
दुबई कतार अनि मलेशिया जस्तै वर्किङ भिसामा युरोप जान सकिन्छ ?

जसरी रोजगारीका लागि दुबई कतार अनि मलेशिया लगायतका देश जान सकिन्छ के उसै गरि वर्किङ भिसामा यूरोप पनि सहजै पुग्न सकिन्छ ? सकिन्छ भने किन धेरै युवाले २०-३० लाखसम्म खर्चदाँ पनि यूरोप टेक्न पाएका छैनन् ? फेरि सकिँदैन भने किन हज्जारौँ युवा कामै गर्न भनेर युरोपका विभिन्न देश पुगिरहेका छन् र राम्रै आयआर्जन पनि गरिरहेका छन् ? किन कसैका लागि यूरोप फलिफाप भएको छ अनि कसैका लागि यूरोपको नशा दशा भएको छ ।
रोजगारीका लागि युरोप जाने सोचिरहनुभएको छ भने तपाईंले युरोप रोजगारीका बारेमा केही आधारभूत कुराहरु जान्नै पर्ने हुन्छ । किनकी पासपोर्ट बनाउँदैमा र पैसा बुझाउँदैमा यतिकै यूरोप पुग्न सकिँदै, लाखौँमा कमाउन सकिँदैन ।
४४ वटा देश भएको यूरोपमा नेपालीहरुका लगि नेपाल सरकारले श्रम सम्झौता नै गरेका तीन वटा देशहरु छन् । जर्मनी, रोमानिया र बेलायत यी बाहेक विभिन्न एजेन्ट र मेनपावर मार्फत् बुल्गेरिया, हंगेरी, साइप्रस, र पोर्चुगलमा पनि नेपाली नपुगेका हैनन् त्यहाँ पुगेर काम गरिरहेका छन् । यो भिडियोमा हामी तपाईंलाई यूरोप रोजगारी बारे अत्यन्तै महत्त्वपूर्ण तीनवटा कुरा बताउँदै छौँ ।
पहिलो : यूरोप रोजगारीमा कसरी जान पाइन्छ ?
दोस्रो : कस्ता सीप भएका व्यक्तिहरुको उच्च माग छन् युरोपेली देशहरूमा
तेस्रो : खर्च कति लाग्छ र कमाई कति हुन्छ ?
ख्याल गर्नुहोस्, तपाईँले पूरा भिडियो नहेर्दासम्म युरोप रोजगारीबारे प्रष्ट हुन सक्नुहुन्न।
नेपालबाट कानुनी रूपमा युरोपियन मुलुकमा रोजगारीका लागि जान चाहनेहरूका लागि केही सरकारी र वैकल्पिक बाटोहरू छन्। नेपाल सरकारले हालसम्म तीन वटा युरोपेली देशहरूसँग श्रम सम्झौता गरिसकेको छ। ती देशहरूमा जर्मनी, रोमानिया, र बेलायत रहेका छन्।
जर्मनीले नेपालबाट सीपयुक्त नर्सहरू लैजानको लागि Triple Win Project को सुरुआत गरेको छ। र यसमार्फत जर्मनी पुग्दा केवल २५ हजार रुपैयाँ खर्च हुने वैदेशिक रोजगार विभाग बताउँछ ।
त्यसैगरी, रोमानिया मुख्य रूपमा म्यानुअल काम, कारखाना, वा होटल क्षेत्रमा रोजगारीको अवसर पाइन सकिन्छ जसलाई उत्पादन, निर्माण र सेवा क्षेत्र भनेर छुट्याइएको छ।
अब कुरा गरौं बेलायतको। बेलायतमा स्वास्थ्य क्षेत्रमा (विशेषगरी नर्सिङ) नेपाली कामदारको माग छ।नेपाल सरकार र बेलायतबीचको श्रम सम्झौतामार्फत नर्सिङ डिग्री, नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स, र IELTS पास गरेका नेपालीले NHS मा जागिर पाउन सक्छन्। हाल पहिलो चरणमा २०० नर्स पठाउने तयारी छ, तर प्रक्रिया ढिलो र कोटा सीमित भएकाले धेरैले पर्खनुपरेको छ।
यी बाहेक, पोर्चुगल जस्ता देशमा पनि धेरै नेपाली युवाहरू कृषि र होटल उद्योगमा काम गर्न पुगेका छन्। यद्यपि, नेपाल र पोर्चुगल बीच द्विपक्षीय श्रम सम्झौता छैन, तर मेनपावर एजेन्सी वा आफैं आवेदन गरेर पोर्चुगलमा रोजगारी पाउन सकिन्छ। पोर्चुगलमा छिटो वर्क परमिट र दीर्घकालीन बसाइको आशा हुने भएकाले नेपालीहरू आकर्षित छन्, तर पछिल्लो समयमा पोर्चुगल सरकारले आप्रवासन नियम कडा गरेपछि वर्क परमिट प्रक्रिया ढिला भएको छ।
यी बाहेक अन्य युरोपियन देशहरुमा पनि विशेषगरि होटल र पर्यटनकै क्षेत्रमा रोजगारी बढी खुल्छन् ।
याद गर्नुस् —
यी दोहोरो श्रम सम्झौता बाहेकका अन्य युरोपेली देशहरूमा जानलाई नेपाल सरकारले प्रतिबन्धित भने गरेको छैन। तर, ती देशहरूसँग सरकारी श्रम सम्झौता नभएको हुनाले, त्यसतर्फ जानका लागि तपाईंले मेनपावर एजेन्सीहरूको सहयोग लिनु पर्ने हुन्छ वा आफैं आवेदन गर्नुपर्छ।
कसरी छान्ने मेनपावर
युरोपमा माग भएका रोजगारीका अवसरहरूको बारेमा जानकारी प्राप्त गर्न म्यानपावर कम्पनीसँग सम्पर्क गर्न सकिन्छ। तर कस्ता म्यानपावर कम्पनीलाई सम्पर्क गर्ने र ठगीबाट जोगिने भन्ने चाहिँ ख्याल गर्नुपर्ने हुन्छ।
नेपालमा विदेश जानको लागि म्यानपावर कम्पनीको चयन निकै महत्वपूर्ण छ, किनकि गलत कम्पनी चयन गर्दा जोखिम र धोका बढ्न सक्छ। यदि तपाईं यूरोप वा अन्य कुनै देशमा जान चाहनुहुन्छ भने, म्यानपावर कम्पनीले तपाईंलाई आधिकारिक श्रम भिसा प्रक्रियामा सहायता पुर्याउँछ। यसका लागि निम्नलिखित स्रोत र प्रक्रिया अपनाउन सकिन्छ:
नेपाल सरकारको वैदेशिक रोजगार विभाग (DoFE) ले मान्यता प्राप्त म्यानपावर कम्पनीहरूको सूची प्रकाशित गर्छ। यो सूचीबाट तपाईं कुनै पनि प्रमाणित र दर्ता भएको कम्पनी चयन गर्न सक्नुहुन्छ।
म्यानपावर कम्पनीको लाइसेन्स र दर्ता अवस्था सरकारी वेबसाइट dofe.gov.np मा जाँच गर्नुहोस्। यसले तपाईंलाई कम्पनीको कानुनी स्थिति र विश्वसनीयता थाहा पाउन सजिलो हुन्छ ।
अनि आफैँ एप्लाइ गरेर यूरोप जान पाइन्छ कि पाइँदैन नि ?
युरोप जान सरकार वा मेनपावर एजेन्टकै भरमा पर्नुपर्छ भन्ने जरुरी छैन। तपाईं आफैं घरबाटै बसेर, मोबाइल वा ल्यापटपबाटै युरोपमा कामको लागि अवसरको ढोका खोज्न सक्नुहुन्छ, यूरोप रोजगारीमा जान सक्नुहुन्छ ।
सबैभन्दा पहिलो कुरा, तपाईंले EURO PASS तयार पार्नुपर्छ। ‘EURO PASS‘ भन्नाले एउटै फर्म्याटमा बनेको युरोपेली सीभी र डकुमेन्ट सेट हो, जसलाई प्रयोग गरेर तपाईंले युरोपका रोजगारीको अवसर सम्बन्धि साइटहरूमा सिधा आवेदन दिन सक्नुहुन्छ।
EURO PASS बनाउनका लागि तपाईंले europa.eu/europass मा जानुपर्छ। त्यहाँ आफ्नो CV, कभर लेटर, योग्यता प्रमाणपत्र, अनि अनुभव मिलाएर सेट गर्नुहोस्। सबै डकुमेन्टहरू अंग्रेजीमा वा चाहिएको खण्डमा देशअनुसारको भाषामा तयार गर्नुहोस्।
त्यसपछि सिधै युरोपका सरकारी रोजगारी साइटहरूमा जान सक्नुहुन्छ।
जस्तै:
- EURES Portal (eures.europa.eu) — मा सबै युरोपभरिका जागिरहरू समेटिएको हुन्छ ।
- Make It In Germany — जर्मनीमा काम गर्न चाहनेका लागि बनाइएको रोजगारी पोर्टल हो ।
- Work In Portugal — मा पोर्चुगल अवसरहरू भेटिन्छ ।
- Pôle Emploi — फ्रान्सका लागि।
यी साइटमा गएपछि तपाईंले आफ्नो सीपअनुसार सेल्स होस्, होटल लाइन, IT, हेल्थकेयर अथवा कुन क्षेत्रमा जागिर खोजिरहनुभएको छ त्यसमा सेलेक्ट गरि Apply बटन थिच्नुहोस्। तपाईंको EURO PASS CV र कभर लेटर अपलोड गर्नुहोस्। आफ्नो पासपोर्ट स्क्यान, अनुभव प्रमाणपत्र, भाषा प्रमाणपत्र (जस्तै IELTS, TOEFL वा B1 लेभल जर्मन) पनि अपलोड गर्नुपर्छ।
आवेदन पठाएपछि कम्पनीले तपाईंको प्रोफाइल हेर्छ। चाहिएसम्म योग्य देखिए, कम्पनीले तपाईंलाई Official Job Offer Letter पठाउँछ। अनि त्यसपछि सुरु हुन्छ अर्को खुड्किलो। त्यही अफर लेटर लिएर सम्बन्धित देशको दूतावासमा जानुहोस्। त्यहाँ वर्क भिसा वा EU ब्लु कार्ड को लागि फारम भर्नुहोस्। प्रक्रिया पूरा भएपछि तपाईं कानुनी वर्क भिसा हातमा पाउनुहुन्छ। ति भएपछि तपाईं वैध तवरले युरोप जान सक्नुहुन्छ, काम गर्न सक्नुहुन्छ।
न कतै एजेन्ट चाहिन्छ, न त लाखौं रुपैयाँ खर्च गर्नुपर्छ।
एउटा युवाले यूरोप जान चाह्यो भने कति खर्चिनुपर्छ ? अनि पुगेर कति कमाउन सक्छ?
सबैथोक एजेन्टले भनेजस्तो चम्किलो छैन। न त सरकारको बाटोले मात्र सहज छ, न त स्वयम् एप्लाइ गर्दा सबै। तर यथार्थ यति हो:
- सरकारी सम्झौताबाट: जर्मनी जस्ता देशमा गएमा २५ हजारदेखि ५० हजार रुपैयाँ जति खर्च हुन्छ। समस्या के छ भने यी अफिसियल कोटा धेरै सीमित हुन्छन्। सबैले सोझो बाटो समात्न पाइँदैन।
- एजेन्ट र म्यानपावरमार्फत्: यदी एजेन्ट र मेनपावरमार्फत् जाने हो भने त्यहाँ रकमको खेल हुन्छ। १० लाखदेखि २५ लाख रुपैयाँसम्म एजेन्टहरूले असुल्ने गर्छन्, देश अनुसार फरक। जस्तै लुथानिया, क्रोएसिया, रोमानिया तिर १०–१५ लाख बीचमा डिल हुन्छ भने पोर्चुगल र फ्रान्स जस्ता देशको लागि २० लाख नाघ्न सक्छ।
- स्वयम् (आफैँ) एप्लाइ गरे: EUROPASS CV बनाएर सरकारी साइटहरूमा अप्लाइ गरेमा मूल रूपमा खर्च तपाईंको प्रमाणपत्र अनुवाद, डकुमेन्ट तयार, केही administrative fee, र अन्तिममा वर्क भिसा आवेदनमा मात्र हुन्छ। यसरी गएमा २ लाख भित्रमै सकिन्छ त्यो पनि यदि तपाईंले भिसा शुल्क, इन्सुरेन्स, यात्रा टिकट सबै मिलाएर आफैँ बुझेको खण्डमा।
अब कमाइ कति हुन्छ त?
यूरोपमा कमाइ देश अनुसार फरक हुनसक्छ।
- औसत हेर्दा रोमानिया, क्रोएसिया, लुथानिया, वा पोर्चुगल जस्ता देशहरूमा सुरुमा ६००–८०० युरो प्रतिमहिना तलब हुन्छ।
- कुशल कामदार (जस्तै इलेक्ट्रीशियन, वेल्डर, होटल म्यानेजमेन्ट, हेल्थकेयर) का लागि भने १२००–२००० युरोसम्म पाउने हुन्छ।
- जर्मनी, फ्रान्स जस्ता देशमा सीप अनुसार सुरुको तलब नै २०००–२५०० युरो प्रतिमहिना हुन सक्छ।
तर सबै कुरा तपाईंको सीप, भाषा, अनुभव र काम गर्ने क्षमतामा निर्भर गर्छ। ठ्याक्कै एउटै खर्च गरेर एउटै ठाउँमा पुगेका दुई जना मान्छेको कमाइ पनि दिन–रात फरक हुन्छ यदि सीप, भाषा र धैर्यमा भिन्नता भयो भने कमाई दोब्बर नै फरक पर्छ।
