लोकल रक्सी ब्राण्डिङ गरे आर्थिक समृद्दि सम्भव छ : उषाकला राई (भिडियो)

प्रतिक ढकाल २०७९ माघ १९ गते २०:३४

सांस्कृतिक विविधताले भरिएको मुलुक नेपालमा ५० भन्दा बढी जातीले स्थानीय स्रोत साधनको प्रयोग गरेर रक्सी बनाउँछन् । स्वदेशी र विदेशी ब्राण्डका रक्सीहरू खुलमखुला हुने मुलुकमा नेपालले घरेलु तरिकाले सयौँ वर्ष अघिदेखि बनाएको रक्सी भने प्रहरी र प्रशासनले जफत गरेर नष्ट गर्ने गर्छन् । 

उषाकला राई लोकल रक्सी ब्राण्डिङ गर्नुपर्छ भनेर संसद् देखि सडकसम्म आवाज उठाउँछिन् । पाँच महिनाको लागि मात्र प्रदेश १ को सामाजिक विकास मन्त्री हुँदा लोकल रक्सी ब्रान्डिङका लागि उनले हदैसम्म पहल गरिन् । ‍ पहलको बावजुत पनि प्रशासनले लोकल रक्सीलाई जफत र नष्ट गर्ने काम कारबाही रोकेको छैन । उषाकला भन्छिन् “लोकल रक्सी ब्राण्डिङ गर्नुभनेको यो खाएर मात्तिएर लड्नु होइन यसलाई बेचेर आर्थिक समृद्दिका बाटोमा बढ्नु हो ।”

अहिले उषाकला अलि फुर्सदमा देखिन्छिन् । हाल पार्टीको जिम्मेवारीमा मात्र रहेकी राई अहिले केही फुर्सदमा देखिन्छिन् । संसद् नहुँदा पनि उनले आफ्नो अभियानलाई सेलाउन दिएकी छैनन् जिम्मेबारीमा मात्र रहेकी उषाकलाले संसद्‌भित्र नहुँदा पनि यो अभियानलाई भने सेलाउन दिएकी छैनन् । उनी भन्छिन्, “नेपालले आफ्नो मौलिक उत्पादनलाई बढवा दिनुपर्छ र विदेशी उत्पादनको आयातलाई निरुत्साहित गर्दै हामी आत्मनिर्भर हुनुपर्छ ।”

 लोकल रक्सी ब्राण्डिङको विषयलाई अनर्गल प्रचार गरिँदा अहिलेपनि दुई बोतल रक्सी पारेर जीविको धानिरहेका ग्रामीण भेगका महिलाहरूलाई राज्यले शोषण गरिरहेको उनले आरोप लगाइन् । लोकल रक्सी ब्राण्डिङ गरिँदा यसले बहुआयामिक विकास हुने उषाकलाको तर्क छ । राज्यले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने विषयमा गम्भीरता पूर्वक तदारुकता देखाउने हो भने दैनिक दुई हजार नेपाली युवा खाडीमा रगत र पसिना बगाउन परिवारसँग टाढिएर बस्नुपर्ने अवस्थाको अन्त्य छिट्टै हुनेमा उनी दृढ छिन् ।

जीविकोसँगको संवादमा प्रदेश १ कि पूर्व सांसद तथा पूर्व मन्त्री उषाकला राईले लोकल रक्सीलाई ब्राण्डिङ गर्नसके छोटो समयमै मुलुक आर्थिक रुपमा समृद्द हुने यथेष्ट कारण र आधारहरू प्रस्तुत गरिन् :

 ग्रामिण भेगका विपन्न महिलाको उद्यमको स्रोत हो – घरेलु रक्सी ।

सयौँ वर्ष अगाडिबाट नेपाली ग्रामीण भेगका महिलाहरूको जीविकोपार्जनको स्रोत घरेलु रक्सी बनेको छ । विशेषत दलित, जनजाति समुदायका महिलाहरूले बिहान र बेलुकाको गर्जो टार्न घरकै घ्याम्पामा रक्सी बनाउने अनि त्यसलाई बेचेर केही पैसा आर्जन  गर्दै आएका छन् । आफ्नो बारीमा नै उत्पादन भएका गहुँ, कोदो, चामलबाट रक्सी बनाउँदा आफ्नो बारीको उत्पादन पनि खेर नजाने र आम्दानी पनि हुने गरेको छ । खेत तथा बारीमा उत्पादित खाद्य बालीहरूले उचित मूल्य नपाउने समस्या विद्यमान हुँदा त्यही खाद्य पदार्थबाट उत्पादन भएको कोदो, गहुँ अनि चामलबाट बनेको घरेलु रक्सीले भने सन्तोषजनक आम्दानी दिने गर्दछ । यही रक्सी बेचेरै ग्रामीण समुदायका लाखौँ महिलाहरू स्वरोजगार बनेका छन् ।

 घरेलु रक्सी बहुआयामिक उद्यमको स्रोत हो ।

गाउँघरमा उत्पादित रक्सी मात्र आम्दानीको स्रोत हैन । घरमा नै लोकल रक्सी बनाउँदा यसको प्रभावबाट अन्य थुप्रै क्षेत्रबाट आम्दानी लिन सकिन्छ ।

जस्तो कि घरमा रक्सी बनाउँदा कोदो, गहुँ, जौँ जस्ता अन्य बाली रोप्ने क्रम बढेर जान्छ । त्यसका साथै रक्सी बनाएर बाँकी रहेका छोक्रा अनि खेर जाने पदार्थहरू बंगुर साथै अन्य पशुपन्छीको लागि आहारको स्रोत पनि बन्छ । त्यसैले त घरमा नै लोकल रक्सी बनाउँदा रक्सीबाट त फाइदा हुन्छ यसले अन्य बहुआयामिक फाइदा पनि लिएर आउँछ । 

लोकल रक्सी नेपालको पहिचान हो संस्कृति र गर्व हो ।

रक्सीले प्राचीनता बोकेको छ । घरमा आएका कोही पाउनलाई सत्कार गर्दा, स्वागत गर्दा रक्सी पनि राखेर स्वागत गर्ने प्रचलन नौलो होइन । अझ अधिकांश जनजाति साथै नेवार समुदायका मानिसहरूको विवाह, किरिया कर्म, पुजा आदिमा रक्सी अपरिहार्य नै हुन्छ । भेटघाट गफगाफमा प्रयोग गरिने रक्सीलाई आत्मियताको प्रतीक पनि भन्ने गरिन्छ । 

प्रयोग गर्न जान्ने हो भने औषधिय गुणले भरिपूर्ण छ नेपाली रक्सी ।

सीमित मात्रमा प्रयोग गर्न सके लोकल रक्सीमा औषधीय गुण पनि पाउने गरिन्छ । लोकल बनाउँदा प्रायजसो ल्वाङ्, सुकुमेल  रक्त चन्दन, गुँरास जस्ता जडिबुटी पनि मिसाउने चलन छ जसमा औषधीय गुण हुन्छ । साथै परम्परागत रूपमा घरमा नै बनाउने रक्सीमा पनि औषधीय गुण हुने धेरै डाक्टरहरूले पुष्टि गरिसकेका छन् । 

युवालाई देशभित्रै स्वरोजगार बनाउन सकिन्छ, श्रम रगत पसिना बगाउन खाडी पस्नुपर्दैन ।

अहिलेका धेरै विकसित देशहरूले पनि आफ्नो लोकल रक्सीलाई व्यवसायिकरण गरेर यथेष्ट कमाएका छन् । नेपालमा पनि ग्रामीण भेगका महिलाहरूले लुकिछिपि लोकल रक्सी बनाएर जीविको धानेका छन् । यदि नेपालको लोकल रक्सीलाई पनि ब्राण्डिङ गरेर यसलाई विश्वव्यापिकरण गर्ने हो भने यसबाट मनग्य आम्दानी उठाउन सकिन्छ जसका कारणले नेपाली दाजुभाइहरू श्रम र पसिना बगाउनकै लागि भनेर विदेशिनुपर्ने बाध्यता पनि सकिएर जान्छ । 

विदेशिले नेपाली रक्सीलाई आफ्नो उत्पादन भनेर बजारमा पुर्याइसके हामी अझै बहसमै सीमित छौं ।

जापानले उच्च ओहोदाका व्यक्तिहरू आफ्नो देशमा घुम्न आउँदा लोकल रक्सीले स्वागत गर्छ । चीनले पनि त्यहाँका राष्ट्र निर्माता माओका नाममा आफ्नो बेग्लै रक्सी बनाएको छ सोही रक्सी बेचेर चीनले मनग्य आम्दानी पनि लिइरहेको छ । दक्षिण कोरियामा सोजु नामको लोकल रक्सी बन्छ सो रक्सी बनाएर पनि मनग्य आम्दानी लिइरहेको छ । हामी भने लोकल रक्सी ब्राण्डिङ गर्नका लागि भनेर सानोतिनो बहस गरेरै बसेका छौँ अनि सीमित पनि छौँ । 

तीनपाने चाख्नै भनेर विदेशहरू नेपाल ओइरिन्छन् ।

लोकल रक्सी ब्राण्डिङ गर्न सके नेपालमा विदेशी पर्यटकहरू ओइरिन्छन्  । अर्गानिक स्वादको औषधीय गुण भएको लोकल रक्सी अनि त्यही किसिमको स्वागत भएपछि विश्वका जो कोही पनि नेपाल आउनका लागि लालहित हुनेछन् । 

हामीले अर्गानिक उत्पादन गर्दा पर्यटक बढ्ने कुरा दृष्टान्तमा पढेका छौँ देखेका छौँ । २०३३ साल अघिसम्म देशमा गाँजा वैधानिक हुँदा हिप्पी टुरिस्टको नेपालमा घुँइचो नै लाग्ने गर्थ्यो । यदि नेपाली रक्सीलाई पनि ब्राण्डिङ गर्न सके यसका पारखीहरू तीनपाने चाख्नका लागि भनेर नै नेपाल आउने छन् । 

लोकल रक्सी ब्राण्डिङका लागि प्रचार प्रसार  गर्न करोडौँ रकम खर्चिनै पर्दैन

नेपालमा कुनै पनि देशका उच्च अधिकारीहरूको राजकीय भेटघाट हुँदा रक्सीले स्वागत गर्ने चलन छँदै छ । तर विडम्बना नेपालमा यसरी रक्सीका ग्लासहरू चियर्स गर्दा विदेशी ब्राण्डका रक्सीहरू राखेर गरिन्छ । त्यसको ठाउँमा नेपाली लोकल रक्सीले स्वागत गर्ने हो भने नेपाली रक्सीको स्वाद विदेशी उच्च ओहोदाका अधिकारीहरूसम्म पुग्छ फलस्वरूप उनीहरूले नेपाली रक्सीको विज्ञापन गरिदिने काम पनि गर्छन् । ठूला सभा समारोह तीर लोकल रक्सीलाई समावेश गर्ने हो भने रक्सीको विज्ञापनका लागि हामीले गर्नुपर्ने अरबौँ रकम बच्नेछ । 

सानो लगानीमा सुरू गरेर उच्च प्रतिफल लिन सकिन्छ त्यो पनि छोटो समयमा 

खाद्यबाली उत्पादन गरेर मात्र हामीले जीविको धान्न नसक्ने परिवेश देखिसक्यौँ । उत्पादन भएका बालीले केही महिना घरमा खान पुग्ने परिवेश हुँदा त्यहीँ खाद्यबालीबाट लोकल रक्सी बनाउने हो भने मनग्य आम्दानी लिन सकिने परिवेश बन्नेछ । परम्परागत तरिकाबाट यसरी लोकल रक्सी बनाउँदा यसमा ठूलो लगानी लाग्दैन माटोको भाँडोमा आगोमा तताएर लोकल रक्सी बनाइने हुँदा कम लगानीमा यसबाट मनग्य प्रतिफल पनि लिन सकिन्छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *