका सह–संस्थापक हुन्। कम्पनीको मुख्य कार्यालय छैन, तर सञ्जाल छ जसले नेपाल, जापान, अमेरिका, बेलायत र युरोपसम्म काम पुर्‍याएको छ। कम्पनीमा अहिले ३१ जना काम गर्छन्, कोही धरानमा, कोही पोखरामा, कोही काठमाडौंमा, अनि कोही जापानमै। उनीहरू अफिस जाँदैनन्, तर काम चाहिँ संसारसम्म काम पुर्‍याउँछन्।

पुल्चोक इञ्जिनियरिङ कलेजमा इलेक्ट्रोनिक इञ्जिनियरिङ पढ्दै गर्दा विप्लवले महसुस गरे, भविष्य केवल डिग्रीमा छैन, समाधान दिने सीपमा छ। उनी कोडिङतर्फ मोडिए। कक्षा सकेर कोड लेख्न थाले। अनि एउटा सपना देख्न थाले—नेपालमै बसेर विश्वस्तरको टेक सेवा दिने।
त्यही सपना आज हाइपर्स  को रूपमा साकार भएको छ। उनीहरूको कम्पनीले मुख्य रूपमा ई–कमर्स व्यवसायलाई प्रविधि मार्फत बुस्ट गर्ने काम गर्छ। वेबसाइट स्केलेबिलिटीदेखि एप अप्टिमाइजेसन, डेटाबेस डिजाइनदेखि युजर एक्सपेरियन्स सुधार, उनीहरूले क्लाइन्टको डिजिटल व्यापारलाई बल दिन्छन्।

हाइपर्सकाका ८० प्रतिशतभन्दा बढी ग्राहकहरू विदेशमा छन्। अमेरिका, बेलायत, अष्ट्रेलिया, जर्मनी, स्विजरल्यान्ड, नेदरल्यान्ड्स, दर्जनौं देशका कम्पनीहरूले उनीहरूबाट टेक समाधान लिइरहेका छन्। ग्राहकहरू नेपाली कम्पनीबाट सेवा लिन्छन्, त्यो पनि रिमोट काम गर्ने नेपाली युवाहरूबाट। हाइपर्स ले सस्तो श्रम होइन, गुणस्तरीय समाधान बेच्दछ। त्यो गुणस्तरकै कारण ग्राहकहरू फर्कन्छन्। प्रोजेक्ट सकिएपछि फेरि नयाँ काम लिएर आउँछन

हेर्नुहोस् पूरा कथा जीविको मिडियाको यूट्युबमा

विप्लव भन्छन्, “काम अब्बल भयो भने ग्राहकले तपाईंलाई कहाँबाट गर्नुभयो भन्ने हेर्दैन, किनभने उसलाई समाधान चाहिएको हुन्छ।” त्यसैले हाइपर्सले आफ्ना प्राविधिकहरूलाई त्यो स्तरमा तयार गर्छ—जहाँ सेवा मात्र होइन, भरोसा पनि जान्छ।

हाइपर्सले न केवल नेपाली युवाहरूलाई रोजगारी दिएको छ, उनीहरूले केही विदेशी कर्मचारी पनि आफैँ राखेका छन्। नेपाली कम्पनीले विदेशलाई सेवा दिनु सामान्य लाग्न सक्छ, तर विदेशीलाई रोजगारी दिनु भनेको सोचमै क्रान्ति ल्याउनु हो।

उनीहरू नियमित अफिस नजाने तरिकाले काम गर्छन्—स्ल्याक, जुम, गिटहब, गूगल मिटमार्फत सञ्चार, योजनाहरू मिलाउने, कोड रिभ्यु गर्ने। तर कामको स्तरमा कुनै सम्झौता छैन। बरु, काम गर्ने स्वतन्त्रता र लचिलोपनले उत्पादकता अझ बढेको छ।

जब अधिकांश युवाहरू अष्ट्रेलिया, क्यानडा, अमेरिका जाने सपनामा हराइरहेका थिए, विप्लवले उल्टो बाटो रोजे। उनी भन्छन्,
“म विदेश गएर सुरु गर्नुभन्दा, यहीँ के गर्न सकिन्छ भनेर सोच्न थालेँ। हरेकपटक सुरु गर्न जरुरी छैन, कहिलेकाहीँ त यहीँ जे छ, त्यसैलाई बढाउनु ठूलो कुरा हुन्छ।”

हाइपर्स को स्थापना त्यसै सोचको उपज हो। यो कम्पनी कुनै लगानीकर्ताको पैसा लिएर बनेको होइन, सिद्धा समाधान दिने नेपाली युवाहरूको दिमाग र मेहेनतबाट बनेको हो। उनीहरूको विश्वास थियो नेपाल सानो ठाउँ हो, तर सोच सानो हुनुपर्दैन।

उनीहरूले अहिले मुख्य रूपमा ई–कमर्स कम्पनीहरूलाई सेवा दिइरहेका छन्। हाइपर्स अहिले एउटा प्रविधि कम्पनी हो, तर यसको कथा केवल व्यवसायको होइन, नेपालमै बसेर विश्वसँग जुध्न सकिन्छ भन्ने विश्वासको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *