
अमेरिका जान ४० लाख खर्चिए, अनि बीचबाटै गाउँ फर्किए
कर्णालीका छातीबाट उखेलिएका सपनाहरू, हावाले अमेरिका पुर्याएका छन्। रुकुम, जाजरकोट, डोल्पा — ती डाँडामा उक्लिँदा अब खेतभन्दा बढी युवाहरू हराएका देखिन्छन्। कोही ब्राजिलको जंगलमा, कोही मेक्सिकोको मरुभूमिमा, कोही टेक्ससको सीमा छेउ — सबैजना जिन्दगीको चिसो घाम तापिरहेका छन्।
ग्वाटेमालाको सीमामा थकित शरीर बोकेर बसेका थिए शेरु। त्यही सीमामा उनी विगत सम्झिँदै थिए — ताञ्जानिया हुँदै ग्वाटेमालासम्मको ७ देश पार गरेको ४ महिनाको संघर्ष। उनी आफैँलाई सोध्थे , “मैले के पाएँ? के गुमाएँ?”
सपना अझै टाढा थियो। मनले सोधिरह्यो ‘अब अघि बढ्ने कि घर फर्किने?’ अमेरिकाको सपना थियो, तर फर्किने निर्णय पनि सजिलो थिएन। शेरु सोच्दै थिए, ‘के म साँच्चै अमेरिका पुग्न सक्छु? कि अब फर्किनु नै ठीक?’
शेरु वि.क. रुकुम पश्चिमको राडी ज्यूला बजारमा १६ वर्षदेखि ग्रिल उद्योग चलाउँदै आएका थिए। आम्दानी राम्रै थियो, सिप पनि थियो — फलामका ढोका, झ्याल, रेलिङ बनाउन माहिर। नेपालगञ्जसम्म व्यापार विस्तार गर्ने सपना थियो। तर, वरिपरिका साथीहरू अमेरिका पुगिसकेका थिए। फेसबुकमा चम्किएका तस्बिरहरूले उनलाई लोभ्याउन थाले। उनले आफैँलाई सोधे , “म किन पछि परिरहेको छु?”

सपना बलियो हुँदै गयो। एकदिन अन्ततः अमेरिका हानिने निर्णय गरे। एजेन्टले भने “१२ लाखमा दक्षिण अफ्रिकासम्म पुर्याइनेछ।” शेरुले उद्योग बन्द गरे, ऋण लिए, पैसा बुझाए, अनि यात्रा सुरु भयो।
दिल्ली हुँदै दुबई, त्यसपछि दक्षिण अफ्रिका। सुरुमा आशा थियो। तर जोहान्सबर्गमा उत्रेपछि अर्को खबर — अमेरिका पुग्न अझै १७–१८ लाख लाग्नेछ। “तपाईंलाई पुश गरिन्छ,” एजेन्टले भने, “जिम्बावे, जाम्बिया, ताञ्जानिया हुँदै ग्वाटेमालामा छिरिन्छ।”
शेरुले फेरि ऋण लिए। गाउँको सहकारी, आफन्त, साथीबाट पैसा जुटाए। धुलो, घाम, थकान, डर जिम्बावे, जाम्बिया पार गर्दै ताञ्जानिया पुगे। गहिरो हरियालीको बीचमा उडानको झ्यालबाट हेर्दै उनले महसुस गरे, यात्रा सकिएको छैन, तर मन थकित छ।
ताञ्जानियाको डार-एस-सलाम पुगेपछि अर्को खबर — अझै ३०–३५ लाख रुपैयाँ थप लाग्नेछ। गन्तव्य अझै ग्वाटेमाला, अनि मेक्सिको, अनि टेक्सस।
एजेन्टले भने — “अन्तिम चरण हो।”
तर शेरु रोकिए। रातको एकान्तमा गाउँ सम्झिए, आमा सम्झिए। भित्र कताकता चिसो भयो। आफैँलाई सोधे — “के म साँच्चै यति टाढा जान चाहेको थिएँ?” टेक्ससभन्दा गहिरो लाग्यो सम्झना।
त्यसै रात मनले निर्णय गर्यो- फर्कनुपर्छ।
उनीलाई कसैले डिपोर्ट गरेन। अमेरिका नपुगे पनि, फर्कने निर्णय उनको आफ्नै थियो। जोहान्सबर्ग फर्किए, नेपाल फर्कने टिकट लिए।
चार महिनाको यात्रामा उनले करिब ४० लाख खर्च गरे लगभग २० लाख ऋणमा डुबेको जीवन लिएर गाउँ फर्किए। उनले महसुस गरे, “अब गाउँको सपना बुन्ने बेला आएको छ।”

आज उनी फेरि गृल पसलमै छन्। नयाँ बोर्ड, नयाँ मेसिन, पुराना आँखा — तर नयाँ दृष्टिकोण। साथीहरू सोध्छन् — “कस्तो भयो अमेरिका यात्रा?”
शेरु मुस्कुराउँछन् — “४० लाख खर्चिए, अमेरिका त पुगेन, तर जिन्दगी बुझियो।”
रुकुमको बजार फेरि चुपचाप छ। तर त्यो मौनताभित्र एउटा कथा गुञ्जिरहेको छ — टेक्सस जान खोजेका शेरुको कथा, जसले अन्ततः बुझ्न पुगे — यदि खुट्टा जमिनमा बलियो छ भने, संसार कतै टाढा हुँदैन।
रुकुम पश्चिमका धेरै गाउँमा यस्तै कथाहरू छन् , कोही ब्राजिल छिरेका, कोही डेरियन ग्याप पार गरेका, कोही हराएका। कतिपय कहिल्यै सम्पर्कमा छैनन्। कतिपय फेरि शेरु जस्तै फर्किएका छन्, जिन्दगीको नयाँ पाना लेख्न।
शेरु भन्छन्, “गाउँमा अहिले अमेरिका, युरोप, जापानको कुरा चल्छ। लाखौं खर्च गरेर सपनाको पछि लागिन्छ। तर ती सपनाले कति मानिस गुमाउँछन्, कति पीडा थप्छन्?”
राज्यलाई थाहा छ हजारौं युवा यस्तो यात्रा गरिरहेका छन्। तर नीति अझै वैध रोजगारी र रेमिट्यान्समै सीमित छ। यस्तो अनौपचारिक, खतरनाक यात्रामा लाग्नेहरू श्रम बैंकको तथ्यांकमा पर्दैनन्, न पुनःस्थापनाका कार्यक्रममा पर्छन्।
उनीहरू अमूर्त सपनाको पछि दौडिरहेका अनौपचारिक यात्री हुन्।
शेरु जस्ता केही फर्किन्छन्, भन्छन् “यो अनुभव भन्न मिल्दैन, भोग्नुपर्छ।” उनी बाँचे, फर्किए। तर हरेक शेरुहरू फर्कन्छन् भन्ने ग्यारेन्टी छैन।
आज रुकुमका गाउँहरू सुनसान छन्। तर ती पाइलाहरूमा बाँचेका कथाहरू छन् कतै टेक्सस पुगेका, कतै बाटोमै हराएका, र कतै शेरु जस्तै फर्किएर जिन्दगीलाई नयाँ ढंगले लेख्ने कोसिस गरिरहेका।

यो नेपाल फर्कने कथा हो । तर यस्ता हज्जारौँ आप्रवासी अझै पनि मेक्सिको, पेरु देखि ब्राजिकलको सिमानामा अमेरिका छिर्ने आशमा बसेका छन् । न्यूयोर्क टाइम्समा प्रकाशित एक समाचार अनुसार अमेरिका छिर्न खोजेका विभिन्न देशका २० देखि ३० हजार आप्रवासी मेक्सिकोमा रोकिएका छन्। यसरी रोकिनेमा हज्जारौँ नेपाली हुनसक्ने जानकारहरु बताउँछन् । विशेषगरि रुकुम पूर्व र रुकुमपश्चिमका गाउँहरुबाट गाउँनै रित्तिने गरि युवाहरु विदेशिन्छन् ।
अन्तर्राष्ट्रिय प्रवासन सङ्गठन (IOM) का अनुसार, कर्णाली प्रदेशबाट वार्षिक ५० हजार भन्दा बढी युवा अमेरिका र यूरोप जाने प्रयास गर्छन्, तर ३०% अवैध मार्गबाट छिर्दा पक्राउ पर्छन् वा गुमनाम हुन्छन् । राइजिङ नेपालले मेक्सिको-अमेरिका सीमामा १ हजार २ सय नेपाली अलपत्र परेको उल्लेख गरेको छ । विशेषगरि रुकुमपश्चिमको बाँफिकोट, आठविसकोट, सानीभेरी जस्ता पालिकाबाट अधिकांश घरका १ जना अमेरिका हिँडेका छन् ।
तर, पछिल्लो समय परिस्थिति फेरिएको यसरी हिँडेर अमेरिका जान खोज्नेलाई सहज छैन । अमेरिका पुगिसकेकाहरुपनि कहिले डिपोर्ट हुने हो डरमै बाँचेका छन् ।
