क्लबहाउस सिफल: एउटा फरक सोचले खुलेको हस्पिटालिटी सेवा

बिना सुनार २०८० वैशाख २४ गते ७:२८

काठमाडौंको सिफलमा रेस्टुराँ, योगादेखि को-वर्किङ स्पेस एकै ठाउँमा भएको हस्पिटालिटी स्टार्ट-अप ‘क्लबहाउस सिफल’ सञ्चालनमा आएको छ ।

भिडियो- क्लबहाउस सिफल: राजधानीमा खुलेको एउटा फरक हस्पिटालिटी सेवा

झट्ट हेर्दा प्राकृतिक वातावरणमा रमेर पेय पदार्थको चुस्की लाउँदै साथीसङ्गी रम्ने रेस्टुराँ जस्तो देखिए पनि क्लबहाउसले दिने सेवाहरू यतिमा सीमित छैनन् । हेर्दा अलिक महँगो रेस्टुराँ जस्तो देखिएपनि यहाँ भित्र पाइने सुविधा सार्है सुलभ अनि अन्य हस्पिटालिटी भन्दा फरक किसिमका छन् ।

क्याफेसँगै को-वर्किङ स्पेस रहेको क्लबहाउस

क्लबहाउसको ट्याग लाइन नै छ; More than just Restaurant ! अर्थात, यस हस्पिटालिटी उद्यमको उद्देश्य भनेको रेस्टुराँसँगै माथि उल्लेखित सेवा पनि उत्तिकै महत्वका साथ उपलब्ध गराउनु हो ।

क्लबहाउस सञ्चालनमा आएको २ वर्ष भयो तर रेस्टुराँसँगै योगा अनि को-वर्किङ स्पेसको सेवा थपेर विगत ६ महिनादेखि यो उद्यमले गति लिँदै छ । यसका योजनाकार हुन् – आदेश गौतम । विगत १३ वर्षदेखि स्नातक तहका विद्यार्थीलाई सामाजिक कार्य (सोसल वर्क) पढाउँदै आइरहेका आदेशको रुचिको विषय हो, हस्पिटालिटी सेवा । एउटा यस्तो थलो होस् जहाँ सिक्न र सिकाउन पैसाले नरोकोस् भन्ने सोचाइले यो फरक हस्पिटालिटी सेवा सुरु गरेको आदेश बताउँछन् ।

“होटलमा खान र बस्न पाइन्छ, रेस्टुराँमा खान मात्र पाइन्छ, हामी चाहिँ यी सुविधासँगै यही बसेर काम गर्ने सुविधा पनि ग्राहकलाई दिन्छौँ । हाम्रो ठाउँलाई तपाईंले अफिस समेत बनाउन सक्नुहुन्छ,”  क्लब हाउसका सञ्चालक आदेश बताउँछन् ।

क्लबहाउस सिफलका संचालक आदेश गौतम

क्लबहाउसमा तीन किसिमका सेवा उपलब्ध छन् । पहिलो ‘को–वर्किङ स्पेस’, दोस्रो फुड एण्ड बेभरेज अर्थात् क्याफे अनि रेस्टुराँ र तेस्रो वेलनेश सर्भिस अर्थात् प्राकृतिक तरिकाले उपचार गर्ने ‘आरोग्य आश्रम’ 

को-वर्किङ स्पेसमा अध्ययन गर्दै एक विद्यार्थी

धेरैजसो क्याफे,  रेस्टुराँहरूमा खानपिन, मोजमस्ती गर्न अनि तत्कालीन राजनीतिमा के भइरहेको छ ? नेताहरू के बोले ? कुन कलाकार के गर्दैछन् ? बजारमा कस्तो फेसन आयो ? जस्ता कुराहरूमा बहस गर्नको लागि  मानिसहरू भेला हुने गर्छन् । तर क्लबहाउसमा भने यस बाहेक अफिसियल  काम गर्न, पढ्न, मिटिङ गर्न, अध्ययन अनुसन्धान गर्न मानिसहरू आउने गरेका छन् ।    

क्लबहाउसले शान्त वातावरणमा व्यक्तिगत तथा सामूहिक रुपमा काम गर्नको लागि ‘को–वर्किङ स्पेस’को राम्रो तथा सुलभ व्यवस्था गरेको छ अनि खर्च पनि सार्है कम; १ जनाको लागि १ घण्टाको मात्र ४० रुपैयाँ’। प्रतिघण्टाको दर त छँदै छ तर कोही व्यक्ति वा संस्थाले हप्ता वा महिना दिनभरी त्यहाँ बसेर काम गर्न चाहन्छ भने उनीहरूका लागि सहुलियत रुपमा विषेश छुटको पनि व्यवस्था रहेको आदेश बताउँछन् ।

एकैपटक १६ जनासम्म सहजै अटाउने को–वर्किङ स्पेस

को–वर्किङ स्पेस’ जहाँ आफ्नो छुट्टै कार्यालय नभएका विभिन्न संघसंस्था, कम्पनीहरूका व्यक्तिहरू कुनै एउटा साझा ठाउँमा आएर काम गर्ने थलो हो । अफिस फर्निचर र उपकरणहरूमा खर्च गर्ने ठूलो रकम नभएका विशेषतः स्टार्ट-अपहरुले यस्तो अभ्यास गर्ने गरेका छन् । काठमाडौं लगायत नेपालका केही शहरहरूमा यो अभ्यास अहिले प्रचलनमा छ । काम गर्ने ठाउँ पनि चाहिने र खर्च पनि कम हुने विकल्पका लागि ‘को–वर्किङ स्पेस’ले ठुलो मद्दत गर्ने भएको कारण क्लबहाउसमा यो सेवा ल्याएको आदेश बताउँछन् ।

“आर्थिक रुपमा सुलभ अनि गुणस्तरीय सेवा खोज्ने व्यक्तिहरू, जो स्टार्टअप हुनुहुन्छ, विद्यार्थी वा उद्यमी नै हुनुहुन्छ उहाँहरूलाई आरामसँग आफ्नो काम गर्न सक्ने वातावरण दिन सकियोस् भनेर हामीले को–वर्किङ स्पेसको व्यवस्था गरेका हौँ” 

यसरी को–वर्किङ स्पेस लिनेहरूको लागि क्लबहाउसमा इन्टरनेटको व्यवस्था रहेको छ । साथै आफूलाई टेबल कुर्सीमा बसेर काम गर्न मन छ अथवा भुईँमा चकटीमा बसेर काम गर्न चाहनेहरूका लागि पनि यहाँ सोही अनुकुल व्यवस्था रहेको छ । यहाँ १६ जनासम्म सँगै बसेर मिटिङ, सेमिनार गोष्ठी गर्न मिल्ले हल पनि रहेको छ । चिया, कफीसँगै यहाँ उपलब्ध खाजाका लागि भने तोकिएको शुल्क तिर्नुपर्ने हुन्छ ।

प्राकृतिक हिसाबले योगा, ध्यान गर्न चाहनेहरूका लागि पनि छुट्टै ठाउँ ‘आरोग्य आश्रम’को व्यवस्था छ क्लबहाउसमा । यहाँ आफूलाई उपयुक्त हुने समय लिन सकिन्छ, यसको लागि प्रति घण्टाको हिसाबले पैसा लाग्ने छ ।

क्लबहाउसमा रहेको प्राकृतिक विधिमार्फत योगा, ध्यान र उपचार गरिने आरोग्य आश्रम

त्यसो त क्लबहाउसमा खुल्ला, शान्त वातावरणका साथै चेस, लुडो लगायतका खेलहरू पनि आफ्ना साथीसर्कलसँग बसेर खेल्न सकिन्छ । बालबालिकाहरूको लागि पनि यहाँ खेल्ने सामाग्रीहरू राखिएको छ । यसरी सबै कुरा व्यवस्थित तरिकाले गरिएको हुँदा बालक, युवा, बृद्ध जुनसुकै उमेर समुहका व्यक्तिहरू यहाँ आएर रमाउन सक्छन् भन्छन् आदेश ।     

झन्डै डेढ दशकदेखि विद्यार्थीहरूलाई पढाउँदै सिकाउँदै आइरहेकाले क्लबहाउसलाई पनि एउटा सिक्ने थलोको रुपमा विकास गर्ने योजना रहेको आदेश बताउँछन् ।

“सिक्न चाहनेले सिक्न पाउनु पर्छ भनेर हामीले यहाँ कोही विद्यार्थीहरू आँउछन्, साथै कोही अनुभवी व्यक्तिहरू आउँछन् भने उनीहरूले ति सिक्न चाहने विद्यार्थीलाई आफ्नो अनुभव, सुझाब, सल्लाह दिन सक्छन् ।”  

धेरैलाई क्लबहाउसको अवधारणा नौलो लाग्न सक्छ । आदेशका अनुसार ग्राहकलाई आफ्नो योजनाबारे बुझाउन नै सबै भन्दा ठूलो चुनौती रहेको छ । तर पनि आफू र आफ्ना सहयोगीहरूले सक्दो कोसिस गरेको उनी बताउँछन् ।   

समय समयमा क्लबहाउसमा विभिन्न सांगीतिक, साहित्यिक, सीप विकासका कार्यक्रम पनि हुने गर्दछ

“हामीले आफ्नो सेवाहरूको बारेमा यहाँ आउने व्यक्तिहरूलाई बुझाएर, बिभिन्न व्यक्ति, संघसंस्था, कार्यालयहरूमा गएर भन्ने गरेका छौं, बिस्तारै हामीलाई फोन कलहरू आईरहेका छन् । ”        

काठमाडौं लगायतका ठाउँमा धेरैले आफ्नो निजी काम क्याफे, रेष्टुरेन्ट, होटलमा गएर गर्ने गर्छन । तर ति ठाउँहरू महङ्गो हुने हुँदा कतिलाई आर्थिक भार पर्ने गरेको छ । यस्ता व्यक्तिको लागि क्लबहाउस उपयुक्त ठाउँ हो, भन्छन् आदेश । 

क्लबहाउस सिफलका संचालक आदेश गौतमका साथमा कर्मचारीहरू

“हाम्रो उद्देश्य भनेको नै जो, स्टार्टअप हुनु हुन्छ, जो विद्यार्थी हुनुहुन्छ, जो रिसर्चर हुनुहुन्छ र जो  आफ्नो छुट्टै कार्यालय स्थापना गर्न अहिले अनुकुल अवस्थामा हुनुहुन्न उहाँहरूको लागि सहज होस् भनेर  यस्तो सेवा ल्याएका हौँ  । कोही यस्तो व्यक्ति हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुन्छ”

हेर्नुहोस् भिडियो: क्लबहाउस सिफल- राजधानीमा खुलेको एउटा फरक हस्पिटालिटी सेवा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *