
इन्जिनियर जोडी: देश छोड्ने लर्को लागेको बेला गाउँ फर्किए
“सुरुवातमा त मलाई मुर्ख नै पो हुँ कि जस्तो लाग्यो, मान्छे गाउँबाट सहर पढ्न जान्छन् अनि सहरबाट विदेशिन्छन्, म चाहिँ सहर पढेर गाउँ फर्किएँ,”इलामका प्रमोद सापकोटा उद्यम कथा सुनाउन थाल्छन्। यो कथामा उनी एक्ला छैनन्, मोरङको कुनै कलेजमा इञ्जिनियर पढेका सहपाठी, साथी सँगै जीवनसाथी बनेकी उनकी श्रीमती स्वस्तिका भट्टराई पनि यो गाउँ फर्किने उद्यम कथाकी पात्र हुन् ।
यो उनीहरूको प्रेमकथा मात्र होइन — यो उद्यमशीलताको प्रेमकथा हो। जहाँ सपना सहरमा देखिएको थियो, तर त्यसको सार गाउँमा खोजियो। जहाँ डिग्री किताबमा सीमित रहेन, त्यो पसिनासँग मिसियो र श्रममा घुलियो।
यी दुई एउटै बाटो हिँडे, एउटै सपना बोक्दै। यो कथा एउटै लयमा सास फेर्ने दुई जीवनको हो – प्रेममा पनि जोडी, पेशामा पनि जोडी, र अब उद्यममा पनि।
मोरङ बिराटनगरमा सँगै पढेका उनीहरुको ७ वर्ष अगाडि २०७५ साल ताका पढाई सकियो । सहपाठीहरूलाई विदेशले तान्दै थियो। “हामी पनि कहिलेकाहीँ सल्लाह गर्थ्यौँ, जानु हो कि? तर अन्तिममा हाम्रो मन भने देशमै केही गरौँ भन्ने तिर गयो,” प्रमोद भन्छन्।त्यस समयसम्म यी जोडिको विवाह भएको थिएन, स्वस्तिका बिराटनगरमै रोजगारी गर्न थालिन् भने प्रमोद इलाम हानिए । विदेश जाने योजना बनेन ।
घर फर्किएपछि सुरुवाती दिनहरूमा योजना थिएन, केवल उद्यम गर्ने ठूलो इच्छा थियो। केही महिनाको खोजी र सोचाइपछि आईडिया फुर्यो, — इको ब्रिक अर्थात् वातावरणमैत्री इँटा बनाउने ।
“तराईका इँटा पहाड पुग्दा महँगो पर्छ, अनि पर्यटकीय क्षेत्र भएकाले संरचना पनि राम्रै बनिरहेका हुन्छन्, यता बजार होला भन्ने लाग्यो र व्यवसाय सुरु गर्ने निधो गरेँ,” प्रमोद सम्झन्छन्।
गाउँ फर्किएको ६ महिना जस्तोमा एक कम्पनीबाट मेशिन किनेर उनले काम सुरु गरे। सुरुवातमा झण्डै ७ लाख लगानी लगाए । व्यसवाय सुरुवात पनि भयो । तर, उनले सोचेझैँ सुरुवात सजिलो थिएन। चिसो माटोले इँटा नबन्ने, लागत बढ्ने — कहिलेकाहीँ माटो भुट्न कराईसमेत तताउनुपथ्र्यो।

“माटो, बालुवा र सिमेन्टबाट यो इँटा बन्छ। माटो पनि फुको र सुक्खा चाहिन्छ। कराइमा माटो भुटेर इँटा बनाउँदा सुरुमा त प्रति गोटा लागतै कति बढ्थ्यो, घाटामा बेच्नुपर्यो,” उनी भन्छन्। एकातर्फ इन्जिनियर भएर गाउँ बस्दा गाउँलेले भन्ने कुरा, अर्कोतर्फ व्यवसायको अनिश्चितता — उनीहरूलाई मनोवैज्ञानिक दबाब पनि कम थिएन।“त्यसबेला त मन एकतमासले बेचैन हुन्थ्यो, के गरौँ कहाँ जाउँ छट्पटी हुन्थ्यो,” उनी भन्छन् “ स्वस्तिकाले ढाडस दिइरहिन् । विवाह भएको थिएन, हाम्रो सपना साझा थियो त्यसैले पनि मैले उद्यम छाड्नै सकिन”

करिब २ वर्ष उनले संघर्षमा बिताए । आम्दानी भएन, इँटा बनाउने नयाँ विकल्पहरु खोज्न थाले । यसै क्रममा माटोको सट्टमा क्रसरमा निस्कने ढुंगाको धुलो विकल्प बन्यो । कहिले झापा त कहिले मोरङबाट ढुंगाको धुलो लगेर इँटा बनाउन थाले, व्यवसायले पनि केही गति लिन थाल्यो । यहि बीच यो जोडिको विवाह भयो । स्वस्तिका पनि जागिर छाडेर प्रमोदसँगै देखेको साझा सपनामा जोडिन पुगिन् । यो जोडिको संघर्षले रङ्ग देखाउन थाल्यो । गाउँको आलोचनाभन्दा आफ्नै सपना ठूलो भयो। साथ दिइन् स्वस्तिकाले — जसले बजार व्यवस्थापनदेखि ग्राहक समन्वयसम्म सम्हालिन्।

“विवाहपछि उद्यमले झन् गति पकड्यो । महिनाभर उद्योग चलायमान हुन थाल्यो । अर्डर पनि बढेर गयो,” उनी सुनाउँछन्। शंका र असफलताले घेरा हालेको उद्यमले ३ वर्षमा नै सम्भावनाको फड्को मार्यो । अहिले ‘बिन्दबासिनी इको ब्रिक्स’ का रुपमा स्थापित यो उद्यमले आफू दुईसँगै थप ६ जना कामदारलाई जीविको चलाउने बाटो दिएको छ । गएको छ वर्षमा उनीहरूले १० लाखभन्दा बढी इँटा बिक्री गरेका छन्, झण्डै ५०० संरचना निर्माणमा प्रयोग भइसकेका छन्। गाउँ फर्किएको ३ वर्ष यता स्वस्तिका र प्रमोदको जोडीले मासिक १ देखि डेढलाखसम्म कमाउँदै आएका छन् ।
आज जब गाउँका घरहरू ठडिन्छन्, ती घरका गारोमा इँटासँगै आशा टाँसिन्छ। किनकि त्यो इँटा अब केवल उत्पादन हैन, एउटा युवाले अब जीविको चलाउन घर छोड्नु पर्दैन देश छोड्नु पर्दैन भन्ने प्रेरणा पनि हो ।
“हामीले गाउँमै उद्यम गर्ने सपना देख्यौ र त्यो सपनालाई साकार पार्न हाम्रै गाउँलेहरूले सहयोग गरिरहेका छन्,” स्वस्तिका भन्छिन्। प्रमोदलाई नमुना उद्यमीको रुपमा नगरपालिकाले पनि सम्मानित गरेको छ ।

आज गाउँमा नवनिर्माण हुँदै गर्दा, उनीहरूको इँटा प्रयोग भएको देखिन्छ। सहरमा बनेको डिग्री गाउँमा प्रयोग भएपछि कति युवाको हौसला बढेको छ। वरपरका युवा उद्यम गर्न उनीहरूसँग सल्लाह लिन आउँछन्। कतिले उनीहरूकै इँटा प्रयोग गरेर घर बनाइरहेका छन्।
“देशमै पनि केही गर्न सकिन्छ भन्ने यथार्थ हामी बाँडिरहेका छौं,” प्रमोद सुनाउँछन् ।
