काम नलागेर मिल्काएको सामानबाट दैनिक १२ हजार कमाइ

एउटा फरक सोचले सुरु भएको उद्यम कथा

बिना सुनार २०७९ फागुन १२ गते १६:३३

तनहुँ भस्नपुरकी ज्ञानु पराजुली (४७) ले बाल्यकालमा राम्रोसँग मोटर गाडीसम्म देखेकी थिइनन् । गाउँमा बाटो थिएन, उनलाई सदरमुकाम खासै आइरहनुपर्ने थिएन । बेला मौका दमौली आउँदा ज्ञानुले मोटर बाटो अनि गाडी देख्थिन्, तर गाउँमा चाहिँ गाडी चढ्ने सुविधा थिएन । झण्डै ३ दशक अगाडि ज्ञानु तनहुँबाट काठमाडौं आइन् । काठमाडौं आएपछि असनको गल्लीमा उनले चुरा पोतेको व्यवसाय सुरुवात गरिन् ।

काठमाडौंमा ठुल्ठुला घर, बाटो, मोटरगाडी देखेर ज्ञानुलाई गाउँको याद झलझली आउँथ्यो । आफ्नो गाउँमा सामान लानु परे कि त भरिया नभए घोडा वा खच्चरको प्रयोग गर्नु पर्ने बाध्यता थियो । कोही बिरामी भए बोकेर नै अस्पताल पुर्‍याउन पर्ने अवस्था छँदै थियो ।

ज्ञानु भन्छिन्, “गाउँमा दुःख थियो  । न मोटर थियो, न बाटो नै  । कोही बिरामी परिहाले हत्तपत्त स्टेचरमा  कुदाउनुपर्थ्यो ।”

२०५६ सालतिर ज्ञानुले काठमाडौंमा ‘पोखरेली वेडिङ्ग हाउस’ खोलेर व्यापार सुरु गरिन् । व्यापारबाट बिस्तारै आर्थिक लाभ हुन थालेपछी उनले गाउँका मानिसहरूलाई स्वास्थ्य उपचारमा केही सहजता होस् भन्ने ठानेर बिरामी बोक्नलाई डोली (उलिनकाठ) बनाउन लगाइन् । डोकोमा अनि स्टेचरमा बिरामी बोकेर अस्पतालसम्म लैजानुभन्दा डोलीमा बस्न अनि बोक्न सहज हुन्थ्यो । ज्ञानुले बनाउन लगाएको डोलीले गाउँमा केही वर्ष बिरामी ओसार्ने काम गर्‍यो । समय चल्दै गयो गाउँको अवस्था पनि केही हदसम्म सुध्रिन थाल्यो  ।

ज्ञानु पराजुली, सञ्चालक- पोखरेली वेडिङ्ग हाउस

गाउँमा मोटरबाटो सँगसँगै मोटर गुड्न सुरु भयो । केही वर्ष अघि घन्टौँ हिँडेर सदरमुकाम आई गाडी चढेर काठमाडौं आएकी ज्ञानुले गाउँमा मोटर पुगेको देखिन् । गाउँमा विकासको गति बढेको देखेर उनलाई खुशी लाग्यो । तर आफूले गाउँमा बिरामीलाई उपचार गर्न अस्पताल लानको लागि बनाएको डोली थन्किएको देखेर दुःख ।

मोटर पुगेपछि डोली त्यसै थन्किएको थियो । उनलाई लाग्यो मेहनत लगाएर बनाएको डोलीलाई केही काममा उपयोग गर्न पाए सहज हुन्थ्यो । ज्ञानुले गाउँमा फालिएको डोलीलाई गाडीमा राखेर काठमाडौं ल्याइन्, अनि विवाहमा प्रयोग गर्न डोली भाडामा दिने निधो गरिन् ।

उनले डोलीलाई विवाहमा प्रयोग गर्न सकिने गरी सिँगारिन् । डोली तयार भयो, तर लोप भइसकेको डोलीमा बेहुलाबेहुलीले बोक्ने प्रथा हटिसकेकोले यसको प्रयोग हुने हो वा होइन भनेर चिन्ता चाँहि लागि रह्यो ज्ञानुलाई । तर ग्राहकहरूलाई उनको डोली आइडिया धेरै मन पर्‍यो । बिस्तारै  डोलीको माग पनि बढ्न थाल्यो ।

पोखरेली वेडिङ्ग हाउसमा उपलब्ध डोली

ज्ञानुसँग एउटा मात्र डोली थियो । ग्राहकहरूले डोली यती रुचाए कि माग धन्न हम्मे हम्मे नै भयो । उनले गाउँमा फेरी नयाँ डोली बनाउन भनिन्, तर डोली बनाउने व्यक्तिको मृत्‍यु भैसकेको हुँदा उनले अरु कालिगढ भेटिएनन् । तर एउटा अर्को पुरानो डोली भेटियो जुन ज्ञानुले पहिला बनाउन लगाएको डोलीसँगै बनाइएको थियो ।  

उनले त्यो डोली पनि सजाई भाडामा दिन थालिन् । अहिले ज्ञानुसँग दुई वटा डोली छन् । दुईवटा डोली भएपनि सिजनमा उनलाई माग धान्न मुस्किल पर्छ । कतै पनि डोली बनाउने कालिगढ नभएकाले नयाँ डोली थप्न सम्भव छैन ।

“कति ग्राहकहरू त डोली भाडामा पाइएन भनेर रिसाउनु हुन्छ, पुरानो चलन फेरी ब्युँतिएको छ, डोली माग भएको देख्दा खुसी पनि लाग्छ, माग पुर्‍याउन नसक्दा दुःख पनि ।” ज्ञानुले सुनाइन् ।

उनले एक दिन डोली भाडामा दिएबापत १० देखि १२ हजार रुपैयाँसम्म लिने गर्छिन् । विवाहको सिजनमा ज्ञानुले डोली भाडामा लगाएर नै लाखौँ कमाउँछिन् ।

उनी भन्छिन्, “आम्दानी पनि छ, लोप हुन लागेको चलन फेरी सुरु भएको छ, म  खुसी छु ।” 

विवाहमा प्रयोग भएको पोखरेली वेडिङ्ग हाउसको डोली

ज्ञानुले डोली बाहेक पनि विवाह, व्रतबन्ध, मेहन्दी, पास्नीमा प्रयोग गर्ने छाता, माना, पाथी, चाँदीका सरसामानहरू पनि भाडामा राखेकी छिन् । त्यसबाहेक बेहुला-बेहुलीको लुगा, कस्मेटिक चुरा, पोतेजस्ता सामान पनि पोखरेली वेडिङ्ग हाउसमा  पाइन्छ ।

ज्ञानुले २३ वर्षअगाडि चुरा पसलबाट सुरुवात गरेको व्यापार अहिले २ वटा भएको छ । डेढ लाख लगानीबाट  सुरु गरेको व्यवसायमा अहिले  २५ लाख माथिका सरसामानहरू छन् । अझ डोलीलाई भाडामा दिने काम सुरु गरेपछि त उनको व्यापार झनै फस्टाएको छ । 

ज्ञानुको व्यवसायलाई उनको श्रीमान र दिदीले पनि साथ दिएका छन्, भने ३ जनलाई उनले रोजगारी दिएकी छिन् । त्यसो त ज्ञानुले कति महिलाहरूलाई  सीप सिकाएर घरमै फुर्सदको समयमा गर्न सकिने काम पनि दिएकी छिन्, जसले गर्दा महिलाहरूले घरमै बसिबसी आम्दानी गरीरहेका छन् । विषेश गरी महिलाहरूलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्य राखेकी ज्ञानुले यही व्यवसायबाट राम्रो आम्दानी गरिरहेकी छिन् । आगामी दिनमा पनि यसरी नै डोली जस्तै नयाँनयाँ सामानहरू ल्याएर व्यापार अगाडि बढाउने उनको सोच रहेको छ ।

उनी भन्छिन्, “हाम्रो मौलिक परम्परागत संस्कृति झल्कने किसिमका सामानहरूलाई प्रवर्द्धन गर्दै व्यवसाय अगाडि लैजाने सोचेकी छु । अहिले थोरैलाई मात्र रोजगारी दिएकी छु । भविष्यमा व्यवसाय बढाएर यो सङ्ख्यालाई अझै बढाउँदै लैजाने सोच छ ।”

हेर्नुहोस्, एउटा फरक सोचले सुरु भएको उद्यम कथा: काम नलागेर मिल्काएको सामानबाट दैनिक १२ हजार कमाइ गरिरहेकी ज्ञानु पराजुलीको भिडियो कथा

कथा/ निर्देशन: बिना सुनार
फोटो/भिडियो: पुष्कल श्रेष्ठ

……………………

डोली तथा विवाह, व्रतबन्ध, पास्नी, मेहन्दी लगायतका लागि चहिने सामान भाडामा वा खरिद गर्न र उनको व्यवसायको बारेमा थप बुझ्नका लागि: पोखरेली वेडिङ्ग हाउस, इन्द्रचोक – काठमाडौं, सञ्चालक : ज्ञानु पराजुली

सम्पर्क:  ९८५११४१७१२  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *