आवश्यक थियो तर हतासमा आयो – वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९

एकाएक एनओसी खारेज गर्छु भन्न मिल्छ ?

प्रतिक ढकाल २०८० वैशाख ६ गते २०:०४

“सपना देखेको छ खोलापारीको त तर म भने खोला तर्न नसक्ने बटुवा झैँ भए । खोला तरेर पारी जानै नसक्ने भएँ,” उच्च शिक्षाका लागि जापान जान भनेर भाषा अध्ययन गर्दै गरेका पाँचथर आङसराङका सुजन लुँइटेल (२२)ले गुनासो पोखे ।

स्नातक तहको अध्ययन गर्छु, सँगै केही काम पनि गर्छु भनेर झापामा प्रविणता तह सक्काएर सुजन काठमाडौं छिरेका थिए । काठमाडौंमा स्नातक पढ्दै जागिर खान्छु भन्ने सपना देखे पनि अवसर नभेटिएपछि उनमा नैराश्यता छायो। 

यही बीच जापानिज भाषा पढ्दै गरेका केही साथीहरूसँग उनको कुराकानी बढ्दै गएपछि उनलाई पनि जापान जाने हुटहुटी बढेर गयो । 

जापान नै जाने भनेर भाषा सिक्न कस्सिएका सुजनले यता स्नातकको पढाइ पनि छाडे ।

भाषा पढ्दापढ्दै सरकारको सूचना आयो – अब भाषा पढ्न जापान जान पाइँदैन, एनओसी दिन बन्द भयो ।

पढ्नका लागि भनेर देश छोड्ने युवाहरूको सङ्ख्या बढेपछि सरकारले हालै एनओसी (अध्ययन अनुमति पत्र) दिन कडाइ गरेको छ । शिक्षा मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ ले भाषा कोर्षका लागि एनओसी नदिने प्रष्टसँग उल्लेख गरेको छ, यसैको चपेटामा परेका हुन् सुजन ।

“म त छाँगाबाट खसेँ झैँ भयो, सपना नै तुहिएझैँ लाग्यो । यता नेपालमा पढाई छाडेको थिएँ उता  जापान अब जान नपाइने भयो । कता के गर्ने केही सोच्नै सकेको छैन,” सुजनले दुःख सुनाए । 

पछिल्ला वर्षहरूमा उच्च शिक्षाका लागि भनेर जापान जाने विद्यार्थीको सङ्ख्या बढेसँगै नेपालमा पनि ठूलो सङ्ख्यामा विद्यार्थीहरू प्लस टु साथै ब्याचलरको परीक्षा सक्काएर जापानिज भाषा अध्ययनका लागि कन्सलटेन्सी पुग्छन् । 

फागुन महिनामा विदेशमा अध्ययन गर्ने भनेर एनओसी लिने विद्यार्थीको कुल सङ्ख्या २५ हजार १५२ रहेको थियो जसमध्ये जापानका लागि मात्र आठ हजार ९१ जनाले एनओसी लिएका थिए । नेपाली विद्यार्थीको जापान मोह बेग्लै नै छ ।

आर्थिक वर्ष २०७७/७८ मा शिक्षा मन्त्रालयले निकालेको तथ्याङ्कलाई हेर्दा नेपाली विद्यार्थीका लागि त्यस वर्ष सबैभन्दा आकर्षक गन्तव्य जापान बनेको थियो । 

सोही वर्ष नेपालबाट जापानका लागि आठ हजार १ सय ४६ विद्यार्थीले एनओसी लिएका थिए । 

त्यसपछिको वर्षमा पनि जापान जाने मोह घटेको देखिएन आर्थिक वर्ष २०७८-७९ मा आउँदा यो सङ्ख्या गुणात्मक हिसाबले बढेको देखिन्छ ।

हाल जापानिज भाषा कति विद्यार्थीले पढिरहेका छन् भन्ने यकिन तत्थ्याङ्क नभएपनि यो तथ्याङ्कले विद्यार्थीहरूको जापान मोहलाई प्रस्ट्याउँछ । सरकारले गरेको यस निर्णयबाट सुजन जस्ता हजारौँ विद्यार्थी जो जापानमा अध्ययनसँगै रोजगारीको सपना देखिरहेका थिए उनीहरू मार्कामा परेको यकिन गर्न सकिन्छ ।

उच्च शिक्षाका लागि जापान जान्छु भनेर सबै कुरालाई त्यागेर भाषा सिकिरहेका अर्का पात्र हुन् म्याग्दीका २२ वर्षीय रिजन थापा । जापानिज भाषा पढ्नकै लागि भनेर म्याग्दीबाट काठमाडौंसम्म आएका उनी बालकोटमा डेरा गरेर पुतलीसडकमा अध्ययन गर्दै थिए । 

जापान जाने नै उनको लक्ष्य थियो तर सरकारले जापान जाने विद्यार्थीहरूलाई एनओसीको नदिने भएपछि उनी यता न उताका भए । 

उनी भन्छन्, “यूरोप-अष्ट्रेलिया जाउँ भने पनि अंग्रेजी खासै जान्दिन, घरबाट जापान नै जान्छु भनेर काठमाडौं आएँ, तर सरकारले जापान जान रोक लगाएपछि म बज्रपातमा परेँ”

आजकल उनी दैनिक एनओसी खारेजीलाई लिएर हुने आन्दोलनमा पुग्छन् । आन्दोलनले एनओसी सम्बन्धि निर्णय फर्किएला कि भन्ने उनको आश छ ।

एनओसी विवाद टुंगो लगाउन भन्दै आन्दोलत विद्यार्थीहरू

किन बन्द गरियो जापान एनओसी ?

शिक्षा मन्त्रालयले “वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९” जारी गरेसँगै नेपाली विद्यार्थीहरू जापानमा पढ्न जाने सपना हाललाई सकिएको छ । निर्देशिकाले भाषा र डिप्लोमा कोर्ष पढ्नका लागि एनओसी दिन रोक लगाएसँगै जापानमा पढ्न जाने विद्यार्थीका लागि बाटो बन्द भएको हो ।

निर्देशिकामा उल्लेख भएअनुसार १२ कक्षा पढेर प्रि-डिप्लोमा पढ्न जाने साथै भाषा अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरूले अब एनओसी नपाउने भएका हुन् ।

जापानले आफ्ना कलेज तथा विश्वविद्यालयमा पढ्नु अगाडि जापानिज भाषा परीक्षा अनिवार्य गरेको छ । जापानमा अध्ययन गर्न जाने विदेशी विद्यार्थीहरूका लागि विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न नेपालमा प्लस टु सम्मको पढाइ सक्काएर जापानको भाषा स्कुलले पढाउने जापानिज भाषा कोर्समा कम्तीमा पनि १ वर्ष अध्ययन गर्नुपर्ने हुन्छ । जापानमा १ वर्षदेखि २ वर्षसम्म भाषा पढिसकेपछि मात्र स्नातक पढ्न पाउने व्यवस्था छ ।  

“वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९” ल्याएपछि यसको चौतर्फी विरोध भइरहेको छ । विदेश अध्ययनमा जानका लागि एनओसी पाउनुपर्ने माग गर्दै विद्यार्थीहरूले विरोध प्रदर्शन पनि गरिरहेका छन् ।

“हामी लगायत ECAN साथै ८ वटा सङ्घहरूले संयुक्त रूपमा एनओसी खारेजी माग गर्दै शिक्षामन्त्री अशोक राईसँग ज्ञापनपत्र बुझायौँ । आश गरौँ सरकारले ल्याएको निर्देशिका चाँडै खारेज हुन्छ,” राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष सन्तोष प्याकुरेलले सुनाए । 

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९ खारेजको माग गर्दै शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष लगायत

यसरी विचारै नगरी एनओसी खारेज गर्दा सबैकुरा माया मारेर वैदेशिक शिक्षाका लागि तयारी गरिरहेका विद्यार्थीहरूको भविष्यमाथि खेलवाड हुने उनको तर्क छ ।

“हजारौँ विद्यार्थीहरू क्यानडा जानेले अफर लेटर निकाल्ने बेला भएको छ जापानिज भाषा पढ्ने विद्यार्थीहरूको डकुमेन्टेसन प्रोसेस गर्ने बेला भएको छ यसरी,” उनी थप्छन् “निर्देशिका खारेजी हुने वा परिमार्जन कुरा आएको छ आधिकारिक सूचना भने आएको छैन” सरकारले यसरी झटपट गरेको निर्णयले धेरैको भविष्यमा प्रभाव पर्ने उनी बताउँछन् ।

उनी भन्छन्, “सरकारलाई झटपट निर्णय गर्न सजिलो छ तर यसरी झटपट गरेको निर्णयले विद्यार्थीमा कस्तो प्रभाव पर्छ भन्ने बुझ्न जरूरी छ । निर्णय त तत्काल भयो परिमार्जन गर्न वा निर्णय उल्ट्याउन भने सहज छैन । आश गरौँ चाँडै सरकारले गरेको उक्त निर्णय परिमार्जन हुन्छ ।”

सरकारले ल्याएको वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका हतासमा सोच बिचार नपुर्याई गरिएको निर्णय भन्छन् शिक्षाविद् डा. विद्यानाथ कोइराला । 

उनी भन्छन्, “ब्याचलर सक्काएर परिपक्व भएर मात्र उच्च शिक्षा पढ्न विदेशिनु भनेर सरकारले गरेको निर्णय आफैँमा गतल छैन । तर, स्वदेशी विश्वविद्यालयको अवस्था नहेरी गरिखाने खालको व्यवहारिक शिक्षा छ कि छैन त्यो कुरा बिचार नगरी निर्देशिका ल्याउँदा झनै ठूलो समस्या निम्तिन्छ ।”

सरकारले यसरी निर्देशिका ल्याउनु अगाडि सम्बन्धित सरोकारवालासँग परामर्श तथा समन्वय गर्नुपर्ने उनको तर्क छ । 

“सरकारले सुरुवातमा त विश्वविद्यालयसँग शैक्षिक संस्थाहरूसँग शिक्षा गुणस्तर कसरी बढाउन सकिन्छ उपाय के के हुन सक्छन् भन्नेबारे परामर्श गर्नुपर्थ्यो । विद्यार्थीसँग बसेर पनि गरिखान सक्छौ सक्दैनौँ नेपालमा यी यी सम्भावना छन् भनेर देखाउन सक्नुपर्थ्यो तब निर्णय लिएपनि ति विदेशिन चाहेका विद्यार्थी मर्कामा पर्ने थिएनन्,” डा. विद्यानाथ भन्छन् । 

शिक्षा मन्त्रालयका सहसचिव कृष्ण प्रसाद काप्री भने एनओसी खुलाउने सम्बन्धमा हाल निर्णय नआइसकेको बताउँछन् । 

उनले जीविकोसँगको छोटो कुराकानीमा उनले ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ परिमार्जनका बारेमा ठूला निर्णय नभएको र भएपनि आफैँसँग उक्त सूचना आइनपुगेको बताउँछन् । 

ठोस निर्णय आउने बित्तिकै मन्त्रालयको वेबसाइटमा सूचना प्रकाशित गरेर जानकारी गराइने उनको भनाई छ । 

एनओसी बन्द भएसँगै १ सय १७ वर्ष पछि रोकियो नेपाली विद्यार्थीको जापान जाने सपना 

राइजिङ नेपालले प्रकाशित गरेको प्रविण श्रेष्ठले लेखेको एक लेखमा नेपालबाट अध्ययनका लागि जापान जाने विद्यार्थीहरूको इतिहास लेखिएको छ । जसअनुसार सन् १९०२ जुन १७ मा पहिलोपटक नेपालबाट ८ जना विद्यार्थीको समूह अध्ययनका लागि भनेर जापान पुगेको थियो । 

त्यसबेलाका तत्कालीन प्रधानमन्त्री देव शमशेरले नेपाली विद्यार्थीहरूलाई जापानसम्म पुर्याउने मेलोमेसो मिलाएका थिए । यसरी जापान जाने नेपाली विद्यार्थीको टोलीमा जंगनरसिंह राणा र देवनरसिंह राणा,भक्तबहादुर बस्नेत र बालनरसिंह रायमाझी,विचारमान सिंह, रूद्रलाल सिंह तथा हेमबहादुर राजभण्डारी, दीपनरसिंह राणा रहेका थिए । 

यही लेखसँग मेलखाने इतिहासबारे नेपाल खोजमा इतिहासकार सुनिल उलकले  पनि एक लेख लेखेका छन् । उनले लेखेका छन्, त्यससमय नेपालबाट मात्र अध्ययन गर्नका लागि भनेर विद्यार्थीहरू जापान जाँदैन थिए । जापानी भिक्षु इकाई कावाचुकी सन् १८९९ तीर नेपाल भ्रमणमा आएसँगै जापानी विद्यार्थीहरूका लागि अध्ययनका लागि नेपालको ढोका खुलेको थियो । यसरी जापानबाट नेपाल आउने विद्यार्थीहरू विशेषत: नेपाली भाषा, संस्कृति, संस्कृत र पूर्वीय दर्शन अध्ययनका लागि भनेर आउने गर्दथे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *