कम लगानीमै स्वरोजगार बन्ने काइदा ! (भिडियो)

युवा उर्जा भएका ५६ वर्षे केशव बडालको अनुभव

धर्मराज रिमाल २०७९ असार ३२ गते १९:४७

“यत्तिको पढेको मान्छेले पनि यस्तो काम गर्ने ? यही सोंचले गर्दा बेरोजगारी पनि बढ्यो अनि लाखौं युवा खाडी पनि पसे,” नेपाली समाजमा काम र इज्जतलाई जोड्ने गतल मानसिकताप्रति असन्तुष्टि जनाउँदै धुलिखेल- ११ काभ्रेका केशव बडालले कुराकानी सुरु गरे । भकारो सोहर्ने र दूध दुहुने समय हुँदै थियो उनको । “काम गर्दै कुरा गरौँ है, गोठतिरै ?” केशवले प्रस्ताव राखे, हामीले फ्याट्टै उत्तर फर्कायौँ, ‘हुन्छ’ ।

२ दशक अगाडि साविकको पात्लेखेत गाविसका अध्यक्ष थिए केशव तर त्यसबखत पनि उनी दैनिक भकारो सोर्न र बस्तुभाउ स्याहार्न कहिल्यै छोडेनन् । केशव अहिले पनि राजनीतिमा उत्तिकै सक्रिय छन् । होमस्टे एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष एवं पात्लेखेत सामुदायिक होमस्टे, काभ्रेका अध्यक्ष हुन् उनी । उमेरले ५६ वर्ष पार गरिसकेका केशव दैनिक व्यस्त हुँदा पनि आफ्नो जीविको चल्ने कर्म गर्न भने छोड्दैनन् । 

केशव बडालको दैनिकी, फोटो: पुष्कल श्रेष्ठ, जीविको

हामीले सोध्यौँ, “यस्तो व्यस्त मान्छेले गोठको काम गर्न समय कसरी मिलाउनु हुन्छ ?” एउटा गाई दुहेर सकाएका केशवले अर्को गाई दुहुन सुरु गर्दै भने, “समय त जसरी पनि मिलाउनु पर्छ नि । भकारो पसेन भने भान्सा पस्न पनि गाह्रो हुन्छ । भकारोमा खटियो भने पो भान्सामा चुल्हो बल्छ ।”

पन्ध्र मिनट जति उनीसँग भकारोमा गफिँदा ३ वटा बस्तुभाउबाट उनले १२ लिटर दूध दुहिसकेका थिए । ब्याउने भएकाले उनका एउटा गाई र एउटा भैँसीले अलिक कम दूध दिन्छन् । केशवले दैनिक २ वटा गाई र एउटा भैँसीबाट २२ लिटरभन्दा बढी दूध दुहुन्छन् । घरका लागि २-३ लिटर छुट्याएर बाँकी भने बेच्ने गर्छन् । आफ्नो श्रम र लागत बाहेक ३ वटा गाईबस्तुबाट मासिक ३० हजार रुपैयाँ बचत गर्ने गरेको केशवले बताए ।

“३ वटा गाईबस्तुबाट मासिक ३० हजार रुपैयाँ कमाइ ?” अचम्म मान्दै उनलाई सोध्यौं ।

“हो त । त्यो पनि आफुले खाएर !” हँसिलो अनुहार बनाउँदै उनले भने, “अहिले एक लिटर दूधको ७३ रुपैयाँ जति किसानले पाउँछन् । २२ लिटर दूध भयो भने घरका लागि २ लिटर अनि बाँकी दूध बेच्दा मासिक ४५ हजार कमाइ हुन्छ । ३ वटा गाईबस्तुको आहारा छुट्याउँदा पनि ३० हजार रुपैयाँ बच्छ । अझ ति गाईबस्तुको मल खेतीमा लगाउन पाईन्छ, त्यो अलग फाईदा छ ।”

केशव बडाल, फोटो: पुष्कल श्रेष्ठ, जीविको

काम गर्न लाज नमान्ने हो र इच्छाशक्ति छ भने थोरै लगानीमा पनि नेपालमा राम्रै आम्दानी गर्न सकिने केशव बताउँछन् । रोजगारीका लागि युवाले विदेश नै पलायन हुनु नपर्ने उनको बुझाई छ । उनी भन्छन्, “एउटा युवा खाडी जाँदा पनि २ लाख ऋण बोकेरै गएको हुन्छ । त्यहाँ हुने कमाइ भनेको ३० हजार हाराहारी नै हो । ३० हजार कमाउन घर परिवारबाट टाढा बस्नै पर्दैन जस्तो लाग्छ मलाई ।”

कम लगानीमै आफ्नै ठाउँमा स्वरोजगार बन्न सकिने भएकाले वैदेशिक रोजगारीको विकल्प खोज्न उनी युवालाई सुझाउँछन् । केशवको सुझाव छ, ” विदेश जान ऋण खोज्नुभन्दा बस्तुभाउ पाल्न ऋण खोज्नु उत्तम हुन्छ । सुरुमै ठूलो लगानी गर्नु पर्दैन । ३ वटा गाई तीन लाख जति खर्च गरेर किन्ने हो भने घरमा खाएर पनि २२ देखि २५ लिटर दूध बेच्न मजाले सकिन्छ । जग्गा छ भने खेती पनि गर्नुस्, गाईबस्तुको गोबर खेती गर्दा उपयोग गर्न सकिन्छ । यसो गर्ने हो भने युवा पलायन हुनै पर्दैन । खाडीमा कमाउने पैसा ३ वटा गाईवस्तु पाल्ने हो भने आफ्नै ठाउँमा कमाउन सकिन्छ”

केशव बडालको दैनिकी, फोटो: पुष्कल श्रेष्ठ, जीविको

युवाहरूमा कामको सम्मान गर्ने सोचको विकास हुनुपर्ने केशव बताउँछन् । योसँगै धैर्यता र सन्तुष्टि पनि युवामा हुनु पर्ने उनको भनाइ छ ।

उनी भन्छन्, “युवालाई अवसर दिनुपर्छ भन्ने कुरामा म शतप्रतिशत सहमत छु तर यो भन्दै गर्दा  युवाले पनि आफै अवसर खोज्न अग्रसर पनि हुनुपर्छ । आफ्नै उद्यम गर्दा कमाइ  घटीबढी भन्ने होला तर  देशमा सम्भावना नै छैन  भन्दै  विदेश पलायन हुनुपर्ने अवस्था भने अहिलेको समयमा छैन । मैले तीनवटा बस्तुभाउ पालेर ३० हजार कमाइरहेको छु भने अरुले गर्न नसक्लान् र ?”

हेर्नुहोस्, युवा उर्जा भएका ५६ वर्षे केशव बडालको भिडियो कथा:

भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *