वैदेशिक रोजगारीलाई टुङ्याएर अब नेपाल फर्कँदै हुनुहुन्छ ?

जीविको २०८० भदौ १ गते १२:२१

सरकारले वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेशमै फर्केर आयआर्जन हुने काम गर्न आव्हान गरिरहेको छ तर विदेशिने नेपालीको संख्या भने बढ्दो छ । वैदेशिक रोजगार विभागको तत्थ्याङ्कअनुसार अघिल्लो वर्ष ७ लाख ७१ हजारले श्रम स्वीकृति लिए । यसरी वैदेशिक रोजगराीमा जाने नेपालीहरूले औषतमा पनि ८ देखी १० वर्षसम्म प्रवासमा नै समय व्यतित गर्दै आएका छन् ।

यहाँ भने हामीले विदेशको बसाइँलाई टुङ्याएर स्वदेशमै केही गर्ने सोचमा रहेकाहरूलाई लक्षित गर्दै आफूलाई तयार कसरी गर्ने भनेर विज्ञसँग कुराकानी गरेका छौं । वैदेशिक रोजगारीमा वर्षौं बिताएर अब सदाका लागि नेपाल फर्कने योजना बनाउनु भएको छ भने तपाईंले केही पूर्व तयारी गर्नुपर्ने हुन्छ । आफूलाई तयार कसरी गर्ने ? के-कस्ता कुराहरू ख्याल गर्ने ? 

जीविको परामर्शमा हामीले चिकित्सा मनोविद् डा. पशुपति महतसँग यस विषयमा कुराकानी गरेका छौं । उनी मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालमा आबद्ध छन् । हेर्नुहोस्: भिडियो कुराकानी

….

लामो समय विदेश बसेर फर्किएपछि नेपालको परिवेश नयाँ हुन्छ । विदेशबाट फर्किएपछि उसको उमेरको व्यक्तिले उसलाई चिन्छ त्यसपछिको पुस्ताले उसलाई चिन्दैन । अनि अर्को कुरा चाहिँ नेपालको परिवेशभन्दा विदेशको परिवेश पनि फरक हुन्छ, काम गर्ने तरिका पनि आफैँमा फरक हुन्छ । त्यसो हुँदा उसलाई नेपालमा घुलमिल हुन समस्या हुने गर्दछ । त्यसैले, तपाईं नेपाल आउनुभन्दा केही समय अगाडिबाट नै आफ्नो परिवारसँग सम्पर्क बढाउनुपर्छ । आफन्तहरूसँग सम्पर्क बढाउनुपर्छ । आफ्ना साथीभाईहरूसँग सम्पर्क बढाउनुपर्छ । त्यस्तै, नेपाल फर्किएपछि पनि तपाईंले आफ्ना साथीभाईको सम्पर्कमा आउने उनीहरूसँग सम्पर्क बढाउने गर्नुपर्छ तर यसो गरिरहँदा खराबसंगत अर्थात् जुवातास खेल्ने, मादक पद्धार्थ सेवन गर्ने समूहबाट चाहिँ जोगिनुपर्छ ।

चिकित्सा मनोविद् डा. पशुपति महत

विदेशबाट फर्किएपछि खराबसंगतमा जोडिइयो भने आएको केहीसमयमा नै विदेशबाट ल्याएको सम्पती सकिने हुन्छ जसका कारणले पुनः विदेशिनुपर्ने परिस्थिति बन्ने गर्दछ । त्यसैले आफूले साथी चिनेर उनीहरूसँग समाजबारे बुझ्ने, उनीहरूले व्यक्तिगत रूपमा के गरिरहेका छन् भन्ने बारेमा बुझ्ने, सरकार बुझ्ने, स्थानीय तह बुझ्ने गर्नुपर्दछ । अहिले स्थानीय तहहरूसँग थुप्रै स्वरोजगार कार्यक्रमहरू छन् । आफू ती कार्यक्रमहरूमा कहाँ अटाउन सकिन्छ भन्ने जस्ता कुराहरू तपाईंले बुझ्नुहोस् । त्यस्तै विदेशबाट फर्किएर नै नेपालमा केही उद्यम व्यवसाय गरिरहेका साथीहरूसँग आफ्नो सम्पर्क बढाउनुहोस् । 

योसँगै, नेपाली समुदाय चाहिँ तपाईंलाई बढी प्रश्न गर्ने किसिमको छ । विदेश गएपनि किन विदेशिएको भनेर कुरा काट्ने गरिन्छ भने आएपछि पनि केही व्यवसाय गरे विदेशबाट आयो यस्तो काम गर्दैछ भन्ने हिसाबले कुरा काट्ने गरिन्छ। काम ठूलो सानो हुँदैन भन्ने छाप नेपाली समुदायमा पर्न सकेको छैन । त्यसैले विदेशबाट फर्किएपछि तपाईं यस्ता प्रश्नहरूलाई झेल्नलाई पनि तयार हुनुपर्छ ।

यदी परिवार आफन्तसँग आफ्नो सम्बन्धलाई बढाइराख्न सकियो भने नेपालमा सहयोगको संजाल ठूलो बन्छ र तपाईं पुर्नएकीकरण हुन समय लाग्दैन । यदी तपाईंको परिवारसँगको सम्बन्ध राम्रो छ भने तपाईंको मानसिक स्वास्थ्य पनि आफैँमा राम्रो हुन्छ । त्यसैले विदेशबाट फर्किएपछि तपाईंले सुरुवातमा नै पारिवारसँग सम्बन्ध राम्रो राख्नुहोस्, सहयोग चाहिने ठाउँमा परिवारको सहयोग लिनुहोस् । त्यसपछि आफ्ना आफन्त र साथीभाईसँगको सम्बन्धलाई बलियो बनाएर राख्नुहोस् आफ्नो संजाल बनेपछि तपाईंले के काम गर्ने त्यसको योजना बनाउने, त्यसलाई कसरी सफल बनाउने भन्नेजस्ता योजनाहरूको तर्जुमा गर्नुहोस् र संयन्त्र मिलाउनुहोस् ।

तपाईंले जति औपचारिक क्षेत्रको सहयोग लिन सक्नुभयो तपाईंलाई आफ्नो योजना सफल बनाउन त्यति नै सहज हुन्छ । त्यसैले विदेशबाट फर्किएछि बैंक, स्थानीयतहहरूसँग सहयोग लिने सहुलियतपूर्ण कर्जाहरू लिन परे लिने जस्ता कामहरू गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *