नयाँ व्यवसाय सुरु गर्दै हुनुहुन्छ, यसरी लिन सकिन्छ सस्तो दरमा ऋण (भिडियो) फोटोः अन्तरप्रेरणा

सरकारले दिने १० सहुलियतपूर्ण कर्जा कार्यक्रम के हो ? यो कसरी लिन सकिन्छ ? यसका प्रक्रिया के कस्ता छन् ?  

जीविको २०७९ जेठ ११ गते १६:४५

कतै तपाईं नयाँ व्यवसाय वा उद्यम शुरु गर्दै हुनुहुन्छ वा शुरु गर्ने सोचमा हुनुहुन्छ भने नेपाल सरकारले दिने विभिन्न सुलभ र सस्तो ब्याजको ऋणहरू तपाईंको लागि उपयोगी हुनसक्छ ।  हामीले नेपाल सरकारले दिने सस्तो ब्याज दरका ऋणका कार्यक्रमलाई एकै ठाउँमा राखेका छौं । 

नेपालमा उत्पादन तथा रोजगारीको अवस्था सुधार्न नेपाली युवाले विदेशमा सिकेका सीपलाई नेपालमा कार्यान्वयन गर्न, महिला, दलित, विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर उकास्न र भूकम्प पीडितलाई आवासको व्यवस्था गर्न भनेर २०७५ सालदेखि सरकारले सहुलियतपूर्ण कर्जासम्बन्धी नीतिगत व्यवस्था लागू गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, “२०७५” लागू भएपछि विभिन्न १० शीर्षकमा कर्जा लगानी हुन थालेको छ । सरकारले दिने १० सहुलियतपूर्ण कर्जा कार्यक्रम के हो ? यो कसरी लिन सकिन्छ ? यसका प्रक्रिया के कस्ता छन् ? 

 

१ . कृषि तथा पशुपन्छी कर्जा :

५ प्रतिशत ब्याज अनुदानमा ५ करोड रुपैयाँसम्म कृषि तथा पशुपन्छी कर्जा लिन पाइन्छ । १० लाख रुपैयाँभन्दा बढी ऋण लिनका लागि तपाईंको परियोजना धितो राख्नुपर्दछ । व्यावसायिक कृषि तथा पशुपालन व्यवसाय गर्न यस्तो ऋणमा १० लाख रुपैयाँसम्म ऋण लिने हो भने सामूहिक जमानीमा लिन पाइन्छ । यसका लागि उद्यम सञ्चालन तथा कर्जा  उपयोग सम्बन्धी  संक्षिप्‍त प्रस्ताव यस गर्नुपर्ने हुन्छ । 

 २. शिक्षित युवा स्वरोजगार कर्जा : 

शैक्षिक प्रमाणपत्र धितो राखेर स्नातक तह उत्तीर्ण भइ ४० वर्ष उमेर ननाघेकाहरूले यो कर्जाका लागि आवेदन दिन सक्नेछन् । नेपाल राष्ट्र बैङ्कले यो कर्जा सुविधाका लागि ५% ब्याजदर तोकेको छ । यस कर्जा कार्यक्रम सुरुवात हुँदा ७ लाख रुपैयाँ अधिकतम कर्जा प्रवाह गर्ने भनिएता पनि अहिले यो कर्जाको सीमा २५ लाख रुपैयाँ बनाइएको छ । हालसम्म १ सय ५० . जनाले यो कर्जा कार्यक्रममार्फत सुविधा लिएका छन् । घरेलु तथा साना उद्योग, सीप विकास तालिम केन्द्र, सीटीईभीटी जस्ता निकायहरूबाट कम्तीमा सात दिनको तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । यो सँगै उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्‍त प्रस्ताव पेश गर्नुपर्ने हुन्छ । 

३ . वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा : 

स्वदेशमा नै उद्यमशीलता विकास गर्ने सोचका साथ २०७५ मा यो कर्जा कार्यक्रम सुरुवात गरिएको हो । विदेशबाट फर्किएर नेपालमा नै उद्यम गर्ने सोच बनाएका युवाहरूका लागि भनेर सरकारले ल्याएको यस कार्यक्रममार्फत अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रवाह हुन्छ । यस कर्जा कार्यक्रममार्फत ऋण लिएका  ऋणीले सरकारका तर्फबाट ५ प्रतिशत ब्याज अनुदान पाउँछन् । वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजना कर्जा पाउनका लागि कुनै पनि देशमा कम्तिमा ६ महिना सम्बन्धित तालिम, पेसा,व्यवसाय,क्षेत्रमा काम गरि स्वदेश फर्किएको र विदेशबाट फर्केको तीन वर्ष अवधि नकटेको हुनु पर्दछ । कुनै देशको स्थायी बसोबास स्वीकृति (पीआर, ग्रिन कार्ड) पाउने व्यक्तिलाई भने यो कर्जा दिइँदैन । यस कर्जामा आवेदन दिनका लागि कर्जा मागको आवेदन फर्मसँगै भिसा लागेको पासपोर्ट, सम्बन्धित कामको प्रमाण पत्र र उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्‍त प्रस्ताव पेश गर्नुपर्ने हुन्छ ।  

४ . महिला उद्यमशीलता कर्जा: 

सरकारका सहुलियतपूर्ण कर्जा कार्यक्रमहरूमध्ये यो कर्जा कार्यक्रमलाई सफल कर्जा कार्यक्रम मानिन्छ । महिलाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्दै महिला स्वरोजगारी सृजना गर्ने सोचका साथ यो कर्जा कार्यक्रम सुरुवात गरिएको हो । हालसम्म यो कर्जा कार्यक्रममार्फत ८२ हजार ९ सय २६ जना उद्यमी लाभान्वित भएका छन् ।  यस्तो कर्जामा महिलाले सरकारबाट ६ प्रतिशत ब्याज अनुदान पाउँछन् । उदाहरणका लागि कुनै बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याजदर तय गरे ६ प्रतिशत ब्याजदर सरकारबाट अनुदान पाइन्छ । बाँकी ४ प्रतिशत मात्र महिला उद्यमीले तिर्नुपर्छ । यो शीर्षकअन्तर्गत महिलाले बढीमा १५ लाख रुपैयाँसम्म ऋण लिन पाउँछन् । तपाईंले आफ्नो व्यवसाय नै धितोमा राखेर यो ऋण लिन सक्नु हुन्छ । राष्ट्रिय वाणिज्य बैंकबाट यस्तो कर्जा लिँदा ब्याजदर २. ३३ प्रतिशत मात्रै पर्दछ । सहुलियत दरको ऋण लिँदा आधार ब्याजदरलाई भने ध्यान दिनु जरुरी छ। बैंकहरूको आआफ्नै आधार दर रहेको हुन्छ ।

५. दलित समुदाय व्यवसाय कर्जा :  

दलित समुदायको पुर्ख्यौली व्यवसायहरूलाई प्रोत्साहन गर्ने साथै दलित उद्यमीलाई प्रोत्साहन गर्ने हेतुले यस कर्जा कार्यक्रमको सुरुवात गरिएको हो ।  दलित समुदाय व्यवसाय विकास कर्जामा ५ प्रतिशत ब्याज अनुदानमा बढीमा १० लाख रुपैयाँसम्म कर्जा लिन पाइन्छ । दलित जातजाति भित्रका १८ वर्ष उमेर पुरा भएका व्यक्ति वा समुहले यस्तो कर्जाका लागि आवेदन दिन सक्नेछन् । हालसम्म १ हजार १ सय ६ जनाले मात्र यस किसिमको कर्जा सुविधाबाट लाभ उठाएका छन् । 

६ . उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा :

गुणस्तरीय शिक्षामा सबैको पहुँच पुर्‍याउने सोचका साथ सुरुवात गरिएको यस कर्जा कार्यक्रमलाई सरकारको असफल कर्जा कार्यक्रमको रूपमा लिन सकिन्छ । यस कार्यक्रममार्फत हालसम्म मात्र १ सय ३७ जना लाभान्वित भएको तत्थ्याङ्क छ । माध्यामिक शिक्षा वा सो सरह उत्तीर्ण गरी २५ वर्ष उमेर ननाघेका आर्थिक रुपमा विपन्न, सीमान्तकृत विद्यार्थीले यो कर्जाका लागि आवेदन दिन सक्नेछन् । यस कर्जा अन्तर्गत ५ प्रतिशत ब्याज अनुदानमा बढीमा ५ लाख रुपैयाँसम्म पाउन सकिन्छ । कर्जा प्राप्त गर्नेले स्वदेशका क्याम्पस, विश्वविद्यालयमा नै पढ्नु पर्ने हुन्छ ।

७ .भूकम्प  पीडितको निजी आवास निर्माण कर्जा :  

२०७२ सालको विनाशकारी भुकम्पले प्रभावित व्यक्तिहरूलाई प्रोत्साहन गर्ने सोचका साथ यो कर्जा कार्यक्रमको सुरुवात गरिएको हो । यस किसिमको कर्जा कार्यक्रममार्फत हालसम्म मात्र २ सय १३ जना लाभान्वित भएका छन् । ३ लाख अधिकतम कर्जा पाउने यस कार्यक्रममा निवेदन दिनका लागि निवेदकले राष्ट्रिय पुनर्ननिर्माण प्राधिकरणले भुकम्प पीडित भनेर तोकेको प्रमाणपत्र, नागरिकता बुझाउनुपर्ने हुन्छ । 

८ .कपडा उद्योगका लागि कर्जा :

स्वदेशमा उत्पादित कपडालाई प्रबर्द्धन गर्दै कपडा उद्योगमार्फत स्वरोजगार सिर्जना गर्ने सोचका साथ सुरुवात गरिएको यस कर्जा कार्यक्रममार्फत हालसम्म २ सय ४५ जनाले ऋण सुविधा पाएका छन् । यस कर्जा कार्यक्रममा निवेदन दिनका लागि कपडा उद्योगको स्थायी लेखा नम्बर, प्रस्तावना र नागरिकताको प्रतिलिपि बुझाउनुपर्छ । यस कर्जा लिने ऋणिले ५% ब्याजदरमा सुविधा उपभोग गर्न पाउनेछन् ।

९. सीटीईभीटी सम्बन्धनका संस्थाबाट तालिमका लागि कर्जा:

नेपालमा नै सीपयुक्त जनशक्ति उत्पादन गर्ने सोचका साथ सुरुवात गरिएको यस कर्जा कार्यक्रममार्फत हालसम्म मात्र २ जना लाभान्वित भएका छन् । यस किसिमको कर्जा सुविधा लिनका लागि निवेदकले आफूले लिन चाहेको विषयगत तालिमको प्रकार खुल्ने गरि आफ्नो शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको फोटोकपी समावेश गर्नुपर्ने हुन्छ ।         

 १० .युवा स्वरोजगार कर्जा : 

युवा स्वरोजगारलाई प्रोत्साहन गर्दै बेरोजगारी न्यूनिकरण गर्ने सोचका साथ  २०७५ सालमा सुरुवात गरिएको यस कर्जा कार्यक्रम पनि सरकारको असफल कार्यक्रममा गणना हुने गरेको छ । यस कर्जा कार्यक्रम मार्फत हालसम्म जम्मा २७ जनाले मात्र सुविधा लिएका छन् ।  यस किसिमको कर्जा कार्यक्रममा आवेदन दिन चाहनेले आफूले गर्न चाहेको उद्यम खुल्ने गरिको  प्रस्तावना सम्भावित बजेट र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्ने हुन्छ ।   

यस्तो छ सहुलियतपूर्ण कर्जा लिने प्रक्रिया भिडियो : 

      

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *