आफूले जागिर छोडेर अरु ५० जनालाई रोजगारी दिएकी सरस्वतीको कथा (भिडियो) फोटो : पुष्कल श्रेष्ठ/जीविको

बिना सुनार २०७९ भदौ २ गते १३:३४

सेवा सुविधा अनि राम्रो कमाइ भएको जागिर छोडेर मिठाइ व्यवसाय सुरु गरेका सरस्वती वस्ती र बिनोद देवकोटाको जोडी केही समय एउटै कुरा सोचेर घोत्लिरहन्थे, “के सही निर्णय नै गरियो त?” ढुक्कको जागिर थियो यो जोडीको, श्रीमान् बैंकमा उच्च तहका कर्मचारी थिए  अनि श्रीमती मास्टर्स सकाएकी र ल्याब टेक्निसियनको जागिरे ।

अध्ययन सकाएकाहरूले लोभ गर्ने जागिर गर्दै थिए उनीहरूले ।

“जागिरलाई चट्टकै छाडेर हामीले नयाँ बाटो रोजेका थियौँ,” सरस्वती  (३४) ले विगत सम्झिइन् । जागिर छाडेर उनीहरूले जोखिम त मोलेकै थिए तर पनि व्यवसाय गर्ने आँट र योजनाको बलियो जग भने बसाएका थिए ।  जिन्दगी औसत रूपमा राम्रैसँग चल्दै थियो । तर, ४ वर्षअघि उनीहरूले जागिरलाई छाडेर व्यवसायमा छिर्ने निर्णय गरेर दरबारमार्गमा पावन स्वीट्स नामको मिठाई पसल खोले । 

वास्तवमा यो व्यवसाय गर्ने आइडियाको जस पावन स्वीट्सका अर्का सहयात्री इशान पाण्डेलाई दिन्छिन्, सरस्वती । काठमाडौं विश्वविद्यालयबाट एमबिए सक्काएका इशानले बनाएको व्यवसायिक योजनालाई अगाडि बढाउन तिनै जनाले आ-आफ्नो तर्फबाट भरपूर मेहनत गरे ।

 “जोखिम मोलेका थियौँ, तर त्यसवेला लिएको निर्णयले अहिले रङ्ग ल्याएको छ,” उनी हाँस्दै सुनाउँछिन् । सुरुवाती दिनहरूमा पावन स्वीट्समा ३ जना हुन्थे नयाँ पसल भएकाले ग्राहकको भीड पनि त्यति धेरै हुने थिएन । तर, आएका ग्राहकहरूलाई उनीहरू खुबै सम्मान र सत्कार दिन्थे ।  मिठाई जस्तै मिठो बोली, सरल र नम्र व्यवहार भएपछि पावनमा ग्राहकहरू बिस्तारै बढ्न थाले ।  

पावन स्वीट्समा बनेको मिठाइ, फोटो : पुष्कल श्रेष्ठ जीविको

“अरुकोमा जतिनै दुःख गरे पनि आखिर काम गर्न सक्ने समयसम्मलाई हो, बरु आफ्नै केही गरेर अरु लाई पनि काम दिन सकिन्छ भन्ने लाग्यो अनि हिम्मत गरेर व्यवसाय गर्न थालेका थियौँ पहिलो हप्ता पछि नै व्यवसायले राम्रो गति लिन सुरुवात गर्यो,” सरस्वती सुनाउँछिन् । पावन स्वीट्सको व्यापार दिन प्रतिदिन बढ्न थाल्यो । दरबारमार्गको पसलमा प्राय कुनै टेबल खाली हुन्थेनन् । व्यापार दिन दुईगुना रात चौगुना हुन थाल्यो । ३ जनाले सुरुवात गरेको पसलमा दोस्रो हप्ताबाट नै कामदार थपिन थाले । 

 वर्षदिन नबित्दै धेरैलाई पावन स्वीट्स थाह हुन थाल्यो । व्यापार बढेपछि यी दम्पतीले अरु ठाउँमा पनि आउटलेट खोल्ने निधो गरे । गौशला बत्तिसपुतलीमा पावन स्वीट्सको अर्को आउटलेट खोलियो । 

उनी भन्छिन्,  “वर्षदिनमै पावन स्वीट्सको कमाइले अर्को आउटलेट खोल्न सकेका थियौँ हामी खुसी थियौँ ।”

सरस्वती र उनको व्यवसाय पावन त्यतिमा मात्र सीमित भएन । उनीहरूले ४ वर्षकै अन्तरालमा नयाँ बानेश्वरको आईप्लेक्स मलमा अर्को पसल सुरुवात गर्न भ्याए । केही वर्षमै पावन स्वीट्सको आम्दानी थपियो । पावनमा रोजगारीका अवसरहरू पनि थपिए । ३ जनाबाट सुरुवात भएको पावन अहिले ब्रान्ड बनिसकेको छ । पावनको कारखाना र ३ आउटलेटमा गरि ५० जना भन्दा बढीले रोजगारी पाएका छन् । चाडबाडको समयमा त यहाँ अन्य धेरैले मौसमी रोजगारी पनि पाउने गरेका छन् । 

पावनमा अहिले ४० भन्दा बढी प्रकारका मिठाइहरू पाइन्छन् । तीमध्ये दैनिक बनाइने र चाडवाडको समयमा बनाइने मिठाइहरू फरक हुने गर्छन् । 

पावनको मिठाई खान टाढा टाढाबाट पनि ग्राहक आउँछन् । विवाह, व्रतबन्ध, पुजा पाठको लागि पनि यहाँ मिठाइको अडर आउने गर्दछ । सरस्वती पनि दिनहुँ पसल पुग्छिन् अनि त्यहाँ काम गर्ने कामदारसँग सँगै हात बढाउँछिन् । 

“यो पसलको सञ्चालक भएपनि म कर्मचारी सँगै सबै काम गर्छु, यसले गर्दा उनीहरूको पनि हौसला बढेर जान्छ,” सरस्वती सुनाउँछिन् ।

पावन स्वीट्सको मिठाई गुणस्तरीय र मिठो भएको कारणले मात्र पसल चलेको भने होइन, यहाँ काम गर्ने कर्मचारी अनि सञ्चालक सरस्वती आउने सबैसँग हाँसेर गफ गर्छन् अनि समान र सरल व्यवहार गर्छन् । त्यसैले होला पावन छिर्ने ग्राहक फर्किएर पुनः आउँछन् । 

पावन स्वीट्समा बनेको मिठाइ, फोटो : पुष्कल श्रेष्ठ जीविको

सरस्वती भन्छिन्, “यहाँ आउने ग्राहक अनि काम गर्ने कर्मचारी मलाई आफ्नै परिवार झैँ लाग्छ पसल आएर दिनभर बस्दा घरमा बसेझैँ लाग्छ ।” उनी आफूले गरेको काममा खुसी छिन्, अनि व्यवसाय सुरुवात गरेकोमा गर्व गर्छिन् । सरस्वती महिलाहरूलाई सानो भएपनि व्यवसाय सञ्चालन गर्न र आत्मनिर्भर बन्न प्रेरित गर्छिन् । 

उनी भन्छिन्, “१ वर्ष नहोला २ वर्ष नहोला तर एकदिन तपाईंको मेहनतले अवश्य फल दिनेछ । सानो लगानी भएपनि उत्पादनशील क्षेत्रमा लगाउनुहोस् नतिजा अवश्य पाउनुहुनेछ ।”

 हेर्नुहोस् ३४ वर्षको उमेरमा ५४ जनालाई रोजगारी दिइरहेकी महिला उद्यमी सरस्वती वस्तीको व्यवसायिक यात्रा जीविको भिडियोमा : 

 

   

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *