किन संसद् छिर्न चाहन्छन् नयाँ पुस्ताका यी तीन अनुहार ? (भिडियो संवाद)

धर्मराज रिमाल २०७९ भदौ २६ गते १९:०८

मानुषी यमी भट्टराई, शिशिर खनाल र पुकार बम आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिँदै गरेका नयाँ पुस्ताका अनुहारहरू हुन् ।

२०६५ सालको विद्यार्थी संगठनको चुनावमा सर्वाधिक मत ल्याएर त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियू सचिवमा निर्वाचित भएकी मानुषी अहिले त्रिविबाट विद्यावारिधि गर्दै छिन् । नेपाल समाजवादी पार्टीकी नेता मानुषी काठमाडौं–७ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्न कस्सिएकी छिन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यमीकी छोरी मानुषीको आफ्नै पहिचान छ । त्रिविमा राजनीतिशास्त्रको गोल्डमेडलिस्ट मानुषीले राजनीतिमा पुस्तान्तरण, शिक्षामा सुधार एवम् लैङ्गिक समानताका विषयमा लामो समयदेखि आवाज उठाउँदै आएकी छिन् । अहिलेसम्म प्राप्त ज्ञान, सीप र क्षमतालाई अब नीतिगत तहमा अभ्यास गर्ने उद्देश्य सहित मानुषीले संघीय संसदमा प्रवेश गर्ने योजना बनाएकी छिन् ।

काठमाडौं-६ मा चुनाव लड्ने योजना अनुसार तिव्र तयारीमा छन्, टिच फर नेपालका सहसंस्थापक शिशिर खनाल । ग्रामीण क्षेत्रका सरकारी विद्यालयको शैक्षिक अवस्था सुधार गर्न टिच फर नेपालले स्नातक उत्तीर्ण युवाहरूलाई परिचालन गर्दै आइरहेको छ । उनी शिक्षा सुधारका विज्ञसँगै उद्यमी पनि हुन् । तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकार भएर यस अगाडि काम गरिसकेका छन् शिशिरले । नीतिगत तहमा प्रतिनिधित्व गर्नेहरू सम्बन्धित विषयमा गम्भिर र जानकार नहुँदा शिक्षा, स्वास्थ्य, रोजगारी अनि उद्यमशीलता जस्ता विषयले महत्व नपाएको उनको बुझाई छ । अब पनि ज्ञान, सीप र अनुभव भएका व्यक्तिहरू संसदमा नआउने हो भने अबको एक दशकमा देशको हालत पूर्णरुपमा जीर्ण हुने भएकाले युवालाई यसबारेमा सचेत हुन शिशिर आव्हान गर्छन् । युनिभर्सिटी अफ विस्कन्सन, अमेरिकाबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका शिशिरले शैक्षिक गुणस्तर सुधार र शिक्षामा सर्वसुलभ पहुँचका लागि संसदमा आवाज उठाउने उद्देश्य लिएका छन् । जनस्वास्थ्य र युवा उद्यमशीलताका विषयलाई पनि संसदमा उत्तिकै प्राथमिकता दिने शिशिर बताउँछन् ।

यसअघि २०७० साल र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लडिसकेका पुकार बम विवेकशिल पार्टीका सह-संस्थापक पनि हुन् ।  सामाजिक तथा राजनीतिक विषयमा निरन्तर रुपमा आवाज उठाउँदै आएका अभियन्ता हुन्, पुकार । आन्दोलन र विरोध प्रदर्शनमा मात्र होइन भूकम्प प्रभावितहरूलाई राहत वितरण गर्नेदेखि कोरोनाका कारण भएको लकडाउनमा निःशुल्क खाना खुवाउने, अक्सिजन वितरण गर्ने जस्ता कल्याणकारी कामको पनि कुशल नेतृत्व गरे पुकारले । सरकार गैर जिम्मेवार भएको भन्दै कोरोनाको उच्च जोखिम भएको समयमा पुकारले १२ दिनसम्म आमरण अनशन बसे । पहिलो संविधानसभाका बेलामा संविधानसभा सदस्यलाई खबरदारी गर्नेदेखि डा. गोविन्द केसीको सत्याग्रह, अकुपाइ बालुवाटार जस्ता अभियानमा पनि अग्रपंक्तिमा थिए पुकार । संसद र सिंहदरबारलाई आम नागरिकको सहज पहुँचमा राख्नका लागि यसलाई खुला राखिनु पर्छ भन्ने मान्यता राख्ने पुकारको अब एउटै ध्येय छ, सडकबाट होइन अब संसदबाट आवाज उठाउनु पर्छ । काठमाडौं–१ बाट स्वतन्त्र उम्मेदवारी दिने योजना अनुरूप निर्वाचनको मिति घोषणा अगावै तयारीमा जुटेका पुकारले संसदमा युवाहरूले हस्तक्षेप गरेर अब राजनीतिक सुधार थाल्नु पर्ने बताउँछन् ।

आसन्न चुनावमा होमिदै गरेका नयाँ पुस्ताका यी तिन अनुहारसँग चुनावमा युवा, रोजगारी,  वैदेशिक रोजगारी र उद्यमशीलताका के कस्ता विषयहरुले प्राथमिकता पाउनु पर्छ ? राजनीतिक दलहरूको घोषणा पत्रमा किन यस्ता विषयले अर्थपूर्ण स्थान पाउँदैनन् र यस्ता सवालहरूमा प्रतिनिधिसभा चुनावमा होमिँदै गरेका नयाँ पुस्ताको धारणा के छ भन्ने विषयमा जीविकोले संवाद गरेको छ । प्रस्तुत छ, मानुषी यमी भट्टराई, शिशिर खनाल र पुकार बमसँग  गरिएको संवाद:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *