भिडियो: वैदेशिक रोजगारीमा हुँदा बिरामी भए यसरी अनलाइनबाटै भेटौँ डाक्टरलाई

जीविको २०७९ चैत १७ गते ११:५१

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै वैदेशिक रोजगार बोर्डले चैत्र १५ गतेबाट निःशुल्क टेलिमेडिसिन सेवा सुरु गरेको छ ।

भिडियो: वैदेशिक रोजगारीका क्रममा बिरामी भए यसरी भेट्नुहोस् अनलाइनबाटै डाक्टरलाई

कामदार रहेकै देशबाट अनलाइनबाट सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या डाक्टरलाई बताउन सकिन बोर्डले जनाएको छ । बोर्डका अनुसार अब विदेशमा काम गर्ने नेपालीले भाईबर, ह्वाट्सएप वा इमो मार्फत कल गरेर अन्य स्वास्थ्य समस्यासँगै आफ्नो मनोसामाजिक समस्या पनि डाक्टरलाई बताउन सक्नेछन् जुन कुरा पूर्णरुपमा गोप्य रहनेछ ।

कामदारका स्वास्थ्य समस्या सम्बोधन गर्न विशेषज्ञ डाक्टरको टोली नै यस कार्यमा लागेका छन् । वैदेशिक रोजगारीमा रहेकाले यो सेवाको अधिक उपयोग गर्न बोर्डका प्रवक्ता राजन पौडेलले आग्रह गरेका छन् ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता राजन पौडेलले जीविकोसँगको कुराकानी गर्दै निःशुल्क टेलिमेडिसिन सेवाका बारेमा यसो भने:

………..

वैदेशिक रोजगार बोर्डका प्रवक्ता राजन पौडेल

टेलिमेडिसिन सेवा वैदेशिक रोजगार बोर्डले सुरुवात गरेको छ । यस सेवा मार्फत वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न देशमा रहनुभएका नेपालीहरूले अनलाइन मार्फत डाक्टरहरूसँग परामर्श लिन सक्नुहुन्छ । यो टेलिमेडिसिन लिन चाहने नेपाली श्रमिकहरूले ९८५१३४५७०१ ९८५१३४५७०२ यो दुईवटा नम्बरमा रहेको भाइबर ह्वाट्सएप वा इमोमा उहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ । यहाँ सम्पर्क गरिसकेपछि मेडिकल अधिकृतहरूले यो सुविधा उपलब्ध गराउनुहुन्छ ।

फोनबाट सम्पर्क गर्न चाहने श्रमिकहरूलाई सुरुवातमा मेडिकल अधिकृतले परामर्श दिनुहुन्छ । यदि उक्त परामर्श मात्र पर्याप्त नभएको खण्डमा प्रत्येक शुक्रबार र आइतबार हामीले विशेषज्ञ डाक्टरको सेवा उपलब्ध गराइदिन्छौँ ।

टेलिमेडिसिनको सेवा २०७९ चैत्र १५ गतेबाट सुरुवात भएको छ । पहिलो दिन ११ जनाले हाम्रो टेलिमेडिसिन सेवा लिनुभएको छ । जसमध्ये ३ जनालाई हामीले विशेषज्ञ सेवाका लागि सुझाएका छौँ । उहाँहरूलाई आगामी शुक्रबार वा आइतबार विशेषज्ञ सेवा लिनका लागि अनुरोध गर्दछौँ ।

 यो सेवा पूर्णतया निःशुल्क सेवा हो । यो सेवा लिन चाहने वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले सार्वजनिक बिदाको दिन बाहेक प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्पर्क गर्न सक्नुहुनेछ । अधिकांश गन्तव्य मुलुकहरूमा रहने श्रमिकहरू धेरैजसो खाडीमा हुनुहुन्छ । जहाँ शुक्रबार सार्वजनिक बिदा पर्ने हुन्छ । त्यसैले विशेषज्ञ सेवालाई हामीले शुक्रबार र आइतबारमा सीमित गरेका छौँ ।

भिडियो मार्फत सेवामा आउनका लागि चाहिँ सेवाग्राहीले अनलाइन आउनै पर्ने हुन्छ । जुन तरिकाले हामीले डाक्टरसँग परामर्श गराउँछौँ परामर्श गरिसकेपछि हामीले सेवाग्राहीलाई आवश्यक औषधीका लागि प्रेस्क्रिप्सन दिने गर्छौँ । औषधी भने अहिले हामीले उपलब्ध गराएका छैनौँ । डाक्टरबाट परामर्श लिइसकेपछि नेपालमा रहेका मेडिकलहरू मार्फत औषधी किनेर उहाँहरूका आफन्तले गन्तव्य मुलुकसम्म पठाउन सक्नुहुन्छ ।

श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले टेलिमेडिसिन सञ्चालन कार्यविधि स्वीकृत गरेको छ । यसले दुईवटा चरणमा काम गर्ने रोडम्याप तयार गरेको छ । जसअन्तर्गत पहिलो चरणमा अनलाइन मार्फत यो सुविधा दिने काम सुरु भइसकेको छ । दोस्रो चरणमा भने धेरै भन्दा धेरै नेपाली श्रमिक काम गर्ने गन्तव्य मुलुकमा उहाँहरू रहेकै ठाउँमा गएर टेलिमेडिसिन सेवा दिनसक्ने चरणको पनि परिकल्पना गरेको छ । यदि धेरै भन्दा धेरै सेवाग्राहीले अहिले सञ्चालन गरिरहेको टेलिमेडिसिन सेवा लिनुभयो, उहाँहरूलाई यो सेवा प्रभावकारी लाग्यो भने आगामी बजेटमा हामीले भौतिक रूपमा नै यो सेवा दिने गरि कार्यक्रम अगाडि बढाउँछौँ । हामीलाई अहिले यो सेवा सुरुवात लागि दबाब परेको कारण चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई विशेषगरि नसर्ने किसिमका रोगहरू लागेको पाइएको छ । त्यहाँको अस्वस्थकर खानपान प्रतिकुल वातावरणका कारणले गर्दा गन्तव्य मुलुकहरूमा रहनुभएका श्रमिकहरूलाई क्यान्सर, ब्रेन ह्यामरेज, मुटुसम्बन्धी रोगहरू लागेको पाइएको छ । विगतको १४ वर्षमा झण्डै १२ हजार श्रमिकहरू दिवंगत भइसक्नुभएको छ । यसरी नसर्ने रोगहरूको प्रकोप वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई बढी देखिएका कारणले यस्ता रोगहरूको प्रकोपलाई नियन्त्रण कसरी गर्न सकिन्छ, यो सङ्ख्या न्यूनिकरण कसरी गर्न सकिन्छ भन्नका लागि हामीले यो भूमिका खोजिएको छ र हामीले काम पनि गरिरहेका छौँ । 

यो भिडियो हेरिरहनुभएको धेरैका आफन्तहरू वैदेशिक रोजगारीमा रहनुभएको छ होला उहाँहरूले विदेशमा रहेका आफ्ना आफन्तहरूलाई टेलिमेडिसिन सेवा लिनका लागि प्रोत्साहित गरिदिनुहुनका लागि अनुरोध गर्दछु ।  

जो जो नेपाली श्रमिकहरू विदेशमा हुनुहुन्छ उहाँहरूले यो सेवा लिनका लागि कुनै हिचकिचाहट नराख्नुहोस् । कसैसँग मानसिक समस्या होला यदि छ भने आफ्ना कुराहरू राख्नुहोस् । यो टेलिमेडिसिनको सेवा पूर्णतया गोप्य पनि रहनेछ । 

त्यसैले यो सेवालाई सबैले प्रयोग गरौँ । यदि तपाईँहरूले सेवा लिएको खण्डमा यो सेवा अझ प्रभावकारी बन्नेछ र यसलाई थप सुदृढ बनाउँदै लैजान हामीलाई पनि सकारात्मक दबाब पर्नेछ । सकारात्मक दबाबको अपेक्षा हामी यहाँहरूबाट अझ धेरैभन्दा धेरै गर्न चाहन्छौँ । 

हेर्नुहोस् भिडियो: वैदेशिक रोजगारीका क्रममा बिरामी भए यसरी भेट्नुहोस् अनलाइनबाटै डाक्टरलाई 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *