‘युरोप नगएकोमा रत्तिभर पछुतो छैन’ (भिडियो)

धर्मराज रिमाल २०८० जेठ ६ गते ९:५१

युरोप उड्ने करिव निश्चित थियो । उनको वर्षौंको सपना नै थियो – जसरी पनि युरोप पुग्ने अनि कमाउने । तर सपना साकार हुने बेलामा उनी एकाएक आफै पछि हटे । युरोप जान कस्सिएर दिल्ली पुगेका सुजन चौलागाईं नेपाल फर्किए अनि धोबी बने ।

सारमा भन्नुपर्दा सुजनको कथा यत्ति नै हो ।

हेर्नुहोस्, युरोपको सपना त्यागेर स्वदेशमै धोबी बनेका उद्यमी सुजनको भिडियो कथा

माथिको लघुकथा पढ्दै गर्दा लाग्नसक्छ – युरोप जान छोडेर कोही मान्छे धोबी बन्ने मूर्ख्याइँ कसरी गर्नसक्छ ?

मूर्ख्याइँ नै सही, तर ६ वर्ष अगाडि आफूले लिएको यो निर्णयमा रत्तिभर पछुतो छैन सुजनलाई ।

“सम्भव हुँदाहुँदै पनि म युरोप गइन तर मलाई यो कुराले कहिले पनि पछुतो लागेन बरु गर्व लाग्छ त्यसबेला एउटा परिपक्व निर्णय लिएकोमा” अनुहार उज्यालो बनाउँदै सुजनले कुरा सुरु गरे ।

सुजन चौलागाईं, सञ्चालक, स्मार्ट धोबी

‘युवा’ अनि ‘पलायन’ यी दुई शब्द विगत एक दशक यता नेपालमा एकअर्काका परिपूरक बन्दै आएका छन् ।

दुई चार लाख खर्चिनेहरू खाडी पुगेका छन्, दश पन्ध्र लाख खर्चिनेहरू युरोप हानिएका छन् । अनि २० लाख हाराहारी खर्चिनेहरू ‘स्टडी भिसा’मा अस्ट्रेलिया, अमेरिका, क्यानडा पुगेका छन् ।

युवा जनसंख्या सर्वाधिक भएको मुलुकमा युवा अडिन सकिरहेका छैनन् ।

देश छोड्ने युवाहरूको हुलमा सुजन पनि एक थिए । पोल्यान्ड जाने भनेर सुजन र अन्य केही युवाहरू अन्तर्वार्ता दिन दिल्ली पुगेका थिए ।

अन्तर्वार्ता कै लागि उनीहरूले दिल्लीमा दुई महिना पर्खिनुपर्‍यो ।अन्तिममा आएर कुरा मिलेन तलबमा । नेपालमा  हुँदा युरोप पुगेपछि एक लाख रुपैयाँ सहजै कमाइ हुने भनिएको थियो सुजनलाई तर त्यहाँ अन्तर्वार्ताका क्रममा जम्मा ५०-६० हजार मात्र कमाइ हुने बताइयो ।

“यति पैसा त मैले नेपालमै बिजुलीको पसल गरेर कमाइरहेको थिएँ” सुजनले अन्तर्वार्ताको क्षण सम्झिँदै भने, “जानीजानी दुःख पाउन युरोप किन छिर्नु भनेर त्यसबेलै युरोपको सपना त्यागेँ मैले”

दुईमहिने दिल्लीको बसाइँमा होटलमा धुमधुम्ती बस्नुभन्दा शहरका विभिन्न ठाउँमा रुमल्लिएका थिए उनी । यसरी रुमल्लिने क्रममा उनले एउटा फरक किसिमको उद्यम थाहा पाएका थिए । मान्छेका लुगा मेसिनमा धुने, आइरन गर्ने अनि चिटिक्क पारेर घरमै डेलिभरी गर्ने चाखलाग्दो व्यवसाय दिल्लीमा खुबै चलेको रहेछ ।

नेपाल फर्किएपछि काठमाडौंमा यस्तै काम गर्न सकिएला कि भन्ने सोचेर सुजनले योजना बनाए । “त्यसबेला मेसिनमा लुगा धुने काम मेरो लागि बिल्कुलै नौलो थियो” नेपाल फर्किएपछिको कुरा सुनाउँदै सुजनले भने, “न मेरो बाबु बाजेले गरेको काम थियो न त यो काम कुनै चल्तीको उद्यम नै थियो त्यसबेला”

करिव ६ महिना ब्यापक अध्ययन र तयारीमा खर्चिएपछि उनी निष्कर्षमा पुगे – धोबी बनेरै पनि कमाइ गर्न सकिने सम्भावना मस्तै छ, बस् काम फरक तरिकाले गर्नु पर्‍यो, स्मार्ट तरिकाले गर्नु पर्‍यो ।

फलत: कथाको दोस्रो इनिङ्गमा पुगेपछि सुरु भयो – स्मार्ट धोबी

मेसिनमा लुगा धुँदै स्मार्ट धोबीका सञ्चालक सुजन चौलागाईं

काठमाडौंमा बस्ने मान्छेहरूका दुईवटा प्रमुख समस्याहरू भनेको; पर्याप्त फुर्सदिलो समय नहुनु अनि धारामा पर्याप्त पानी न आउनु । शहरवासीको यही समस्यालाई उद्यमको आइडिया बनाएर सुजनले ५ वर्ष अगाडि सुरु गरेका थिए ‘स्मार्ट धोबी’

तपाईंका धुनुपर्ने लुगा लिन सुजन वा स्मार्ट धोबीका प्रतिनिधि तपाईंकै घरमा आइपुग्छन् । के कस्ता लुगा धुनु पर्ने हो त्यसलाई तपाईंकै अगाडि तौलन्छन् । तौलका हिसाबले कति खर्च लाग्छ भनेर तपाईंलाई जानकारी दिइन्छ अनि बौद्धमा रहेको स्मार्ट धोबीमा ल्याएर लुगालाई मेसिनमा धोइन्छ, सुकाइन्छ, आइरन लगाइन्छ अनि प्याक गरेर पुन: सेवाग्राहीको घरमै पुर्‍याइन्छ ।

“पिक अप र डेलिभरी सेवा हामी फ्रीमा गर्छौँ” स्मार्ट धोबीको सेवाबारे बताउँदै सञ्चालक सुजन भन्छन्, “लुगा धुने र सुकाउने मात्र हो भने प्रति केजी १ सय ३० रुपैयाँ लिने गरेका छौं, आइरन र फोल्ड पनि गर्नुपर्दा २ सय रुपैयाँ किलोका हिसाबले सेवा शुल्क तोकेका छौं”

धोएका लुगालाई आइरन र फोल्ड गरेर डेलिभरीका लागि प्याकिङ गरिँदै

डाउन ज्याकेट, ब्लेजर, ब्ल्याङ्केट लगायतका कपडा हेरेर सोही अनुसारको मूल्य तोकिएको सुजन बताउँछन् । सुजनले हरेक दिन औसतमा एक सय किलो लुगा धुने गर्छन् । ५ जनालाई यहाँ रोजगारी दिएका छन् अनि धेरैलाई यो उद्यम गर्ने सीप सिकाएर यस क्षेत्रमा स्थापित पनि गराएका छन् ।

कमाइको कुरा गर्दा आफ्नै उदाहरण दिँदै सुजन भन्छन्, “लुगा धुने कामलाई फरक तरिकाले गर्दा मैले नेपालमै डेढ दुई लाख रुपैयाँ मासिक कमाइरहेको छु । यस्ता अवसर धेरै छन् नेपालमा त्यसलाई चिनेर धैर्यताका साथ काम गर्ने आँट गर्ने हो भने समय लाग्ला तर सफलता पक्कै भेट्याइन्छ”

स्मार्ट धोबीका सञ्चालक सुजन चौलागाईं

यो ५ वर्षमा सुजनभित्र एउटा आत्मविश्वास दह्रोसँग पलाएको छ – नेपालमा धेरै क्षेत्रमा उद्यम व्यवसाय गर्न सकिने सम्भावना छन् । चुनौतीका चाङ होलान् तर अवसर पनि अपार छन् ।

हेर्नुहोस्, युरोपको सपना त्यागेर स्वदेशमै धोबी बनेका उद्यमी सुजनको भिडियो कथा:

…..

सम्पर्क

स्मार्ट धोबी नेपाल

फेसबूक

मोबाईल नम्बर: ९८५१०३२२०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *