एक दशकदेखि स्ट्रबेरी खेती गरेकी रिनाको अनुभव: फल मिठो, आम्दानी छिटो स्ट्रबेरीको बगैँचामा लागेका झारपात उखेल्दै ककनी नुवाकोटकी रिना तामाङ, फोटो: पुष्कल श्रेष्ठ/जीविको

बिना सुनार २०७९ जेठ २ गते १८:२३

दाँया हातमा ब्यान्डेज बाँधेकी अधबैँसे महिला स्ट्रबेरीको बगैँचामा देब्रे हातले झार उखेल्दै थिइन् । बगैँचामा लटरम्म स्ट्रबेरी फलेको थियो । हरियो बोटमा रातै भएर स्ट्रबेरी पाकेका थिए । हेर्दै खाँउखाँउ लाग्ने स्ट्रबेरी देखेपछि स्वाद नलिइ त्यसै अगाडि बढ्न हामीलाई मन नै लागेन । बाटोबाटै सोध्यौँ, “दिदी स्ट्रबेरी किलोको कसरी ?”

काम गरिरहेकी ककनी नुवाकोटकी रिना तामाङ (५५) ले हामीलाई हेरेर मुसुक्क हाँस्दै भनिन्, ‘लाने कि, यहीँ खाने ?’

‘लाने पनि, खाने पनि,’ हामीले जवाफ फर्कायौँ ।

वर्षौंदेखि रिनाले स्ट्रबेरीको खेती गरिरहेकी छिन् । मकै, तोरी, धान, गँहु जस्ता परम्परागत अन्नबाली भन्दा स्ट्रबेरी खेतीमै राम्रो कमाइ हुने भएकोले उनको परिवारले यो खेती गरेका हुन् । ककनीका आधिकांश कृषकहरूले व्यवसायिक रूपमै स्ट्रबेरी खेती गर्ने गरेका छन् । रमणीय ठाउँ ककनी जाँदा बाटैमा पर्ने घिर्जेतमा स्ट्रबेरी खेती गरेको टनेलहरू प्रशस्तै देखिन्छ ।

रिनाले स्ट्रबेरी खेती गर्न थालेको करिव १ दशक बितिसक्यो । यही स्ट्रबेरी खेतीबाटै उनको घर खर्च धानिएको छ । उनका दुई छोरीको पालन पोषण, पढाई र उनीहरूको विवाह खर्च स्ट्रबेरी खेतीबाटै जुटाएको रिना बताउँछिन् । रिना भन्छिन्, “आफ्नो आम्दानीको बाटो नै यही हो । घरायसी सबै खर्च स्ट्रबेरीको खेतीबाटै कमाएको आम्दानीले धान्ने गरेका छौं ।”

रिना तामाङले फलाएको स्ट्रबेरी, फोटो: पुष्कल श्रेष्ठ/जीविको

स्ट्रबेरी खेतीको व्यवसायिक तालिम भने रिनाले लिएकी छैनन् । ‘जाइटी नेपाल’ नामक संस्थाले स्ट्रबेरी खेतीका लागि त्यहाँ प्रोजेक्ट पुर्‍याएपछि अरु स्थानीयसँगै उनले पनि खेती सुरु गरेकी हुन् ।

रिना तामाङले गरेको स्ट्रबेरी खेती, फोटो: पुष्कल श्रेष्ठ/जीविको

सुरुका दिनमा रिनालाई स्ट्रबेरीको खेती राम्रो हुने हो वा होइन, खटाइअनुसार आम्दानी कस्तो हुने हो, स्ट्रबेरी बजारमा नबिके के खाने हो भन्ने कुराले खुबै चिन्ता लाग्ने गर्थ्यो । तर स्ट्रबेरीले पहिलो पटकमै राम्रो आम्दानी दिएपछि यसलाई नै व्यवसाय बनाएर अगाडि बढ्ने अठोट लिएको उनले बताइन् । अहिले आफूसँग भएको २ रोपनी जग्गामा स्ट्रबेरी खेती गरेर उनले एउटा सिजनमा ३ लाख रुपैयाँसम्म आम्दानी गर्दछिन् ।

हुन त अहिले धेरैले स्ट्रबेरीलाई घरको करेसादेखि कौसीमा पनि खेती गर्ने गरेका छन् । ‘स्ट्रबेरी जोन’ का रुपमा परिचित ककनीमा मात्रै स्ट्रबेरी खेती हुँदै आएकोमा अहिले नेपालका विभिन्न क्षेत्रमा यो खेतीको विस्तार हुँदै गएको छ । केही वर्षअगाडि झापा लगायत तराइका केही स्थानमा पनि तापक्रम सन्तुलन मिलाएर स्ट्रबेरी लगाउन सुरु गरिएको थियो । अमिलो र गुलियोको मिश्रित स्वाद हुने स्ट्रबेरीलाई फलफूलको रानी पनि भनिन्छ । स्ट्रबेरी स्वास्थ्यको हिसाबले पनि उत्तिकै लाभदायक मानिन्छ । गर्मी मौसममा अत्याधिक माग हुने स्ट्रबेरी कात्तिकदेखि फल्न सुरु भएर बैशाख दोस्रो सातासम्म पाइने गर्दछ । स्ट्रबेरीका विभिन्न जातमध्ये रिनाले ‘रेडकोर्ट’ नाम गरेको जातको स्ट्रबेरी आफ्नो बारीमा लगाएकी छिन् । वरिपरि सबैले स्ट्रबेरी खेती गर्ने हुँदा घिर्तेजका किसानहरू एक अर्कामा मिलेर काम गर्ने गर्छन् ।

रिना भन्छिन्, “हामी काम बढी हुँदा पर्म लगाएर पनि गर्ने गर्दछौँ । एकजनाको फार्ममा काम सघाएपछि उसले पनि सघाउन आउनेहरूकोमा गएर पर्म तिर्नुपर्ने हुन्छ । यसो गर्दा काम चाँडै सक्नुको साथै ज्याला लगाउने पैसाको पनि बचत हुन्छ ।”

स्ट्रबेरी खेती गर्न सजिलो भने छैन । स्ट्रबेरी रोपेपछि यसलाई भर्खर जन्मिएको बच्चालाई जस्तै स्याहार गर्नुपर्ने, दिन बिराएर नै झार उखेल्नु पर्ने, कीटनाशक औषधी, पानीको मात्रा मिलाउने, मल्चिङ गर्ने जस्ता थुप्रै कामहरू गर्नु पर्ने रिना बताउँछिन् । एक पटक फलेको बिरुवाले अर्को सिजनमा राम्रो फल नदिने हुँदा पुरानो बोटबाट नयाँ बीउका लहराहरू आउँछन् त्यसको पनि विशेष ख्याल गरेर नयाँ बिउ निकाल्नुपर्ने बताउँछिन् रिना । रिना भन्छिन्, “स्ट्रबेरीको व्यवसायिक खेती गर्दा माटोमा कुन तत्व कम छ, कुन धेरै छ आदीको बारेमा राम्रोसँग अध्ययन गर्नु पर्दछ। त्यसपछि ड्याङ बनाउँदा, मल हाल्दा पनि विशेष ध्यान दिनुपर्छ ।”

रिनाका अनुसार भदौ र असोजको पहिलो हप्तासम्म किसानले स्ट्रबेरीका बिरुवा रोप्छन् । रोपेको एक महिनामै फल लाग्न थाल्छ । कात्तिकको पहिलो हप्ताबाट बजारमा पुग्न थाल्छ र करिब बैशाखसम्म फल्छ भने जेठको अन्तिममा स्ट्रबेरी फल्न बन्द हुन्छ । त्यसपश्चात् फले पनि बर्खाको पानीले फल कुहिने हुँदा त्यो खेर जाने रिना बताउँछिन् ।

उत्पादन बढी भएर बजारमा स्ट्रबेरी नबिके पनि रिनालाई केही चिन्ता भने हुँदैन । बढी भएका स्ट्रबेरीलाई जुस, जाम अनि रक्सी बनाएर पनि बेच्ने गर्छिन् उनी । यसबाट पनि थप आम्दानी हुने रिना बताउँछिन् ।

ककनी, नुवाकोटमा स्ट्रबेरी बेच्न बसेका स्थानीयहरू, फोटो: पुष्कल श्रेष्ठ/जीविको

स्ट्रबेरी बेच्न रिना आफैँ बजारसम्म पुग्न भने पर्दैन । गाउँमा नै स्ट्रबेरी संकलन केन्द्र बनाइएको छ । केन्द्रले यस क्षेत्रमा उत्पादित सबै स्ट्रबेरी बजारमा पुर्‍याइन्छ । स्ट्रबेरी बेचेबापत किसानले प्रतिकेजी ३ सय ५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्म पाउने गर्छन् भने यसको बजार भाउ औसतमा ८ सय रुपैयाँ प्रति केजीसम्म रहेको छ ।

स्ट्रबेरी बेचेरै सिजनमा ३ लाख रुपैयाँसम्म आम्दानी हुने हुँदा यो खेतीबाट आफ्नो परिवारको जीविकोपार्जन सन्तोषजनक रुपमा चलिरहेको रिनाले बताउँछिन् । रिनालाई घरखर्च धान्नलाई अरूसँग आश्रित हुन नपरेको हुँदा यो व्यवसाय गरेर उनी सन्तुष्ट छिन् । खाली जग्गा भेटेको खण्डमा अझै जग्गा भाडामा लिएर पनि स्ट्रबेरी खेतीलाई बढाउँदै लैजाने उनको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *