दश हजारको साइकल मर्मत केन्द्रलाई शान्तिले बनाइन् १० करोडको इन्टरप्राइजेज (भिडियो)

बिना सुनार २०७८ चैत १७ गते ११:१५

खैरो रङ्गको कुर्था, कालो सुरुवाल र कालो ज्याकेट लगाएकी अधबैंसे महिला ललितपुर नख्खु कारागार अगाडि रहेको पोदार इन्टरप्राइजेजमा आउने ग्राहकलाई हेलमेट देखाउँदै थिइन् । त्यही क्षणमा एउटा स्कुटर पसल अगाडि आएर रोकियो । “इन्जिनबाट आवाज आइरहेको छ, के भएछ हेरिदिन पर्‍यो,” स्कुटरका चालकले भने ।

हेलमेट देखाउँदै गरेकी शान्ति हत्तपत्त हातमा स्क्रु ड्राइभर बोकेर स्कुटर खोल्न थालिन् । विगत २२ वर्षदेखि वर्कसपको काम सम्हाल्दै आएकी ३८ वर्षीय शान्ति अब त आवाजले नै मोटरसाइकलको समस्या थाहा पाउने भइसकिन् ।

“२२ वर्ष मर्मतकै क्षेत्रमा काम गरेँ, अहिले साधनमा के समस्या आयो भनेर एकैछिनमा नै थाहा पाउँछु,” शान्ति भन्छिन् ।

शान्तिले अटोमेकानिक्स सम्बन्धी कुनै किसिमको व्यवसायीक तालिम लिएकी छैनन् । २ दशक लामो समयदेखि वर्कसप चलाएर बसेकी उनलाई उनकै श्रीमान अमर पोदारले काम सिकाएका हुन् । काठमाडौं महाराजगञ्जमा जन्मिएकी शान्तिको विराटनगरका अमरसँग २२ वर्ष पहिले अन्तरजातीय विवाह भयो । तर उनीहरूको प्रेम विवाहलाई परिवारले भने साथ दिएन । यसरी  परिवारको सहयोग नपाएपछि पोदार दम्पतीलाई काठमाडौंमा खान, बस्न तथा आफ्नो वैवाहिक जीवन अगाडि बढाउन धेरै नै सकस भयो ।

धेरै पढे लेखेको नभए पनि अमरले साइकल बनाउन जानेका थिए । सुरुवातमा उनी ललितपुर र काठमाडौंका गल्लीहरूमा हिँडेर साइकल खोज्थे र लिएर आएर मर्मत गर्थे । दुबैजना मिलेर साइकलको ट्युब टाल्ने गर्थे । यसरी काम गर्दै जाँदा आफ्नो खर्च काटेर थोरै थोरै बचत पनि गर्न थाले । कति अरुको घरघर चाहरेर काम गर्नु भन्ने  सोचेर बचत भएको १० हजार लगानीमा उनीहरूले साइकल मर्मत केन्द्र खोले । १०  हजार लगानीमा खोलेको मर्मत केन्द्र अहिले १० करोड भन्दा माथिको पुगिसक्यो ।

“कुकर, ग्याँस, भाँडा सबै हामीले मर्मत गर्थ्यौँ । त्यही पेसाले हामीलाई यहाँसम्म पुर्‍यायो । अहिले पनि हामीले मर्मत गर्न छाडेका छैनौँ । जसले जे मर्मत गर्न ल्याउँछ हामी त्यसलाई बनाइहाल्छौँ,” सुनाउँछिन् ।

अहिले पोदार इन्टरप्राइजेजमा बिग्रीएका साइकल, मोटरसाइकल, ग्यास चुलो मात्र बनाइदैन । साइकल, मोटर साइकल र गाडीका पार्टपुर्जा पाउनुकासाथै  रि-कन्डिसनमा खरिद बिक्री पनि गरिन्छ । श्रीमान श्रीमतीले मात्र सुरु गरेको व्यवसायमा अहिले ३२ जना कर्मचारी रहेका छन् ।

बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म यो दम्पती वर्कसपमै खटिने गर्दछन् । “कहिले सामान लिन दौडियो, कहिले काउन्टर हेर्‍यो, कहिले पार्टपुर्जा खोलखाल गर्‍यो, कहिले वास गर्‍यो, ब्यस्त भइन्छ । खाजा खानलाई पनि फुर्सद हुँदैन ।”  शान्ति सुनाउँछिन् ।

पहिले साइकल मर्मत केन्द्र मात्र हुँदा महिनाको १ हजार भाडा तिर्नुपर्थ्यो शान्तिले । पसल ठूलो  हुँदै गएपछि अहिले त्यही ठाउँमा २ लाख मासिक भाडा बुझाउनु पर्ने उनी बताउँछिन् ।

आफ्नो मेहनतले यसरी व्यवसाय बढ्दै गएको देखेर शान्तिलाई धेरै खुशी लाग्छ । उनी भन्छिन्, “ अर्काको काम गर्दा तलब बुझ्न महिनादिन पर्खिनुपर्छ । हामीलाई त काम सक्ने बित्तिकै पैसा आइरहन्छ । त्योभन्दा ठूलो खुसी त आफैँले मेहेनत गरेर कमाएको पैसा लिन पाउँदा झन् गर्व महसुस हुन्छ । “

सामान्य रुपमा धेरै जसो वर्कसपमा हामी पुरुषले नै काम गरेको देख्छौं । शान्ति जसरी वर्कसप चलाउने महिला बिरलै भेटिने गरिन्छ तर उनी  महिला भएकै कारण कुनै समस्या भोग्नु नपरेको बताउँछिन् । कतिले त उनलाई महिला भएर पनि यस्तो काम गरेको भनेर प्रेरणा दिएर जाने गर्छन् ।

हेर्नुहोस् अटोमेकानिक तथा उद्यमी शान्तिको भिडियो कथा

भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ, सुप्रिम बिष्ट/जीविको

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *