फूलखेती गरेर यसरी फक्रियो चन्द्रकलाको जीवन (भिडियो कथा)

प्रतिक ढकाल २०७९ कार्तिक ४ गते ९:०१

“महिना दिन भयो राम्रोसँग सुत्न पनि पाएको छैन,” भक्तपुर सूर्यविनायक-७ गुन्डु को फूलबारीमा पुग्दा ओखलढुङ्गाकी चन्द्रकला राईले यसरी सुनाइन् । तर, हप्तौँ अनिदो हुँदा पनि उनको अनुहार फुर्तिलो देखिन्छ, उनको ओठको हाँसो पनि टिप्दै गरेको मखमली झैँ फक्रिएको थियो ।

हुन त उनका श्रीमानको चाहना थियो- श्रीमान् श्रीमती नै दुबई जाने, सँगै बस्ने अनि छोराछोरीलाई नेपालमा राम्रो शिक्षा दिक्षा दिने । तर, उनलाई आफूले गरिआएको फूलखेतीको मायाले रोक्यो र नेपालमा नै परिश्रम गर्ने निधो गरिन् ।

ओखलढुङ्गामा जन्मिएकी चन्द्रकला केही गर्छु, पैसा कमाउछु अनि परिवार शृङ्गार्छु भनेर ५ वर्षअघि काठमाडौं छिरिन् । जीविकोपार्जनका लागि विभिन्न उपाय खोज्न थालिन् । कहिले पार्लर सिकिन् र आफ्नै व्यवसाय सुरुवात गरिन् त कहिले फर्निचरको व्यवसाय गरिन् । न त उनी यी व्यवसायमा जम्न सकिन् न विदेश जाने निर्णय गर्न सकिन् ।

“दुई-दुईवटा व्यवसाय नचल्दा पनि मलाई स-साना बालबच्चालाई छोडेर विदेशिन मन लागेन अनि फूलखेती गर्ने सोचेँ, फूलले मनग्य फाइदा पनि दियो अनि काम गर्दा बेग्लै आनन्द पनि आउन थाल्यो । फूलखेती गर्ने निर्णय गरेकोमा म अहिले एकदमै खुशी छु,” उनले सुनाइन् ।

चन्द्रकलाको बारीमा वर्षैभरि फूल फुल्छन् । कहिले मखमली, सयपत्री त कहिले माघी फूल । बजारको चिन्ता पनि उनले लिनुपर्दैन किनकी फूल लिनलाई गाडी नै लिएर व्यवसायीहरू उनको बारीमै पुग्छन् । तिहारको समयमा प्रतिगोटा ३५ देखि ५० रुपैयाँसम्म बिक्छ चन्द्रकलाले उनेको माला ।

उनी भन्छिन्, “तिहारको समयमा ८ देखि १० हजार वटासम्म माला बेच्छु । यसबाट खर्च कटाएर अढाई लाखदेखि ३ लाखसम्म पैसा कमाउँछु ।”

चन्द्रकलाका श्रीमान् अहिले नै विदेशबाट फर्कने सोचमा छैनन् । नेपाल फर्किएपछि दिगो कमाइ हुने हो कि नहुने हो भन्ने पिर उनलाई छ । तर, नेपालमै उद्यम गरिरहेकी चन्द्रकला भने श्रीमान् फर्किएर काममा हातेमालो गरे यहीँ अझ आम्दानी गर्न सकिने कुरामा ढुक्क छिन् र चाँडै श्रीमानलाई देश फर्काउन चाहन्छिन् ।  

चन्द्रकला आत्मविश्वासका साथ भन्छिन्, “पाँच वर्षदेखि फूलखेती गरेको अनुभवका आधारमा भन्छु- विदेशमा भन्दा स्वदेशमै काम गर्दाको आनन्द नै बेग्लै हुन्छ ।”

हेर्नुहोस्, फूलखेती गरेर जीवन फक्राएकी चन्द्रकलाको भिडियो कथा:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *