सुदूरका माधवको लोकसेवा अनुभव: पहिलो प्रयासमा असफल, दोस्रोमा एक नम्बर ! (भिडियो)
लोकसेवा परीक्षा दिने अनि निजामती कर्मचारी हुने कुनै योजना नै थिएन सुदूरपश्चिम, कञ्चनपुर बेलौरीका माधव भण्डारीको । कृषि विषय पढेका माधवले चितवनमा विद्यार्थीलाई प्रवेश परीक्षा तयारीका लागि पढाउने गर्थे । त्योसँगै साथीहरूसँग मिलेर केयर फार्म मार्फत कुखुराको व्यवसाय पनि गर्ने गर्थे उनले ।
अध्ययनलाई निरन्तरता दिँदै माधवले अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पनि गरे।
स्नातकोत्तर गर्दा माधवले लोकसेवाका बारेमा वृहत रुपमा बुझ्न पाए । कृषि फार्म गर्दा भोगेको प्रशासनिक जटिलता र स्नातकोत्तर गर्दा बुझेको सार्वजनिक प्रशासनको व्यापकतालाई मनन गरेर उनलाई यो क्षेत्रमा प्रवेश गर्ने सोच आयो । परराष्ट्रको परीक्षा दिएका माधवले समय व्यवस्थापन गर्न चुक्दा पहिलो प्रयासमा सफलता पाउन सकेनन् । दोस्रो प्रयासमा माधवले समय व्यवस्थापन, अध्ययन र लेखन शैलीको विकास गर्न खुबै ध्यान दिए । दोस्रो प्रयासमा पास भइन्छ भन्नेमा आशावादी भएका माधवको नाम शाखा अधिकृतको पहिलो नम्बरमा थियो । गत वर्ष २०७८ सालको शाखा अधिकृतको लोकसेवा परीक्षा टप गरेका हुन् माधवले । हाल उनी अर्थ मन्त्रालयमा कार्यरत छन् ।
उनै ‘लोकसेवा टपर’ माधव भण्डारीसँग जीविकोले उनको लोकसेवा तयारी अनुभव समेटेर भिडियो संवाद गरेको छ । यो संवादमा उनले आफ्नो अनुभवसँगै लोकसेवा तयारी गरिरहेकाहरूलाई केही सुझाव पनि दिएका छन् । प्रस्तुत छ, नेपाल सरकारका शाखा अधिकृत माधव भण्डारीसँगको संवाद:
भिडियो हेर्नका लागि युट्युब लिंक क्लिक गर्नुहोस् ।
सुदूरको माधव भण्डारी लोकसेवामा एक नम्बर हुनुभन्दा अगाडिको तयारी कस्तो थियो ?
तयारी चाहिँ पक्कै थियो । मैले लोकसेवाको बारेमा थाह पाएकै काठमाडौंमा अन्तराष्ट्रिय सम्बन्ध विषय अध्ययन गर्दा हो । त्यसपछि परराष्ट्रमा अधिकृत पदमा विज्ञापन खुलेको थियो ६ जनाको लागि । त्यसबेला राम्रै तयारी गरेँ तर समय व्यवस्थापन नजान्दा दोस्रो पत्र राम्रोसँग लेख्न सकिन । तर, त्यही तयारीले पछि भएको परीक्षा राम्रो भयो । मैले ६ महिना डटेरै पढेको हो तर एक डेढ वर्षको तयारी पनि उत्तिकै बलियो थियो । समय व्यवस्थापन, लेखन शैलीको विकास जस्ता कुराहरूमा भने मैले राम्रो तयारी गरेको थिएँ ।
लोकसेवा तयारी गर्छु भनेर पहिला नै सोच्नुभएको थियो ?
मेरो सुरुवाती योजना लोकसेवा परीक्षा दिने भन्ने थिएन । कृषि पढ्नका लागि चितवन आएँ र बागवानीमा मास्टर्ससम्मको पढाई सक्काए पछि म लगायत केही साथीहरू कृषिमा नै केही गरौँ भन्ने सोचेर चितवनमा एउटा केयर नामक संस्था खोल्यौँ ।
यही संस्थाबाट हामीले विद्यार्थीलाई प्रवेश परीक्षा तयारीका लागि पढाउने र फूलखेती, कुखुरा पालन गर्यौ । तर त्यो बेला हाम्रो उत्पादनको मूल्य घट्ने बेला परेर घाटामा गयो । यसरी ब्यापार घाटामा गएपछि त्यसलाई उकास्न नसके पछि हामीले फार्म छाड्यौ । त्यसपश्चात, मेरो पहिले देखिनै पढाई राम्रो भएको कारण सबैले लोकसेवातिर तयारी गरेर नाम निकाल्नु पर्छ भन्ने सुझावहरू दिन थाल्नु भयो । । अनि मलाई पनि सक्छु जस्तो लाग्यो त्यसपछि किन लोकसेवा नलड्ने भनेर तयारी सुरु गरे । पहिले त टेक्निकल फिल्डबाट आएको हुनाले यो बारे केही थाहा नै थिएन । पछि बल्ल २५ \ २६ वर्ष हुँदा थाहा पाए र यसमा लागे ।
लोकसेवामा सफल हुन अथवा लोकसेवामा नाम निकाल्नको लागि केके कुराले भूमिका खेल्ने रहेछ ?
आफ्नो अनुभवले मात्र भन्न सकिने रहेछ यो कुरा । सबैको छुट्टाछुट्टै अनुभव पनि होला तर मेरो अनुभवमा चाँहि कसरी आफ्नो उत्तरलाई प्रस्तुत गर्ने भन्ने कुरा मुख्य हो जस्तो लाग्यो । त्यस्तै, सम्बन्धित विषयमा बुझाईको गहिराइ र लेखन शैली पनि महत्वपूर्ण छ । आफ्नो लेखाइमा तथ्याङ्कलाई पनि कसरी राखिन्छ भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अर्को भनेको सबै कुरालाई कसरी बुझ्ने भन्ने पनि मुख्य हो । अनि प्रश्न ले के सोधेको छ, त्यही प्रश्नको सेरोफेरोमा रहेर लेख्छ या लेख्दैन भन्ने हो ।
कतिपय कुराहरू पढेरै जान्ने र पढेर मात्र आउने भन्ने कुरा पनि होइन । अन्य बाहिरी कुराहरू पनि जान्न जरुरी छ । तयारी गर्दा पनि हामी कुन विषय हो त्यसलाई नै फोकस भएर उत्तर दिने गर्नुपर्दछ । मुख्य विषयलाई केन्द्रित गर्न सक्नुपर्छ । समय व्यवस्थापन र प्रभावकारी लेखन शैलीको विकास गर्नुपर्दछ ।
प्रत्येक वर्ष ठूलो संख्याले लोकसेवा तयारी गर्छन् तर वर्षौँसम्म नाम निकाल्न भने सक्दैनन् ? यसका कारण के हुन सक्लान् ?
यसमा चाहिँ आफूले विद्यालय वा कलेज स्तरमा कस्तो किसिमको पढाई गरेको छ भन्ने कुराले पनि निर्भर गर्छ । आफूले अध्ययन गर्ने क्रममा नै वाक्य कस्तो बनाउँछ, शब्दको प्रयोग कसरी गर्छ, वाक्यको संरचना कसरी तयार गर्छ भन्ने कुराले पनि महत्व राख्छ । तर, यी आधारभूत कुराहरूलाई सुधार नगरी लोकसेवाको तयारीको चरणमा पुग्ने हुँदा त्यसको असर परीक्षामा पनि पर्न जान्छ ।
मैले नै पनि आफूसँग लोकसेवा तयारी गर्ने साथीहरूलाई भेट्दा ज्ञानका हिसाबले वहाँहरू निक्कै अब्बल पाउँथे तर जहाँसम्म मलाई लाग्छ परीक्षा दिँदा उत्तर प्रस्तुत गर्ने शैली वहाँहरूको मेरो भन्दा फरक भएको हुनसक्छ, त्यसैले नतिजा राम्रो नआएको हुनसक्छ ।
अर्को चाहिँ ठूलो प्रतिस्पर्धा हुने क्षेत्र भएका कारण सानो गल्तीले पनि नतिजामा ठूलो असर पारेको हुन्छ त्यसैले त्रुटि चाहिँ पटक पटक हेरेर सुधार गर्ने बानी आगाडिबाट नै बसाउनु पर्छ ।
पहिलो र दोस्रो पटकमा के फरक तयारी गर्नुभयो ?
प्रथम पटक मैले तयारी गर्दा टेस्टहरू दिन गइन तयारीमा मात्र केन्द्रित भएँ । तर दोस्रो पटक भने मैले तयारीसँगै सँगै मकटेस्टहरू पनि दिएँ जसले गर्दा मलाई उत्तर लेख्ने कुरामा सजिलो भयो । पहिलो पटक मैले समय व्यवस्थापन पनि जानिन । तर दोस्रो पटक त्यसमा पनि ध्यान दिएँ । दोस्रोपटक परीक्षा दिँदा लेखनशैलीलाई अझ धेरै सुधार गरेँ ।
तपाईंले लोकसेवा परीक्षा टप गरेपछि तपाईंको निकट साथी सर्कलमा कस्तो सन्देश गयो ?
सुदूरपश्चिमबाट काठमाडौं आएर लोकसेवामा टप गरिरहँदा मेरो निकट साथीभाईहरुले उत्प्रेरणा पाएको सुनाउनुहुन्छ । यसभन्दा अगाडि सुदूरपश्चिमबाट लोकसेवा टप गर्नेहरू बिरलै थिए होला ।
मैले लोकसेवा उत्तीर्ण गरेपछि मसँगै प्राविधिक पढेका साथीहरूले पनि अप्राविधिकको तयारी गर्न थाल्नुभएको छ । आफू पछाडिका भाइबहिनीमा पनि लोकसेवा पढ्नुपर्छ तयारी गर्नुपर्छ भन्ने ज्ञान सोच पलाएको पाएको छु ।
तपाईंले कस्ता किसिमका प्रतिवद्वता लिएर निजामती सेवामा प्रवेश गर्नुभएको छ ?
निजामती क्षेत्रमा प्रवेश गरेपछि धेरै ठूलो प्रतिवद्धता गर्नुपर्छ भन्ने चाहिँ छैन। तोकिएको काम सबै गर्नसके त्यतिले नै पुग्छ । तर काम किन यती ढिलो हुन्छ, म भए त चाँडो गर्ने थिएँ भन्ने हुन्थ्यो तर काम गर्ने प्रक्रिया नै यस्तो हुने रहेछ कि चाहेर पनि त्यो चाँडै गर्छु भन्न नसकिने रहेछ । मेरै कुरा गरौँ, पहिले सुरु सुरुमा राती ११ बजेसम्म पनि बसेर काम गरे तर जति खटे पनि त्यो काम भ्याइने रहेनछ । अझ म त नियम कानुन बनाउने ठाउँमा छु, सेवामा होइन । सिधै नागरिकसँग काम गर्नु पर्ने त होइन तर अलिक फरक ढंगले, आधुनिक तरिकाले नयाँ टेक्नोलोजी अपनाएर काम गर्ने तरिका बदल्नु पर्छ जस्तो लाग्छ मलाई । हाम्रो काम गर्ने सिस्टम नै नफेरी एक्लैले गर्छु भनेर नहुने रहेछ । अब चाहिँ आउँदै गरेको नयाँ पुस्तालाई सिस्टममा राख्न सके निजामती क्षेत्र बदलिन सक्छ । त्यसैले अबको नयाँ टिम, नयाँ टेक्नोलोजी बुझेकोहरूले सबै सिस्टमलाई परिवर्तन गर्नसके सबै कुरा एउटा विधि र पद्धतिमा जान्छ अनि हामी सबै काम समयमै गर्न सक्छौँ ।
तपाईं निजामति सेवामा प्रवेश गरिसकेपछिको अनुभव चाहिँ कस्तो रह्यो?
मैले नाम निकालिसकेपछि अर्थमन्त्रालय अन्तर्गतको वैदेशिक सहायतासम्बन्धी महाशाखामा काम गर्ने भनेर माग गरेको थिएँ सोही अनुरूप मैले त्यही ठाउँमा नियुक्ति पनि पाएँ । मेरो पढाई अनुसारको नै काम गर्न पाउँदा आत्मसन्तुष्टि पनि मिलेको छ । तर, निजामती क्षेत्रमा घुलमिल हुन केही समय भने अवश्य लाग्यो । मैले मास्टर्ससम्मको अध्ययन कृषि क्षेत्रमागरेको हुँ तर त्यहाँ पढेको र त्यहाँबाट लिएको ज्ञान भने अहिले प्रयोग भएको छैन जसले गर्दा थोरै दुःख भने अवश्य लाग्छ ।
निजामती क्षेत्रमा मेरो परिवारको कोही पनि सदस्य अहिलेसम्म आवद्ध नरहेकोमा मैले चाहिँ यही क्षेत्रमा काम गर्न पाउँदा एक किसिमको खुसी चाहिँ लाग्ने रहेछ तर निजामती कर्मचारी भइसकेपछि एउटा स्वतन्त्रता भने केही हदसम्म सकिने रहेछ भन्ने अनुभूति भएको छ। एकैपटक सयौँ कर्मचारी
काम गरिरहँदा त्यसलाई व्यवस्थापन गर्ने काम चाहिँ एक किसिमको बेग्लै चुनौती हुनेरहेछ ।
तपाईं त पढाइमा अब्बल हुनुहुन्छ, उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाउँ जस्तो लागेन ?
विदेश जान्छु भन्ने त कहिले पनि मेरो दिमागमा आएन, त्यो त मैले सोच्दै सोचिन भन्दा पनि हुन्छ ।
अर्को कुरा मलाई बाहिर गएर पढ्न सकिन्छ भन्ने पनि थाहा भएन । तर अहिले चाँहि अन्तर्राष्ट्रिय स्तरको एउटा डिग्री चाँहि चाहिने रहेछ भन्ने महसुस गरेको छु । तर पलाएन नै हुने चाँहि कहिले पनि सोचिन । राम्रो अवसर पाएमा पढ्नको लागि जाने तर पछि यही आएर आफूले जानेका पढेका कुराहरू यहाँ नै प्रयोग गर्ने सोच भने अहिले पनि छ ।
वर्षौदेखि लोकसेवा तयारी गरिरहेकाहरुलाई तपाईंको सुझाव के छ ?
लोकसेवा भनेको एउटा निष्पक्ष मोडल हो । यसको राम्रोसँग तयारी गरे लिएको ज्ञानलाई राम्रोसँग प्रस्तुत गर्नसके सफलता भेटिन्छ । पहिलोपटक मैले पनि लोकसेवामा सफलता नपाउँदा थोरै खिन्नता भएको थियो तर समय फेरिन्छ । सफलता पाउने पनि दिन आउँछ भन्ने ठानेर आफ्नो तयारीलाई निरन्तरता दिए सफलता भेटिन्छ ।
किताब धेरै जानिराख्नु पर्दैन, मुख्य कुरा जान्नुपर्छ । समय व्यवस्थापन विषयगत ज्ञान को गहिराइ र त्यसलाई प्रभावकारी रुपमा लेख्न सक्ने हो भने लोकसेवा परीक्षामा राम्रो नतिजा आउन सक्छ ।
लोकसेवा तयारी गर्नुहुने साथीहरूले तयारी गर्दागर्दै अन्य क्षेत्रको पनि राम्रो ज्ञान लिनुभएको हुन्छ, त्यसैले लोकसेवा बाहेकका पनि अन्य क्षेत्रहरू छन् भन्ने सोच गर्नुपर्छ । उद्यम गर्ने, व्यवसाय गर्ने सोच पनि लोकसेवा तयारी गर्ने विद्यार्थीहरूले राख्नुपर्छ ।
अबको योजना के छ ?
अबको योजना जुन क्षेत्रमा मैले काम गरिरहेको छु, त्यही क्षेत्रको कामलाई अगाडि बढाउने छु । यही क्षेत्रमा विज्ञता हासिल गर्दै जाने योजना छ ।
तपाईंले पढ्नुभएको कृषि क्षेत्रलाई चाहिँ भविष्यमा निरन्तरता दिने लक्ष्य छ कि छैन ?
कृषिसँग त म सधै जोडिइरहनेछु । अहिलेपनि विभिन्न माध्यमबाट यस क्षेत्रमा काम गरिरहनेछु । अवकाश पछि कृषिसँगै जोडिएर कामहरू गर्ने योजना बनाएको छु ।
स्वदेशमा अवसर नै नदेख्ने र विदेश पलायन मात्र विकल्प देख्ने युवाहरूलाई तपाईंको सुझाव के छ ?
देश र विदेशको तुलना गरेर नै युवाहरू पलायन हुने गरेका छन्, देशमा भनेजस्तो सेवा सुविधा नहुँदा विदेश जाने गर्छन् । युवा विदेशिँदा उत्पादन गर्ने सँगै उपभोग गर्ने दुबै जनशक्ति गुमाइरहेका छौँ ।
अहिले निराशा छाएर विदेशिनु भएकाहरूलाई चाहिँ सक्नुहुन्छ भने नेपालमा नै बस्नुहोस् भनेर भन्न चाहन्छु । गर्न खोज्दा केही न केही चाहिँ यो देशमा पनि छ है भनेर देखिएको छ । निजामती सेवामा पनि राम्रो अवसर छ । स्टार्ट अपमा नि राम्रो छ, हस्पिटालिटी र पर्यटनमा पनि उत्तिकै राम्रो अवसर छ । त्यसैले यहाँ नेपालमा गर्न खोज्दा तपाईंलाई मात्र होइन तपाईं सँगसँगै अन्य युवाहरूलाई पनि अवसरको बाटो बन्न सक्छ । त्यसैले विदेशिन चाहने सबैलाई नेपालमै अवसर खोज्नका लागि अनुरोध गर्दछु ।
हेर्नुहोस्, नेपाल सरकारका शाखा अधिकृत माधव भण्डारीसँगको जीविको संवाद । फोटो/भिडियो : पुष्कल श्रेष्ठ/जीविको