९ महिनामा भित्रियो ९ खर्ब ३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स

जीविको २०८० वैशाख २८ गते १४:५६

गत चैत महिनामा नेपालमा हालसम्मकै सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले दिएको तत्थ्याङ्क अनुसार चैतमा मात्र १ खर्ब ९ अर्ब १० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।

गत साउन महिनामा ९२.२ अर्ब भित्रिएको रेमिट्यान्स चैत्रसम्म आइपुग्दा २४ प्रतिशत बढेर १ खर्ब ९ अर्ब पुगेको हो ।

राष्ट्र बैङ्कका अनुसार भदौमा ९४.८ अर्ब, असोजमा ९४ अर्ब, कार्तिकमा ९७ अर्ब त्यस्तै मङ्सिरमा १ खर्ब २ अर्ब ५० करोड, पुसमा १ खर्ब ४ अर्ब ६० करोड, माघ महिनामा १ खर्ब ४ अर्ब ८० करोड, फागुन महिनामा १ खर्ब ४ अर्ब ४० करोड र चैत्रमा १ खर्ब ९ अर्ब १० करोड रुपैयाँ नेपाल भित्रिएको छ ।

यसरी चालु आर्थिक वर्षको ९ महिनामा रेमिट्यान्समार्फत कुल ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।

नेपालबाट वैदेशिक रोजगारीका लागि जाने नेपाली साथै विदेश अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या बढेसँगै नेपालमा रेमिट्यान्सको आकार बढ्दै गएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कलाई हेर्दा चालु आर्थिक वर्षको नौँ महिनामा नै झण्डै ४ लाख नेपालीले वैदेशिक रोजगारीमा जान भनेर श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्षको सुरुवाती ९ महिनामा ३ लाख ८७ हजार ३ सय ३९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने सङ्ख्या बढेसँगै अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्या पनि पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाको तत्थ्याङ्कलाई हेर्दा २०७९ सालभर विदेशमा अध्ययन गर्न जान १ लाख १७ हजार जनाले एनओसी लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *