तीन दशकदेखि तरकारी खेतीसँगै होमस्टे सञ्चालन गरिरहेकी कल्पनाको संघर्ष र सफलताको कथा (भिडियो) फोटो : पुष्कल श्रेष्ठ

प्रतिक ढकाल २०७९ साउन २४ गते १७:०१

“२७ वर्ष बितेछ बजारबाट एक किलो तरकारी पनि नकिनेको,” खुसी हुँदै कल्पना सुनाउँछिन् । 

,धुलिखेल ११ पात्लेखेत काभ्रेकी कल्पना रेग्मी (४७) पसलबाट तरकारी कहिले किन्दिनन् । आलु, प्याज, लसुन, भान्टा, काउली लगायतका सबै मौसमी तथा बेमौसमी तरकारीहरू उनको आफ्नै बारीमा लहलह भएर फलेका छन् । तरकारीसँगै स्याउ, सुन्तला, जुनार ड्रागनफल देखि मधिसे बदामसम्मका फलफूलहरू पनि बारीमा लटरम्मै छन् ।  कहिले त आफ्नो बारीमा के के बोटबिरुवा छन् भन्ने कल्पना आफैँ बिर्सिन्छिन् । 

फोटो : पुष्कल श्रेष्ठ/जीविको

“मलाई हरियाली खुबै मन पर्छ सुनेजति र देखेजति बोटबिरुवा रोपिहाल्नुपर्छ पनौती, काठमाडौं,बनेपादेखी बोटबिरुवा ल्याएर रोपेका छौँ,” उनी भन्छिन् । कसैका पाहुना जाँदा होस् वा घुमफिरलाई निक्लँदा उनको ध्यान बोटबिरुवामै हुन्छ । उनी जहाँ पुगेपनि बीउ, बिरुवा  ल्याएर आफ्नो बारीमा रोपिहाल्छिन् । 

यसरी बोटबिरुवासँग रुमलिनु चाहिँ उनको सोख मात्र हैन यही रहरलाई उनले आफ्नो व्यवसाय पनि बनाएकी छिन् । २७ वर्ष अगि कल्पनाले विवाह गरेर पात्लेखेत आइन् । मागी विवाह गरेपनि संयोगवश उनको र उनका श्रीमानको बिचार भने ठ्याक्कै मिल्ने रहेछ । दुवैलाई बोटबिरुवा र  कृषिसँगै माया । 

कल्पना र उनका श्रीमान् , फोटो ; पुष्कल श्रेष्ठ जीविको

“विवाह गरेपछि हामीले कृषि नै गर्ने सोच्यौँ, सुरुवात चाहिँ कुखुरा पालेर गर्‍यौ,” कल्पनाले भनिन्, “खुब मेहनत गर्‍यौ, टाढाबाट पानी बोक्नुपर्ने, ३ हजार भन्दा बढी कुखुरा थिए, ४ छोराछोरी पनि हुर्काउनुपर्ने श्रीमान र मेरो खुबै संघर्ष छ ।”

कल्पनाको दम्पतीले कुखुरापालन राम्रो हुँदै गएपछि अझ कृषिलाई बिस्तार गर्ने सोचे अनि भएको जग्गामा तरकारी रोप्न थाले । 

 तरकारी र कुखुराबाट राम्रो आम्दानी हुँदै थियो त्यसमा थप भैँसी र बाख्रा पनि उनीहरूले पाल्न थाले । यसरी कृषिका विभिन्न पाटोहरूलाई व्यवसायीक रूपमा लग्दै जाँदा उनीहरूको कमाई बढेर गयो । यही कमाईले कल्पनाको छोराछोरी ब्याचलरसम्म पढेँ । 

“अहिले तीन छोराछोरीले नै कमाउँछन्, श्रीमान् र मैले गरेको मेहनतले रङ्ग ल्याएको छ,” उनी मख्ख हुँदै सुनाउँछिन् ।

वर्षौँ देखि कृषिलाई गरिखाने भाँडो बनाएकी कल्पनाका छोराछोरीले घरखर्च सबै पुर्‍याएपनि  उनले  कृषि गर्न भने छाडेकी छैनन् । अहिले सुरुवात गरेको कुखुराको सङ्ख्या घटेको छ तरकारी र भैँसी अनि बाख्रा भने छँदै छ । 

कल्पनाको बारीमा फलेको तरकारी लिन घरमै गाडी आइपुग्छ । तरकारीको पात पतिङ्गर भने पशुलाई आहारा हुन्छ । पशुको मल चाहिँ बारीमा लगाएर उनी अर्गानिक तरकारी फलाउँछिन् । पात्लेखेत सामुदायिक होमस्टेसँगै रहेको उनको घर होमस्टेको लागि पनि प्रयोग हुन्छ । २३ वटा घर गरेको होमस्टेमा उनको घरनम्बर चाहिँ १२ । पात्लेखेत होमस्टेमा आएका पर्यटक पनि उनको घरमा आएर बस्न खुब रचाउँछन् । बारीबाटै अर्गानिक तरकारी पर्यटकले आफैँ टिप्न पाउँछन् , भने भैँसीको दूध पनि पर्यटक रमाइलो मानेर आफैँले दुहेर अनुभव लिन पाउँछन् । यसरी कृषिसँगै पर्यटनलाई प्रवर्द्धन गरिरहेकी कल्पनालाई विगत सम्झँदा लाग्छ धैर्य भएर एउटै काममा निरन्तर लागिरहे सुखी जिन्दगी जिउँन पाइन्छ । 

उनी भन्छिन्, “म खुसी छु, सुखको जिन्दगी बाँचेकी छु ।” 

हेर्नुहोस् २७ वर्षदेखि निरन्तर कृषि उद्यममा लागेकी कल्पना रेग्मीको भिडियो कथा : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *