गरिखानेका दुःख: गाउँमा बस्न गाह्रो‚ सहरमा जीविको धान्न 

बिना सुनार २०७९ जेठ ८ गते ११:२२

सैलुङ-९, रामेछापकी गोमा माया श्रेष्ठ काठमाडौं बस्न थालेको १५ वर्ष पुग्यो । आफूसँग भएको थोरै जग्गामा खेती किसानी गरेर अनि गाउँमा सामान्य ज्यालामजदुरी गरेर ५ जनाको परिवार धान्न मुस्किल भएपछि उनी र उनका श्रीमानले गाउँ छाडेर २०६४ सालमा काठमाडौं छिरे । काठमाडौं आएपछि  गोमा दम्पतीले  थुप्रै उतारचढाव देखे  र भोगे ।काठमाडौंको महङ्गीमा  बस्न खान,  छोराछोरी पढाउनका लागि दैनिक ज्यालामजदुरी गर्दा  उनीहरूलाई धौधौ थियो । ।

काठमाडौंमा गुजारा गर्नको लागि सडक छेउ  गोमाले नाङ्लोमा चुरोट र गुट्खा पनि बेचिन् । उनका श्रीमान् भोटेबहालमा भारी बोक्ने गर्थे ।  छोराछोरी साना भएकाले उनीहरू काम गर्न सक्ने थिएनन् । बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के भन्ने पिरलोले गोमाको परिवारलाई सधैँ सकस हुन्थ्यो । उनले  केही समय  नाङ्लो व्यापार गरिन् तर कमाइ भने राम्रो भएन । नाङ्लोमा एकै ठाउँ बसेर  व्यापार गर्दा ग्राहकहरू धेरै नभेटिने हुँदा बरु विभिन्न ठाउँमा डुलेर ठेलामा व्यापार गर्नसके २/४ पैसा बढी कमाउन सकिन्थ्यो कि भनेर गोमाले ठेलामा मकै, भटमास,केराउ अनि चटपटे राखेर  बेच्ने योजना बनाइन् ।  

आफन्तबाट १८ हजार ऋण लिइन् जसमध्ये ठेला किन्न १५ हजार खर्चिन् । बाँकी रहेको ३ हजारले सरसामान किनेर व्यापार गर्न सुरु गरिन् । उनको ठेलाको व्यवसाय राम्रै चल्दै थियो । तर सडक छेउमा व्यापार गर्न नगरपालिकाले दिएन । नगर प्रहरीले ठेला उठाएर लग्न थाल्यो । फेरी उनी भुईँमा नै पुगिन् । “नयाँ ठेला किन्न पैसा थिएन, पुरानो ठेला प्रहरीले फिर्ता दिएन,”  गोमा निराश हुँदै सम्झिन्छिन् ।

गोमाको ठेला नगर प्रहरीले पटक पटक गरी ३ चोटि लागिसक्यो, तर फिर्ता भने एउटा पनि पाएकी छैनन् । “ठेला पनि लान्छन्, सामान पनि लान्छन्, जति भनेपनि फिर्ता भने दिदैनन् । मेहेनत गरेर खान पनि दिदैँनन्,”  गोमा गुनासो पोख्छिन् ।   

दिनको ५ देखि ६ सय रुपैयाँ कमाउन धौधौ पर्ने गोमालाई अहिले पनि कतिबेला प्रहरीले ठेला लैजान्छ र आफू भुईँमै पुग्छु कि भन्ने डर लागिरहन्छ । 

भर्खरै स्थानीय सरकारको चुनाव सकिएको छ । दलहरूले ठूला ठूला वाचा गरेका छन् । रोजगारीको ग्यारेन्टी गर्न नसक्ने केन्द्रदेखि स्थानीय सरकारसम्मले आफैं काम गरेर खान खोज्ने गोमाहरुलाई गरिखान दिन्छ कि उनीहरूको ठेला खोसेर झन् दुःख देला त ?

हेर्नुहोस्, ठेला व्यवसायी गोमाको कथा जीविको भिडियोमा :

भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *