चुनावले रोक्न सकेन परदेसिनेहरूलाई (भिडियो) स्थानीय तह निर्वाचनको मतदान प्रकृया सुरु हुनुभन्दा केही घण्टा अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको विदेशिनेहरूको भिड, फोटो:पुष्कल श्रेष्ठ/जीविको

धर्मराज रिमाल २०७९ वैशाख ३० गते ८:५५

एकातिर देश चुनावमय छ । सानादेखि ठूला दल, स्वतन्त्रदेखि बागी उम्मेदवारसम्मका चर्चाले गाउँ, टोल र मिडियासम्म रंगिएका छन् । तर अर्कातिर एयरपोर्टमा वैदेशिक रोजगारमा जानेको लर्को चुनाव अघि, चुनावको दिन पनि उस्तै रह्यो ।

चितवनकी अप्सरा तिमिल्सिना त्यही परदेस जाने लाइनमा थिइन् । उनका आँखा रसाइरहेका थिए, अनुहार मलिन थिए, ओठमा बनावटी हाँसो अनि मन गर्हौं पारेर स्थानीय तह निर्वाचनको ठीक एकदिन अगाडि अप्सराजस्ता हजारौँले देश छाड्दै थिए । परदेसिन लागेकाहरूको भिडले विमानस्थल भरिभराउ थियो ।

रोजगारीका लागि दुबई उड्न लागेकी चितवनकी अप्सरा तिमिल्सिना, फोटो:पुष्कल श्रेष्ठ/जीविको

जाउँ; परिवार छाड्न मनले दिँदैन, नजाउँ घरमा चुल्हो बल्दैन ।

भोट हाल्ने समय सुरु हुनुभन्दा केही घण्टा अगाडि मात्र उड्न आँटेका यी पासपोर्टधारीहरूलाई कसैले रोक्न सकेनन् । वडाले सुनेन, पालिकाले देखेन, प्रदेशले बुझेन अनि केन्द्रले महसुसै गरेन लाखौँ युवाको बाध्यता ।

हरेक चुनावमा स्वदेशमै रोजगारी भनेर आश्वासनका भेल बगे तर चुनावपछि कहिल्यै योजनाका मूल फुटेनन् । त्यसैले त वार्षिक ५ लाखभन्दा बढीले देश छाड्न बाध्य छन् ।  यो चुनावमा पनि यिनीहरूलाई समृद्दि र विकासका नारामा विश्वास जागेन । अनि मतपत्र खसाउनु भन्दा पासपोर्ट समाउनु उचित ठाने ।

५५ हजारभन्दा बढीले गत महिना मात्र श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगार विभागका अनुसार २०७८ वैशाखदेखि चैत अन्तिमसम्म ५ लाख ९ हजार ५९३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । विगत केही महिनायता दैनिक १५ सयभन्दा बढी युवाहरू वैदेशिक रोजगारीमा गइरहेका छन् । वैदेशिक रोजगारमा गएकाहरूले गत महिना चैतमा मात्र साढे ९३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा पठाएका थिए ।

राजनीतिप्रति खास अपेक्षा छैन उनीहरूलाई । सरकारप्रति आक्रोश छ, तै पनि देशलाई बचाइरहेका छन् उनीहरूले नै । देश त विदेशिनेले पठाएको रेमिट्यान्सले चलिरहेको छ । चुनावहरू आउँछन्, जान्छन् । सरकारहरू आउँछन्, जान्छन् । यसैगरी उनीहरू पनि गइरहेका छन् । 

उनीहरूका कथा भिडियोमा…

भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *