‘छोरीमान्छे पनि डकर्मी बन्छन् ?’

निर्माण कार्यमा पनि अग्रसर छन् महिला 

बिना सुनार २०७८ फागुन २५ गते १९:०७

स्नातक तह तेस्रो वर्षमा अध्ययनरत सिन्धुलीकि सुनिता लामा यतिवेला दुई महिनाको कडा मेहेनतको पर्खाइमा छिन् । व्यग्रताका साथ नतिजाको पर्खाइमा भए पनि उनलाई मार्कसिटमा कुन डिभिजन आउला ? कति प्रतिशत आउला ? कसले म भन्दा धेरै नम्बर ल्याउला ? भन्ने चिन्ता  छैन कहिले परीक्षाको नतिजा आउला  र कर्नी (ज्यावल) हातमा लिएर काम गर्न पाउँला भनेर उनी उत्साहित छिन् । 

ट्रेनिङ सेन्टर नेपालबाट ६५ दिनको निर्माण कार्यको तालिम (डकर्मी) लिइसकेपछि परीक्षा दिएर बसेकी सुनितालाई त्यसको नतिजा आउने बित्तिकै आफूले सिकेको काम व्यवहारमा ल्याउन हतार परेको छ । उनी भन्छिन्, “बि. एड तेस्रोको नतिजा कहिले आउला, के आउला मलाई खासै उत्सुकता छैन । तालिमको नतिजा कहिले आउँछ भनेर चाहिँ बाटो हेरेर बसेकी छु

“छोरी मान्छेले पनि डकर्मी काम गर्छन् ?” सुनितालाई उनको परिवारले सुरुमा असहमति जनाउदै यो प्रश्न गरेको थियो । यस्तो ढुङ्गा, माटो, ईटा, सिमेन्ट, बालुवा चलाउने काम किन गर्नु पर्‍यो ? यस्तो गार्हो काम, फेरी यो छोरी मान्छेले गर्ने काम हो र ? भनेर सुनितालाई तालिम लिन जानु पर्दैन भनेका थिए । तर उनले ‘म यो काम गर्न सक्छु, मलाई आँट छ यो काम गर्न, काम पनि छोरीमान्छेको छोरा मान्छेको भन्ने हुन्छ र ?’ भनेर सम्झाए पछि आमा बुबाले अनुमति दिए ।   

सुनिता भर्खरै स्नातक तहमा अध्ययन गर्दै थिइन् । उनले आफूले पढेको विषयले भोलिको दिनमा आयआर्जनको बाटो तय गर्न सहयोग गर्ला वा नगर्ला भन्ने चिन्ताले सताइरहन्थ्यो । आफ्नो गाउँ ठाउँमा भएका युवाहरू २० वर्ष लाग्दै गर्दा पासपोर्ट बनाउन कुरिरहेको देख्दा नेपालमा काम नपाउने अवस्था नै हो कि भनेर उनी घोत्ली रहन्थिन् । गाउँघरमा निर्माण सम्बन्धी काममा जनशक्तिको कमी हुने,  अझ  सदरमुकामतीर  भारतबाट आएका मिस्त्रीहरूको बाहुल्यता देख्दा सुनितालाई आफू पनि डकर्मी सम्बन्धी सीप सिकेर आफ्नै ठाउँमा रोजगार हुने सोच आयो ।

वडा कार्यालयमा गएर उनले  डकर्मी सम्बन्धी सीप कहाँ सिक्न पाइन्छ भनेर बुझिन् । वडाले यस विषयमा सहजीकरण गर्‍यो अनि केही समयपश्चात् उनलाई निःशुल्क डकर्मी सीप सिक्नका लागि काठमाडौंमा रहेको ट्रेनिङ सेन्टर नेपालमा पठायो । परिवारले असहमति जनाउँदा जनाउँदै पनि उनी सीप सिक्नका लागि काठमाडौं लागिन् । करिब दुई महिनाजति उनले डकर्मीको सीप सिकिन् । उक्त तालिम केन्द्रमा डकर्मीको तालिम लिने पनि जम्मा २ जना महिला मात्र थिए ।

ट्रेनिङ सेन्टर नेपालमा डकर्मी तालिम लिँदै सुनिता र उनको साथी
फोटो : पुष्कल श्रेष्ठ/जीविको

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् ( सिटिईभिटि ) का सीप परीक्षण शाखाका सहायक  सिमानन्द मिश्रका अनुसार पनि अन्य क्षेत्रका तुलनामा निर्माण क्षेत्रमा सीप परीक्षण गराउने तथा तालिम लिने महिलाको संख्या एकदमै न्यून छ । 

उनी भन्छन्, “ब्युटिपार्लर, मन्टेश्वरी आदिको तालिम लिने महिलाहरू अधिक भएपनि निर्माण व्यवसायमा महिलाहरूले खासै रूचि नदेखाएको देखिन्न ।”

सुनितालाई भने यी विषयमा भन्दा केही फरक गर्न मन लाग्यो र डकर्मीको तालिम लिने निधो गरिन् । तालिम अवधिभरि  सुनिताले सीप सिकेको मात्र होइन त्यहाँ रहँदा बसेको खाएको पनि पैसा तिर्नु परेन  । उनीजस्ता सयौँ युवाहरू यसरी नै निःशुल्क सीप सिक्नका लागि उक्त तालिम केन्द्रमा देशैभरीबाट आएका थिए । कोही प्लम्बिङ सिक्दै थिए, कोही बारिस्टा (कफी बनाउने) अनि कोही हातमा कर्नी ज्यावल बोकेर निर्माण सम्बन्धी सीप सिक्दै थिए ।

“तालिम लिइसकेँ, छिट्टै रिजल्ट आउँछ त्यसपछि काम खोज्नु छ। प्राविधिक ज्ञान त प्रशस्तै छ तर काममा बलको आधारमा पुरूषलाई प्राथमिकता दिइने होकी भन्ने डर लागेको छ,” सुनिता भन्छिन् । 

सानैदेखि घर बनाउने, पर्खाल लगाउने जस्ता कामहरू पुरुषहरूले मात्र गर्दै आएको देखेकी सुनिताले सोचेकी पनि थिइनन्  कि यस्तो काम महिलाले पनि गर्न सक्छन् भन्ने तर आफूले चिनेको एकजना दिदीले डकर्मीको काम महिलाले पनि सिक्न सक्छन् भने पछि उनलाई पनि यो तालिम लिने इच्छा जाग्यो अनि त्यहाँ गएर फारम भरी तालिम लिन थालिन् ।

सुनिताले जागिरको लागि २ \ ४ वटा अफिसमा नधाएको भने होइन तर पढाईको सर्टिफिकेट हातमा भए पनि  सीप र अनुभव नहुँदा खोजे जस्तो जागिर पाउन सकिनन् । काम नहुँदा पढाई खर्च धन्न पनि मुस्किल नै थियो सुनितालाई । ३ भाई र उनी एउटी छोरी गरेर ४ जनालाई पढाई खर्च पुर्‍याउन बुबालाई हम्मेहम्मे नै परेको छ । त्यसैले यस्तो अवस्थामा सीप सिक्न पाएकोमा अब यसै क्षेत्रमा काम गरेर अगाडि बढ्ने सोच बनाएकी छिन् । 

“बालुवा, माटो, इँटा ढुङ्गा, डन्डी, सिमेन्ट जस्तो कच्चा पदार्थ कहिले नदेखेको नौलो कुरा त होइन तर तालिममा त्यसलाई आफ्नै हातले समातेर मसला ( बालुवा र सिमेन्टको मिश्रण ) हाल्दै गार्हो लगाउँदा गर्वले छाती फुलेको थियो,” सुनिता सुखी हुँदै आफ्नो अनुभव सुनाउँछिन् ।

कहिले पनि निर्माण कार्यलाई नियालेर नहेरेकी सुनितालाई  तालिममा सिकाइएका सबै कुराहरू नौलो लाग्यो । यो क्षेत्रमा काम गर्ने चाहना झनै  बढ्दै गयो ।

हुनतः महिलाहरु पनि अहिले घरबाट बाहिर निस्केर बिभिन्न पेशा व्यवसायमा लागेका छन् । डाक्टर, इन्जिनियर, पाइलटदेखि शिक्षक, व्यवसायी, लेखक, कलाकार, राजनीति लागायतका सम्पूर्ण क्षेत्रमा महिलाहरूको सीमित सहभागिता देखिन्छ तर निर्माण क्षेत्रमा विशेषगरी महिला डकर्मीको संख्या भने अत्यन्तै कमी रहेको देखिन्छ । यस क्षेत्रमा लागेका केही महिला डकर्मीहरू पनि  पुरुषको सहयोगीको रुपमा मात्र काम गर्दै आएको पाइन्छ । निर्माण व्यवसायको क्षेत्रमा डकर्मीको काम गर्ने पुरुषहरूले दैनिक १५ सय ज्याला पाउने गरेका छन् तर समान काम गर्दापनि महिलाहरूको हकमा भने दैनिक ८ सय देखि १ हजार रुपैयाँ सम्म मात्र कमाइ हुने गरेको छ । सुनितालाई पनि यही कुराले पिरोल्न थालेको छ  । 

“पहिलो कुरा हामीलाई यस्तो काम गर्छौँ भन्दा अवसर नै दिइदैन । महिला भएकोले गर्दा विश्वास नै गर्दैनन् । दिइहाले भने पनि पुरुषको भन्दा कम ज्यालामा काम गर्नुपर्छ,” सुनिता गुनासो पोख्छिन् । 

डकर्मीको परीक्षा सकेकी सुनिताले अझ एउटा परीक्षा भने दिन बाँकी छ – आफूले सिकेको सीपलाई देशमै सम्मानजनक रूपमा प्रयोग गर्न पाउने हो वा विदेश नै पलायन हुने हो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *