राई दाइलाई छैन बोल्ने फुर्सद (भिडियो) राई दाई र चाट पसलमा काम गर्ने कर्मचारीहरू फोटो : पुष्कल श्रेष्ठ जीविको

बिना सुनार २०७९ जेठ ३० गते १५:००

उनका अधिकांश सहपाठी बिस वर्ष लाग्दै गर्दा रोजगारीका लागि विदेश पसे तर उनलाई भने विदेश जाने खर्च जुटाउन पनि हम्मे हम्मे थियो । दुई दशक अगाडि खोटाङबाट काठमाडौं आइपुगेका केशव राई ३६ लाई काठमाडौंमा बिहान बेलुकाको गर्जो कसरी टार्ने थाहा थिएन । कक्षा दशसम्म गाउँमै पढेका उनलाई पढ्ने, कमाउने अनि आफ्नो परिवारलाई पाल्ने सपनाले काठमाडौं सम्म डोहोर्यायो । तर सपनाको शहर काठमाडौं उनले सोचेको भन्दा फरक थियो । जीविका धान्नै गाह्रो, ज्यान पाल्नै साह्रो।

“काठमाडौंमा काम सजिलै पाइन्छ भन्ने सुनेर यहाँ आए, तर जति भौँतारिदा पनि काम नपाइने रहेछ । काम पाए पनि भनेको बेलामा पैसा नदिने, यहाँ ठुलै संघर्ष गर्नुपर्ने रहेछ,” केशव सुरुका दिन यसरी सम्झन्छन् । उनी बिहान उठेर रत्नराज्य क्याम्पस जान्थे, दिउँसो दुई पैसा कमाउने धुन हुन्थ्यो । जेनतेन आफ्नो खर्च टार्न केशव कहिले होटेलमा काम गर्न पुगे त कहिले ग्रिल कम्पनीमा वेल्डिङ गर्न ।

केशवले धेरै ठाउँ काम गर्दा पनि उनले सोचेजस्तो तरिकाले जीवन चलेन । दिनदिनै पैसाको अभाव हुन थालेपछि उनले सोचे, ‘केही न केही आफ्नै भएपनि ब्यापार व्यवसाय त गर्नै पर्छ ।’

“भन्छन् नि ‘व्यापार त अपार हुन्छ’, मलाई पनि त्यस्तै लाग्यो अनि आफ्नै केही गर्छु भनेर उपाय खोज्न थालेँ,” केशव सुनाउँछन् । व्यापार गर्ने सोच त बन्यो तर के को व्यापार गर्ने? कसरी गर्ने, अनि कहाँ गर्ने? केहीपनि टुङ्गो थिएन, न त हातमा पैसा नै । कसरी पैसा जुटाउने भनेर उनी दैनिक सोच्ने गर्थे ।

केही न केही आफ्नै गर्छु भन्ने आँटेका केशवले एकदिन बाटोमा हिँड्दै गर्दा चटपटे र पानीपुरी खानको लागि ठेला अगाडि मानिसहरू लाइन लागेको देखे । अनि उनले बिचार गरे, धेरै ग्राहकको घुइँचो त चटपटे यही जुक्ति फुर्यो केशवलाई, “लगानी पनि कम लाग्ने अनि आम्दानी पनि हुने!” केशवले तुरुन्तै सोच बनाइहाले, “अब चटपटे बेचेर नै पैसा कमाउँछु ।” चटपटे बेचेर जीविको चलाउने योजना बनाएका केशवलाई उनका परिवार, आफन्त, साथीभाइले ‘यस्तो पनि काम गर्छन् रु’ भनेर गिज्याउने गर्थे । तर चटपटे बनाएर बेच्ने कामलाई नै व्यवसायिक योजना बनाएका केशवलाई आफन्त साथीभाइका कुराले फरक परेन । “मर्ता क्या नहि कर्ता”, वेल्डिङ गर्दा कमाएको केही पैसाले उनले एउटा सानो चिटिक्कको ठेला किने । प्याज, आलु, गेडागुडी भुजा अनि केही मरमसला किनेपछि व्यापारका लागि केशव तयार भए ।

“मलाई काम सानो ठूलो कहिल्यै लागेन” उनी भन्छन्, “चटपटे, पानीपुरी, चाट, बनाउने कुनै व्यवसायिक तालिम पनि अहिलेसम्म लिएको छैन । सडकमा भेटेका ठेला व्यापारीहरूलाई कसरी चटपटे बनाउने भनेर सोधेँ उनीहरूले तरिका बताइदिए अनि त्यही अनुसार बनाउँदा जान्ने भएँ ।”
केशवलाई ठेलाको व्यापारले जीवन धान्ने मेलो दियो, सँगै सन्तोष पनि ।

ललितपुर महानगरपालिका १४ तिखिदेवल, नखिपोट क्षेत्र ब्रिटिस लाहुेर परिवारका कारण चर्चित बन्दै गएको हो । मंगोलिएन समुदायको बसोबास बढ्दै गएको यस क्षेत्रमा उनको व्यापार फस्टाउँदै गयो । सुरुवातदेखि नै ग्राहकसँग मिठो व्यवहार गर्ने, सरसफाईमा विषेश ध्यान दिने, ग्राहकको रुचि र अनुरोध अनुसारको खानेकुरा बनाउने, उनका यि व्यवसायिक गुणहरु मानिसहरुलाई मन पर्‍यो ।

राईदाइको चाट पसलमा ग्राहकको घुईँचो, फोटो : पुष्कल श्रेष्ठ जीविको

व्यापार दिन दुई गुना रात चौगुना फस्टायो । करिव तीन चार वर्ष सडकमै व्यापार गरेका केशवले अझ बिस्तार गर्ने सोच बनाए । त्यसपछि केशवको व्यवसायीक यात्राको दोस्रो च्याप्टर सुरु भयो । नखिपोटमा एउटा सानो सटर लिएरै चाट, आलुनिम्की, चटपटे अनि पानीपुरी बेच्न थाले केशवले । उनको हातले बनाएको चटपटे खान पल्केकाहरू टाढा टाढाबाट पनि केशवकोमा धाउने गर्थे । ग्राहकको स्वाद अनुसार पिरो, अमिलो चटपटे र पानीपुरीमा नाम कमाइसकेका केशवले अब भने चाट, आलुनिम्की र दहिपुरी पनि आफ्नो मेनुमा थपे । उनका ग्राहकहरूले थपिएका नयाँ परिकारलाई पनि उत्तिकै रुचाए ।

“गज्जब नै भयो, सटर लिँदा व्यापार नचल्ने होकी भन्ने लागेको झन् फस्टायो । ग्राहकहरू पनि झन् बढी आउन थाले, यो सँगै मेरो व्यापारको यात्रा झन् अघि बढ्यो। सबैले मलाई राई दाइ भनेर चिन्न थाले, वरपरको मात्र नभएर सातदोबाटो ग्वार्को सम्मबाट पनि चाट, चटपटे खान ग्राहकहरू आउन थाले,” केशव सम्झन्छन् ।

सटरबाट व्यापार गर्दागर्दै केशव ‘राई दाइ’ नामले परिचित भइसकेका थिए । त्यसपछि सुरु भयो यात्रा “ राई दाइको चाट पसल” को । राई दाइको पसल यती धेरै चल्न थाल्यो कि , ग्राहकहरू उनको सटरमा पनि अटाएनन् । त्यो भन्दा ठूलो ठाउँ चाहिने भयो ।

“ग्राहकहरूलाई खान बस्नको लागि ठाउँ पुगेन, ग्राहकलाई थप सुविधा दिनको लागि पनि ठुलो ठाउँको आवश्यकता पर्‍यो अनि जग्गा भाडामा लिएर पसल खोले,” केशवले भने । ठूलो क्षेत्रफल भाडामा लिएपछि आफ्नो व्यवसायलाई दर्ता गरेर कानुनी रूपमै चलाउँछु भनेर उनले व्यवसाय दर्ता गरे । अहिले राई दाइको चाट पसलले झण्डै १ रोपनी क्षेत्रफल ओगटेको छ ।

राई दाइको चाट पसल नखीपोट विशाल चोकमा परैबाट देखिन्छ । नख्खीपोट वरिपरि क्षेत्रका मात्र नभइ किर्तिपुर, भक्तपुर लगायतका ठाउँका मानिसलाई पनि उनले यहाँको स्वादले लोभ्याइसकेका छन् । अधिकांशले यहाँ पुगेर चाट चाखेका पनि छन् । राई दाइको चाट खानेहरू फर्किएर पुनः उनको पसल पटक-पटक पुग्ने गर्छन् ।

केशवले बाटोबाट व्यापार सुरु गर्दा अहिलेसम्म थुप्रै चुनौतीको सामना गर्नुपर्‍यो । घाम, पानी, धुलो, धुँवा केही नभनी चोक चोक पुग्दा गाडा राख्न पाइदैन भनेर थुप्रैको गाली खाए भने सडकमा पसल राखेको भनेर कहिले नगर प्रहरीसँग भागे ।

केशव पसलमा आउने हरेक ग्राहकलाई समान र सम्मानपूर्वक व्यवहार गर्छन् । कहिले पनि ग्राहकसँग रिसाउने, झर्कने जस्तो व्यवहार नगर्ने हुँदा नियमित आउने गरेको नख्खीपोटकी पुष्प महत बताउँछिन् ।

उनी भन्छिन् “यहाँको दही पुरी, आलु निम्की खाए पछि अन्त जान मनै लाग्दैन, सफा, सस्तो अनि सधैँ हसिलो अनुहार लगाएर व्यवहार गर्ने भएकोले पनि जहिले यही आउन मन लाग्छ” ।

अर्का एक ग्राहक भन्छन्, “चाट पसल त धेरै छन् तर यति राम्रो व्यवहार गरेर, स्वस्थ र सफा चाट खाने ठाँउ निकै कम छन् ।”

व्यापार गर्ने यहि कलाको कारण राईदाइको पसलमा २ बजेदेखि ७ बजेसम्म उनको हातको खाजा खानेको थामिनसक्नुको भिड हुन्छ ।

हेर्नुहोस्, डेढ दशक सहरमा हन्डर खाएर चम्केका उनै राई दाइ अर्थात् केशव राईको भिडियो कथा:

भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *