२३ वर्षिय उद्यमी जसले युरोप बसेका बुबालाई मुलुक फर्काए 

बिना सुनार २०७९ माघ १७ गते २०:१२

कास्की पोखरा ३१ का श्रीराज बञ्जारा (४२) वर्षौँदेखि वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा बस्दै आएका थिए । कमाई राम्रो थियो । त्यहीँ माथि युरोपको स्थायी निवास कार्ड हातमा । प्रत्येक दिन युरोप जानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युवाहरूको लाइन लागिरहेको समयमा श्रीराज भने कार्ड त्यागेर नेपाल फर्के ।

नेपाल फर्कने वातावरण यसरी बन्छ भनेर उनले सोचेकै थिएनन् । आफू फर्कने कुरा त परै जाओस्  उनले आफ्नो छोरालाई पनि उतै सेटल हुनको लागि पोर्चुगल बोलाएका थिए । तर छोराको सोच भने फरक थियो । श्रीराजका छोरा प्रवेश बञ्जारा बाबुसँग विदेश जानु भन्दा नेपालमै कम्पनी खोल्नु उपयुक्त ठाने र २० वर्षकै उमेरमा नेपालमा केही गर्न सकिन्छ भन्ने भरोसा देखाएर आफ्ना बुबालाई यतै बोलाए ।

फोटो : प्रवेश बञ्जराबाट

देशमा सबैलाई कुर्सीको मोह छ सानादेखि ठूला नेता सबैलाई कुर्सी सार्है मन पर्छ । पोखराका २३ वर्षीय प्रवेशलाई भने त्यही कुर्सीले व्यवसायिक सफलता दिएको छ ।

उनी भन्छन्, “कुर्सीको लागि सबै हानथाप गर्छन्, मलाई पनि कुर्सी औधी मनपर्छ ।”

प्रवेशको पोखरा लेखनाथमा सेभेन लेक्स स्टिल फर्निचर एण्ड इन्जिनियरिङ नाम गरेको कम्पनी छ । उनको कम्पनीमा अफिस, पार्टी प्यालेस, सभा सम्मेलन, विद्यालय, सरकारी कार्यालय देखि घरायसी प्रयोग हुने सोफा, चियर, टेबल उत्पादन हुन्छ । यो व्यवसायबाट ३ वर्षको समयमा नै उनले व्यवसायिक छलाङ मारेका छन् ।

अहिले प्रवेशका बुबा पनि पोर्चुगल छाडेर छोरासँगै मिलेर काम गर्दै छन् । त्यतिबेला स्नातक पढ्दै गरेका उनले आफन्त अंकल भोजराज लामिछाने (५८) ले सञ्चालन गरेको सानो फर्निचर पसल देखेका थिए । त्यहाँ भोजराजले स्टिलका, काठका कुर्सी टेबल बनाउने गर्थे । प्रवेशलाई पनि व्यवसायको सोच सानै उमेरदेखि थियो । उनले यही सानो व्यवसायलाई व्यवस्थित गर्दै ठूलो उद्यम कसरी गर्ने भनेर सोच्न थाले ।

उनले लामिछानेसँग भएको सीप अनि आफूसँग भएको व्यावसायिक ज्ञानलाई जोडेर केही ठूलो आँट गर्ने सल्लाह गर्न थाले त्यसपछि जन्मियो सेभेन लेक्स कम्पनी ।

उनी भन्छन, “मसँग पढेर प्राप्त गरेको सैदान्तिक ज्ञान थियो, अनि अंकलसँग कामको लामो अनुभव । हामी दुईको सहकार्यले व्यवसायलाई अझ विस्तृत बनाउन सकिन्छ भनेर भोजराज अंकललाई सँगै काम गर्नका लागि अनुरोध गरेँ अंकलले पनि हुन्छ भनेर हामीलेसँगै एउटै व्यवसाय गर्ने सोच्यौ ।”

फोटो : प्रवेश बञ्जराबाट

“मलाई पहिले देखिनै जागिर खानु भन्दा व्यापार/व्यवसाय गर्नमै रुची थियो, अनि के गर्ने त भन्दा एक जना अङ्कलले बनाएका कुर्सीमा मेरो आँखा पर्‍यो त्यो देखेर यही व्यवसायलाई अगाडि किन नबढाउने भनेर उहाँसँग मिलेर  व्यवसाय सुरु गरे ।” प्रवेश सुनाउँछन् ।

उनले  कम्पनी खोल्ने सोच त बनाए तर उनलाई घर परिवार, इष्टमित्र कसैको पनि साथ मिलेन ।‘यस्तो राम्रो पढाई भएको मान्छे, बैंकमा जागिर खाए हुन्छ, बरु लोकसेवा लडेर सरकारी जागिरे भए पछि सम्मलाई राम्रो हुन्थ्यो’ भनेर प्रवेशलाई परिवारले  व्यापारमा नलाग्न सल्लाह दिएका थिए । उता युरोपमा रहेका बुबाले युरोप तिरै आउन जोड पनि नगरेका होइनन् । तर, प्रवेश व्यवसाय नै गर्ने आफ्नो निर्णयमा अडिए ।  प्रवेशलाई व्यवसाय सुरु गरेपछि व्यवसायिक अनुभव नभएको कारण सहज भने थिएन।

“सुरुमा  मिस्त्री जुटाउन, समान ल्याउन, धेरै गार्हो पर्‍यो । भारतबाट धेरै सामान ल्याउनु पर्ने बाध्यता थियो । व्यवसाय बढ्दै गएपछि हामीले कम्पनीमा नै सामान बनाउन थाल्यौँ । अहिले सबै सामान आफैँ बनाउँछौँ नाफा पनि बढेर गएको छ,” प्रवेश भन्छन् ।

प्रवेशको व्यवसाय सफल हुँदै जानुमा सबैभन्दा ठूलो भूमिका उनको मार्केटिङ गर्ने शैलीको थियो।  उनको मार्केटिङ गर्ने शैलीले ।

“मसँग मार्केटिङमा जाँदा अङ्कलको सीप प्रयोग गरेर बनाएका चिटिक्क परेका कुर्सी, टेबल थियो ग्राहकले पनि मन नपराउने कुरै भएन,” खुसी हुँदै प्रवेश भन्छन्,  “उद्यमीलाई घाटा हुने भनेकै बिचौलियाको प्रवेशले हो । मेरो उद्यममा बिचौलिया पस्ने ठाउँ नै दिएको छैन । आफै मार्केटिङ गर्ने भएकाले नै मैले बनाएको सामानको नाफा बढेर जान्छ सँगै  ग्राहकसँग सिधै सामान बेच्दा ग्राहकले पनि सस्तोमा सामान पाउँछन्। ”  

सुरुवाती दिनहरूमा १५ देखि २० वटा कुर्सी बनाउने गरेको प्रवेशको कम्पनीले अहिले  दैनिक ५० भन्दा बढी कुर्सी बनाउँछ । उनको कम्पनीमा बनाएको कुर्सी मेचीको ताप्लेजुङ देखि महाकालीको महेन्द्रनगरसम्म पुगेको छ  । उनी आफ्नो कुर्सी अर्डर आएको ठाउँमा सामान डेलिभरी पनि गर्दछन् । १ सय वटासम्म कुर्सीको माग आए नेपालको जुनसुकै ठाउँमा निशुल्क  पठाउने उनी बताउँछन् ।

प्रवेशको कम्पनीले मासिक ४० लाख बराबरको व्यापार गर्छ । वार्षिक कारोबार नै करिब  ५ करोड भन्दा बढी हुन्छ भन्छन् प्रवेश । उनको कम्पनीले १ हजार देखि २५ हजार रुपैयाँसम्म पर्ने कुर्सीहरू बनाउँछ । यहाँ आफूले चाहे अनुरूपको टेबल कुर्सी अर्डर गर्न  पनि मिल्छ ।

फोटोः प्रवेश बञ्जराबाट

एमबीए गर्दै गरेका पढाईमा पनि निकै अब्बल प्रवेशको सोच यही उद्यमलाई माथि पुर्‍याउने छ । उनी भन्छन्, “व्यवसाय गर्न छाड्दिन, पढेको ज्ञान सबै नेपाली माटोमा प्रयोग गर्छु ।”

प्रवेशको व्यवसायले छोटो समयमा नै सफलताको बाटो उक्लँदै छ । उनको व्यवसायले पाएको सफलता देखेर युरोप छाडेर उनका बुवा श्रीराज अहिले नेपालमा आएर प्रवेशसँगै हात बढाउन थालेका छन् । उनको बिचारमा आफूसँग भएको सीपलाई नयाँ ढङ्गले प्रयोग गरेर गुणस्तरीय काम गर्दा र ग्राहकसँग प्रभावकारी ढङ्गले मार्केटिङ गर्दा सफलता पाउन सकिन्छ तर सुरुवात भने सानैबाट पनि हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *