त्यसपछि लक्ष्मीले फाल्ने कुरालाई पाल्ने कुरा बनाइन्.. (भिडियो)

बिना सुनार २०७९ फागुन ४ गते १५:५४

२०५० साल तिर ललितपुर पाटनकी लक्ष्मी नकर्मी (४८) क्याम्पस पढ्ने गर्थिन् । भविष्यमा के गर्ने भनेर योजना त बुन्दै थिइन्, तर ठ्याक्कै योजनाले मूर्तरूप भने पाएको थिएन । सानैदेखि वरिपरि पाइने सरसामानलाई कलात्मक रूप दिएर हस्तकलाका सामाग्री बनाउन सिपालु थिइन् उनी । तर उनले आफ्नो रुचिलाई रोजिरोटी बनाउने योजना भने बनाइसकेकी थिइनन् । 

यसै क्रममा लक्ष्मीलाई उनको मिल्ने साथीले जन्मदिनमा निमन्त्रणा गरिन् । साथीलाई उपहार दिनका लागि उनीसँग पैसा थिएन तर यही बहानाले मिल्ने साथीको जन्मोत्सव छुटाउने मन पनि थिएन । यिनै कुराहरू सोचेर टोलाउँदै बसेकी लक्ष्मीले आफ्नो घरको आँगनमा फालेको मकैको खोस्टा देखिन् । उनकी आमाले मकै छोडाएर खोस्टा भने फाल्नका लागि थुपारेकी थिइन् । यिनै खोस्टाबाट उपहार बनाउने जुक्ति फुर्यो लक्ष्मीलाई । उनको साथीलाई लक्ष्मीले बनाएको हस्तकला खुबै मनपर्र्‍यो अनि  साथीहरूकै प्रेरणा र हौसलामा मकैको खोस्टाबाट उद्यम गर्ने योजना बनाइन् उनले । 

मकैको खोस्टाबाट तयार पारिएको हस्तकला, फोटो : लक्ष्मी नकर्मी

लक्ष्मीलाई पनि लाग्यो ‘यसलाई नै व्यवसाय बनाउन सके त राम्रै हुने रहेछ, यसबाट नै आयआर्जन पनि गर्न सकियो भने मेरो पढाई खर्चसँगै घर व्यवहार चलाउन पनि सजिलो हुने थियो । त्यहीँमाथि आफ्नो रुचिको विषय पनि ।’  आफ्नी आमाले फ्याँक्न राखेको मकैको खोस्टाबाट हस्तकला बनाएर साथीलाई उपहार दिएकी लक्ष्मीले यसैलाई अब उद्यमको मेलो बनाउने अठोट गरिन् ।

क्यापसबाट घर आएपछि आफ्ना दिदीबहिनीसँग व्यवसाय सुरु गर्ने कुरा राखिन् । दिदीबहिनी पनि उत्साहित बने । त्यसपछि ४ दिदी बहिनीको सल्लाह पछि सुरू भयो सिस्टर्स क्रिएसन्स ।त्यही बेलादेखि व्यवसायिक पार्टनर बने उनी र उनका ३ दिदी बहिनी । व्यवसायिक सहयात्रा झनै बलियो हुँदै  गएको छ ।  “मकैको खोस्टामै जीवनको ३ दशक चलाउन त सजिलो छैननी, ” मुसुक्क हाँस्दै ललितपुर पाटनकी लक्ष्मीले भनिन् ।

२० वर्षको उमेरमै उद्यमको बाटो हिँड्न सुरु गरेकी लक्ष्मीले तीन दशकदेखि यही उद्यमलाई निरन्तरता दिइरहेकी छिन् ।लक्ष्मी भन्छिन्, “हामी ४ बहिनीले किशोर अवस्था पनि खोस्टालाई रङ्गाएर नै बितायौँ, अहिले पनि यसैसँग खेल्दै छौँ,  हाम्रो सम्बन्ध जति अटुट छ त्यति नै मजबुत छ हाम्रो व्यवसायिक सहयात्रा ।”

साथीभाइको सल्लाह र दिदीबहिनीको साथको कारण लक्ष्मीले मकैको खोस्टाको सामान बनाउने व्यवसाय त सुरु गरिन् तर व्यवसायिक उतारचढावले भने उनीहरूलाई चुनौती दियो । व्यवसाय सुरु  गरेपछि बजार खोज्नुपर्ने चुनौती पहिलो थियो  । लक्ष्मीले बजार खोज्न थालिन्, यही क्रममा उनलाई १० हजार रुपैयाँको अर्डर आयो ।पहिलो अर्डर नै उनको व्यवसायिक यात्रालाई गति दिने आधार बन्यो । यद्यपि,  स्थिर बजार नहुँदा अहिले पनि लक्ष्मीलाई आफ्नो सामानको उत्पादन, बजार, उचित मूल्य जस्ता कुराले सकस दिइरहन्छ ।  

मकैको खोस्टाबाट तयार पारिएको हस्तकला, फोटो : लक्ष्मी नकर्मी

“आफ्नो पढाई ज्ञान सीप सबै यहीँ छ, त्यहीँ माथि १०\१२ जनाको घर यहीँबाट चलाउनु छ । चुनौती नै नहुने उद्यम त कहाँ हुने रहेछ र ?” लक्ष्मीले सुनाइन्। 

नेपालमा हस्तकलाको बजार अझै पनि त्यति धेरै उकासिएको छैन त्यसमाथि घरेलु साना उद्योगले बजार पाउनु भनेको त बिरलै मात्र हो । यो कुरालाई लक्ष्मीले गहिराइमा बुझेकी छन् त्यसैले त आफ्नो उद्यममा कार्यरत कर्मचारीहरूको आवश्यकतालाई सधैँ सुरुवातमा राखेर हिँड्छिन् लक्ष्मी । अप्ठ्यारो समयमा त गरगहना समेत बेचेर कर्मचारी पालेको बताउँछिन् उनी ।   

सञ्चालक लक्ष्मी नकर्मी

“मसँग काम गर्ने दिदीबहिनीहरू मध्ये ७ जनाले न सुन्न सक्नुहुन्छ न त बोल्न नै सक्नुहुन्छ । उहाँहरूले गरेको मेहनतलाई बजार नपुर्‍याएसम्म मलाई निन्द्रा नै लाग्दैन तर यो त्यति सजिलो भने छैन,” उनी भन्छिन्, “मैले सोचेको र गर्छु भनेर लागेको पेसा नै यही हो । उतारचढाव आएर डगमगाएको भए २८ वर्ष यो पेसा कहाँ गर्न सकिन्थ्यो र ? मसँग काम गर्ने दिदीबहिनीलाई सामान नबिक्दा समेत पनि तलब दिएर राखेकी छु,”  

आफ्नो कम्पनीमा बनेका खोस्टाका सामाग्रीहरू बेच्नका लागि भनेर अहिले पनि लक्ष्मी मार्केटिङमा हिँडिरहेकी भेटिन्छिन् । कहिले विभिन्न प्रदर्शनीमा पुग्छिन् त कहिले विद्यालय, सरकारी कार्यालयहरू र पसल मार्टहरूमा पुग्छिन् । कतै आश्वासन पाउँछिन् त केही ठाउँमा आफ्ना उत्पादन बेच्न पनि भ्याउँछिन् । उनी मकैको खोस्टा भेला पार्न काठमाडौं वरपर सुनाकोठी, गोदावारीसम्म पुग्ने बताउँछिन्  ।

२८ वर्षमा आर्थिक रूपमा ठूलो सफलता नपाए पनि लक्ष्मीले यो पेसाबाट हार मानेकी छैनन्, उनी निरन्तर बिहानबाट नै कम्पनी र बजारको लागि  देखिरहन्छिन् । तीन दशकदेखि आफूले गर्दै आएको उद्यमलाई देश विदेशसम्म पुर्‍याउने धोको छ । जीवनको ३ दशक मकैको खोस्टामा  लगाएकी उनलाई यसकै माध्यमबाट देशको धर्म अनि संस्कृतिलाई चिनाउन चाहना छ ।  

मकैको खोस्टाबाट तयार पारिएको हस्तकला, फोटो : लक्ष्मी नकर्मी

लक्ष्मी थाकेकी छैनन्  । उनको निरन्तरको मेहनतले अहिले केही रङ्ग ल्याउन थालेको छ  । गरगहना सबै बेचेर पनि उद्यम नछाडेकी उनको कम्पनीको खर्च अहिले मकैका खोस्टाबाट बनेका हस्तकलाका सामाग्री बेचेर पूरा हुन थालेका छन् ।

उनी भन्छिन्, “यो २८ वर्षमा उद्यमलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने सीप र ज्ञान आर्जन गरेकी छु । मेरो उमेर गएको छैन, ४८ वर्षको भएता पनि युवा नै छु जस्तो लाग्छ । भविष्यमा यही उद्यमलाई अझ आगाडि बढाउँछु अनि धेरैभन्दा धेरैलाई रोजगारी दिन्छु । मकैको खोस्टाबाट बनेका हस्तकलाका सामाग्रीलाई देशको चिनारी बनाउने मेरो ठूलो धोको छ, यो पूरा नगरी मैले विश्राम लिने छैन।” 

हेर्नुहोस्, मकैको खोस्टाबाट हस्तकलाका सामाग्री बनाउने उद्यम चलाइरहेकी लक्ष्मी नकर्मीको जीविको कथा (भिडियो)

…………………..

उनले उत्पादन गरेका हस्तकलाका सामाग्री किन्नका लागि र उनको उद्यमका बारेमा थप बुझ्नका लागि:

सिस्टर्स क्रिएसन्स, पाटन-ललितपुर, सञ्चालक लक्ष्मी नकर्मी

सम्पर्क: ९८४१४५९४७२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *