प्रवासमा नेपाली: पत्रकार होम कार्कीको अनुभव (भिडियो)

जीविको २०८० वैशाख १० गते २१:११

एक दशकभन्दा बढी समयदेखि वैदेशिक रोजगारीका विविध सवालमा रिपोर्टिङ गर्दै आएका होम कार्कीले खाडी मुलुकसँगै मलेसिया, दक्षिण कोरिया, लेबनानसम्म पुगेर फिल्ड रिपोर्टिङ गरेका छन् । वैदेशिक रोजगारीकै विषयमा उनको पुस्तक ‘सनैया’ प्रकाशित छ । हामीले यसपटक पत्रकार होम कार्कीसँग प्रवासमा उनले देखेका नेपालीहरूको अवस्था समेटेर कुराकानी गरेको छ ।

हेर्नुहोस् भिडियो: प्रवासमा नेपाली – पत्रकार होम कार्कीको अनुभव

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था, बाध्यता, नेपाली दूतावासको काम, समस्यामा परे कसरी आवाज उठाउने साथै मिडियामा आउने कस्ता सामाग्री हेर्ने जस्ता विषयमा जीविको संवादमा उनले व्यक्त गरेको धारणा:

वैदेशिक रोजगारीमा नेपालीहरुले कस्तोसम्म काम गर्नुपर्ने बाध्यता छ ?

तपाईं जहाँ जानुस्, जसलाई भेट्नुस् नेपाली नै भेटिन्छ । क्याम्पतिर पनि नेपाली कै बाहुल्यता देखिन्छ । पहिलेपहिले वैदेशिक रोजगारीका लागि जाने नेपालीहरू धेरै जसो कन्स्ट्रक्सन क्षेत्रमा हुन्थे । अहिले सकारात्मक कुरा के छ भने ति क्षेत्रमा गएकाहरू त्यही कम्पनीमा आन्तरिक प्रतिस्पर्धा गर्दै प्रशासनिक निकायमा पुगेका पनि छन् । अनि अर्को कुरा कम्पनीमा तलदेखि माथिसम्मकै पोस्टमा नेपालीहरू रहेका छन् । 

बाहिरको तापक्रम झन्डैझन्डै ५० डिग्रीको हाराहारीमा, त्यहाँ एक छिन उभिन सकिदैन । तर पनि त्यहाँ काम गर्ने नेपालीहरू बाहिर सडकको छेउमा खनिराखेका छन्, झुन्डिएर काम गरिरहेका छन् । यो  कसरी सकेका होलान्, हामीलाई ५\१० मिनेट त्यहाँ उभिन गाह्रो पर्छ, एकछिनमा पसिना पसिना भएर मान्छे त्यही ढल्ला जस्तो हुन्छ भने लगातार ७ \८ घण्टा त्यहाँ मानिसहरू कसरी बस्न सक्छन् ? कस्तो तागतले त्यहाँ काम गरी रहेका होलान् भन्ने मलाई जहिले पनि खुल्दुली लागिरहेको हुन्छ ।        

प्रकृया नपुर्‍याई अन्य कस्ता माध्यमबाट नेपालीहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ?

कसैले भिजिट भिसामा भनेका हुन्छन्, कसैले चाँहि ‘आजाद भिसा’मा आइज,यहाँ आएपछि छानीछानी काम, भने जत्ति तलबमा लगाइदिन्छु भनेर बोलाउने त्यता ट्रेण्ड छ त्यसरी पनि गएका छन् ।

प्रकृया पुर्‍याएर जाँदा पनि समस्यामा परे कसरी आवाज उठाउने ?    

त्यहाँको श्रम कानुनअनुसार मेरो कम्पनीले मलाई ढाँटी रहेकोछ भन्ने थाहा पाए त्यहाँको कानुन अनुसार मलाई यस्तो खालको अधिकार दिएको छ, त्यो अधिकारको लागि म लड्न सक्छु भन्ने तहमा आफूलाई विकास गर्नुपर्छ । समुहमा भए, सबै सङ्गठित भएर जाँदा उनीहरूको कुरा त्यहाँ रहेको दुतावास, कम्पनी अनि त्यहाँको सरकारले पनि सुन्ने रहेछ, तर व्यक्तिगत रुपमा जाने हो भने एक व्यक्तिको मात्र कुरा कसैले नसुन्ने रहेछ ।

नेपाली दूतावासले कस्तो काम गरेको पाउनुभयो ?

दूतावासले काम नै नगरेको भन्ने होइन, आफ्नो श्रोत साधनअनुसार काम गरिरहेको छ । जति जनशक्ति हुनु पर्ने हो त्यो त छैन तर आफूसँग भएको जनशक्तिले जति सेवा दिन सकेको छ, दिएको छ । कतिलाई सुरक्षा दिएको छ, तलब नपाउनेलाई कम्पनीबाट तलब दिलाइदिएको छ, त्यो ठीक छ । यती भन्दैमा हामीले चाहेको जस्तो दूतावासको जस्तो उपस्थिति हुनु पर्ने त्यो चाहिँ छैन । 

वैदेशिक रोजगारीमा रहँदा कस्ता कुराहरू ख्याल गर्ने ? 

दबिएर कोही पनि बस्नु आवश्यक भएन एउटा कुरा, अनि अर्को भनेको आफ्नो दायित्व पनि सम्झनु पर्‍यो, म कहाँ आएको, कसरी आएँ, के उद्देश्यले आएको हो त्यो बुझ्नुपर्‍यो । आउनु अघि वैदेशिक रोजगारीमा रहेका साथीभाइसँग सल्लाह गरेर आएको राम्रो ।  

करारपत्रमा हस्ताक्षर गर्दा ध्यान दिनुपर्‍यो । राज्यले बनाएको दायारामा त्यो करारपत्र छ, छैन त्यो हेर्नुपर्‍यो । करारपत्रमा लेखेअनुसार भएन भने सम्बन्धित निकायमा जानु नै पर्छ । नियम र कानुनले तोकेको बाटोमा चाँहि हिँड्नु नै पर्छ । त्यो भन्दा बाहिर निस्कने बित्तिकै उ जोखिमको घेराभित्र पर्छ । जतिखेर जे पनि हुन सक्छ । उ राज्यले बनाएको कानुनी सेवाबाट बञ्चित हुन पनि सक्छ ।  

वैदेशिक रोजगारीमा हुनेले मिडियामा आउने कस्ता सामाग्री हेर्ने ?   

पारिवारिक विवादलाई लिएर जुन अहिले सामाजिक सञ्जालमा कति घटनाहरू देखाईरहेको हुन्छ, त्यसले गर्दा वैदेशिक रोजगारीमा रहेकाहरूलाई बढी मानसिक तनाव श्रीजना गर्छ । त्यो बाट जोगिन उता बस्नेले कस्तो खालको कन्टेन हेर्ने त ?

मिडियामा आउने त्यस्ता सामाग्री हेर्ने जसले गर्दा मज्जाले काम गर्न सकियोस्, पारिवारिक बेमिलन नहोस्, भ्रमपूर्ण सूचनाबाट जोगिन सकियोस् । तथ्यगत सूचना पाउने खाले समाचार हेर्ने गर्नुपर्दछ । कस्तो खाले मिडियालाई फलो गर्ने भन्ने कुरामा अली बढी सचेत हुनुपर्छ भन्ने चाँहि अहिले देखिन थालिएको छ ।

हेर्नुहोस् भिडियो: प्रवासमा नेपाली – पत्रकार होम कार्कीको अनुभव

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *