
माटो छ, जमिन छ, तर काम गर्ने युवा छैनन्
भिरको काछीमा लटरम्म फलेका स्ट्रबेरी बोटतिर बिरुवातिर अन्वेश के.सी हेरेर उभिन्छन्। मोबाइलमा उनका पुराना कोचिङ साथीले म्यासेज पठाएका छन् — “भिसा आयो, यार! अष्ट्रेलिया उड्दैछु।”
यही भिजा, यही बाटो उनी पनि पछ्याउने सोचमा थिए, पाँच वर्षअघि। सबैले त्यही सल्लाह दिन्थे — “नेपालमा के छ र? विदेश जाऊ, सेटल भइन्छ।” तर उनले घरको पिँढी, बारीको माटो र हिलोको गन्ध नछाड्ने निर्णय गरे। ललितपुरको ठेचोमा एउटा प्रयोग सुरु गरे — ‘एग्री स्टुडियो’।
त्यो स्टुडियोमा अन्वेश आफैँ ट्रयाक्टर जोत्छन्। मल बोक्छन्। बिउ छर्छन्। बिहान खेतमा पसिना बगाउँछन्, साँझ रेष्टुरेन्टको भान्सामा अचार बनाउँछन्। त्यही स्टुडियोभित्रै उनले एउटा सानो ‘फार्म टु टेबल’ रेष्टुरेन्ट पनि खोलेका छन्, जहाँ ग्राहकले त्यही बारीको ताजा तरकारी स्वाद लिन पाउँछन्। हरेक कुरामा आफ्नै हात, आफ्नै जोहो। सहरका युवाहरू ब्रन्च क्याफेमा फोटो खिचिरहेका हुन्छन्, अन्वेश खेतमा बोट हेर्दै गर्छन् —
कहिले मुस्कुराउँदै, कहिले निराश हुँदै।
सुरुका दुई वर्ष निराशा, घाटा, मलपानीको अभाव, र ऋणको चपेटा। कहिले बजारमा मूल्य खस्कियो, कहिले रोग लागेर बाली सड्यो। तेस्रो वर्षमा केही टमाटरले हिम्मत दियो। अहिले महिना १–१.५ लाख रुपैयाँसम्म कमाइ हुन्छ। तर कृषिले मुहार फेरिदिएको छैन, संघर्ष अझै बाँकी छ।
“बजार सजिलो छैन, लगानीको सुरक्षाको ग्यारेन्टी छैन,” अन्वेश भन्छन्, “तर म यसैमा सम्भावना देख्छु। म त्यही सम्भावना बोकेर बसेको छु।”
गाउँतिरका उनका साथीहरू भने कतार, कोरिया, मलेसिया, अनि अहिले अष्ट्रेलियातिर लागिरहेका छन्।
बिहान सबेरै गल्लीको चियापसलमा अब ५० पार गरेका बुढाबुढी मात्रै देखिन्छन्। खेत बाँझो छन्, धुरीका मकै भुट्टा कुहिएर भुइँमा खस्छन्। स्कुले नानीहरूले सोध्न थालिसके — “दाई खेती गरेर साँच्चै बाँच्न सकिन्छ?”
नेपालको ७७ वटै जिल्लामा बारी बाँझिने क्रम बढ्दो छ। कृषि ज्ञान केन्द्रका रेकर्ड अनुसार, केही वर्षभित्र देशभर १० लाख हेक्टरभन्दा बढी जमिन बाँझो हुने प्रक्षेपण गरिएको छ। श्रम तथा रोजगार मन्त्रालयको डेटा हेर्ने हो भने २०८०/८१ मा मात्रै ६ लाख ८५ हजार ९२४ नेपालीले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन्। उनीहरू कोरिया, मलेसिया, युएई मात्र होइन, अब युरोपसम्म पुगेका छन् — सबैले भनिरहेका छन्, “नेपालमा केही भएन।”
राष्ट्रिय कृषिगणना २०७८ भन्छ — २५ वर्षमुनिका किसान जम्मा २.६% मात्रै छन्। २५–३४ वर्ष उमेर समूहका पनि घट्दैछन् — १६.१% बाट १४.९% मा झरे। कुल कृषक परिवार ३० लाख ९१ हजार, तर तीमध्ये ३५ वर्षमुनिका मात्र ११.२%।
नेपालजस्तो कृषिप्रधान मुलुकमा यस्तो आँकडा केवल ‘कृषि संकट’ होइन, ‘ग्रामीण जीवनशैलीको पतन’ हो। जब खेतमा काम गर्ने हातहरू उमेरसँगै थाक्न थाल्छन्, उत्पादन घट्छ, खाद्य सुरक्षामा खतरा आउँछ। नेपालले अहिले वार्षिक ४५ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात गरिरहेको छ — चामल, गहुँ, … जुन पहिले आफ्नै खेतले पाल्थ्यो।
कृषिमा आधारित उद्योगहरू पनि विस्तार हुन सकेका छैनन्। फलफूल प्रशोधन गर्ने प्लान्टहरू, चामल मिलहरू, तरकारी सङ्कलन केन्द्रहरू — धेरैजसो कागजमै सीमित छन्। पछिल्लो ५ वर्षमा कृषि सहकारी दर्ता हुने दर बढेको भए पनि, तीमध्ये ७० प्रतिशतभन्दा बढी सञ्चालनमै छैनन्। कृषिमा लगानी गर्ने सरकारको बजेट पनि कुल बजेटको ३ प्रतिशतभन्दा तल झरेको छ।
यसबीच, १ करोड १७ लाख युवा १५–३४ वर्ष उमेर समूहमा छन्। तर तिनमध्ये करिब ८९ प्रतिशत कृषि पेशाबाट टाढा छन्। कृषिबाट टाढा हुनु भनेको बाँझो जमिन बढ्नु मात्रै होइन — देशको आत्मनिर्भरता घट्नु पनि हो।
FAO नेपालको एक अध्ययन भन्छ — “यदि जम्मा १% युवा — एक लाखजति — आधुनिक कृषि प्रणालीमा लागे भने, कृषि उत्पादन १५% ले बढ्न सक्छ।” त्यो आँकडा देखेर अन्वेश मुस्कान दिन्छन्, अनि भन्छन्, “१० मध्ये ९ जना टाढा भए पनि, त्यो १ जनाले सम्भावना देखाइरहेको छ।”
तर यी चमत्कारहरू सरकारी फाइलका रंगीन प्रतिवेदनमा मात्रै सीमित छन्। नीति निर्माण गर्नेहरू ‘स्मार्ट एग्रीकल्चर’ भन्दै कागजमा एप बनाउँछन्, QR कोड सिस्टम ल्याउँछन्। तर त्यो QR स्क्यान गर्ने किसानसँग मोबाइल छैन। अनि न त सरकारी कृषि कार्यालयसँगै।
“कुनै अफिसर आउँछन्, फोटो खिचेर जान्छन्। भोलिपल्ट रिपोर्ट छापिन्छ — कृषिमा क्रान्ति भयो रे!” अन्वेश हाँस्दै भन्छन्। “तर त्यो क्रान्तिमा म रातभर पानी तानेको कुरा हुँदैन, मर्केको काँक्रा कसरी बेचेँ भन्ने कुरा हुँदैन।”
कृषि शिक्षा पनि उही पुरानो पाठ्यक्रममा अड्किएको छ। जलवायु परिवर्तन, अनिश्चित मौसम, मल र बीउको समस्या, बजारको उतारचढाव — यी सबै सम्हाल्न सक्ने युवा कृषक तयार गर्ने संरचना छैन। कृषि पढेका युवा जागिरतिर लाग्छन्, तर खेतमा काम गर्नेहरूलाई न नीति छ, न प्रवाह।
आर्थिक वर्ष २०८०/८१ मा कृषि तथा पशुपंक्षी मन्त्रालयको पूँजीगत खर्च ५० प्रतिशतभन्दा पनि कम मात्र खर्च भएको छ।
उता, कृषि बीमा कार्यक्रमको पहुँच अझै २० प्रतिशत कृषकसम्म पुगेको छैन। ग्रामीण किसानका लागि भनेर खोलिएका अनुदान कार्यक्रम काठमाण्डौको फाइलको घुमाउरोमै हराउँछन्।
साँझतिर अन्वेश बिस्तारै स्टुडियोको ढोका लगाउँछन्। रेस्टुरेन्टको ढोकाबाट बचेखुचेका धनियाँ, काँक्रा भित्र लैजान्छन्। खेतको छेउमा बसेर मोबाइल स्क्रोल गर्छन्, त्यही साथीको फोटो: पर्फेक्ट लाइट, पर्फेक्ट ड्रेस, पर्फेक्ट पासपोर्ट। उनी एकछिन मौनतामा नै हराउँछन्। आफ्नो हातको नङ हेर्छन् — कालो माटो र मलले भरिएको।
उनी भन्छन्, “म गलत छु त? कि ढिला?” उनी फेरि सोच्छन् — “सही बाटो सबैले हिँड्दैनन्, केहीले बाटो बनाउँछन्।” प्रश्न बाँकी नै छ जब ८९ प्रतिशत युवा खेतबाट टाढा छन्, के बाँकी ११ प्रतिशतले देश बोक्न सक्छन्?
कि खेती अब कागजमा बाँकी रहने सपना मात्रै हो?
