महिला उद्यमशीलता र सीप प्रवर्द्धनमा ललितपुर महानगर कोशेढुंगा बन्छ : महिला विकास महाशाखा प्रमुख महेश्वरी

जीविको २०७८ फागुन २४ गते १३:३६

ललितपुर महानगरपालिकाले महिला तथा उद्यमशीलता प्रवर्द्धनमा नेपालकै अग्रणी रहेको दाबी गर्ने गरेको छ  । तीन वर्षबाट महानगरपालिकाले महिलाहरूको चौतर्फी विकासका लागि भनेर महिला विकास शाखाको सुरुवात गरिएको छ । यसरी महानगरले सुरुवात गरेको महिला विकास शाखाले महिला उद्यमीहरूलाई उद्यम तथा सीप सम्बन्धी तालिमहरू प्रदान गर्ने, महिला उद्यमीको सर्वेक्षण गरि उनीहरूलाई उत्पादनमूलक क्षेत्रमा काम गर्न लगाउने, उनीहरूसँग नियमित अन्तरक्रिया कार्यक्रम गर्ने जस्ता काम गर्दै आएको छ । यी बाहेक पनि शाखाबाट महिलाहरूको उद्यम विकासका निम्ति के कस्ता कार्यहरू सञ्चालन गर्दै आएको छ । महिला उद्यम विकासका लागि स्थानीय तहको भूमिका के हुन सक्छ ? यसका लागि ललितपुर महानगरपालिकाको भावी योजना के के छन् ? जस्ता विषयहरूमा केन्द्रित रहेर जीविको डटकमले ललितपुर महानगरपालिका, महिला विकास महाशाखा प्रमुख  महेश्वरी विष्ट रावलसँग संवाद गरेको छ :

ललितपुर महानगरपालिकामा महिला उद्यमीहरूको अवस्था कस्तो छ ? 

पछिल्लो समय ललितपुर महानगरपालिका भित्र उद्यम गरिरहेको महिला उद्यमीहरूको जीवनस्तरमा परिवर्तन आएको छ। साथै उद्यम गर्न चाहने महिला उद्यमीको संख्या पनि बढेर गएको छ। हामीले गरेको  सर्वेक्षण अनुसार महानगरपालिकामा  ७००० उद्यम दर्ता भएका मध्ये १५४ जना मात्रै महिला थिए । यसरी उद्यम दर्ता गरेर बसेका महिलाहरूले पनि आफ्नो उद्यमलाई निरन्तरता दिन नसकिरहेको तत्थ्य थियो । दर्ता भएका १ सय ५४ वटा उद्योग पनि पुरूषको मातहतमा चलिरहेका थिए । अहिले भने ललितपुर महानगरपालिकामा ३ सय भन्दा बढी महिलाहरूको नाममा व्यवसाय दर्ता भएको छ । 

तर गत वर्ष र अहिले भने महानगरले महिला उद्यमीलाई प्रोत्साहन गर्ने गरि विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गर्न सुरुवात गरेका कारण पछिल्लो समय उद्यम दर्ता गर्न चाहने महिलाको संख्या र सक्रिय महिला उद्यमीको संख्या भने बढेर गएको छ ।  

 ललितपुर महानगरपालिका अन्तर्गतको महिला विकास महासाखाले महिला उद्यमशीलताको लागि के केस्तो काम गरेको छ ?

महिला विकास महाशाखा खोलेपछि सबैभन्दा पहिले हामीले महिला उद्यमशीलताबारे तालिम दिनुभन्दा पनि महिला उद्यमीहरूको अवस्था कस्तो छ भन्ने कुरा बुझ्नका लागि महानगरभित्र रहेका महिला उद्यमीहरूको सर्वेक्षण गर्यौँ ।  सर्वेक्षणमा महानगरपालिका भित्र पर्ने वडाहरूमा महिला उद्यमी कति छन् , उनीहरूले के कस्ता उद्यमहरू गरिरहेका छन् ? उनीहरूले सञ्चालन गरेका उद्यमहरूको अवस्था कस्तो छ ? भन्ने जस्ता विषयहरू समावेश गरिएको छ । यसरी गरिएको सर्वेक्षणमा महानगरपालिका भित्र ३ सय बढी महिला समूहहरू रहेको भेटिए  । समूहमा जोडिएका महिलाहरू उद्यममा संलग्न भएता पनि प्रभावकारीरूपमा उत्पादन दिन नसकिरहेको र आफ्नो व्यवसायलाई व्यवस्थित गर्न नसकिरहेको भेट्टायौँ ।  महिलाहरूले गरेको उत्पादनलाई बजारीकरण गर्न नसकेको अवस्था भेट्टियो । यसरी सर्वेक्षण गरेपछि महिला उद्यमीहरूको अवस्था थाहा पायौँ र सोही अनुरूप उनीहरूलाई बजार व्यवस्थापन, बजार माग र महिला उद्यमीहरूलाई सरकारले दिने सहुलियतपूर्ण सहयोगहरूबारे जानकारी दिने हिसाबका तालिम कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौँ ।  हामीले महिला उद्यमीहरूलाई परामर्श दिने किसिमका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौँ ।  ललितपुर महानगरपालिकामा महिला विकास महाशाखा सुरुवात गरेको भर्खर ३ वर्ष पुगेको छ । यसअघि महानगरपालिकामा यस्तो छुट्टै निकाय सुरुवात गरेको थिएन । महिला विकास सम्बन्धी काम महानगरपालिका आफैँले गर्ने गर्थ्यो ।  महानगरले कुनै निकाय बिनानै महिला विकासको कामहरू अगाडि बढाउँदा महिला उद्यम प्रवर्द्धनका लागि पर्याप्त काम अगाडि बढाउँन सकिएको थिएन । पछिल्लो समय भने महिला उद्यमशीलता प्रवर्द्धन गर्ने किसिमका कार्यक्रम सञ्चालन गर्न महानगरले गति पकडेको छ ।

उद्यम क्षेत्रमा महिलाको सहभागिता यति न्यून हुनुको कारण के होला ?

मुख्य कारण त सरकारी काम बारे महिलाहरू अनविज्ञ हुनु नै हो । उनीहरूलाई सरकारले उद्यम प्रवर्द्धन गर्न के कस्ता कार्यक्रम ल्याएको छ, उद्यम सम्बन्धी के कस्ता सीपहरू सिक्न सकिन्छ भन्ने बारे जानकारी नहुनाले पनि उद्यममा महिला सहभागिता कम भएको हो । दोस्रो, घरायसी काममा नै महिलाहरूले आफ्नो ठूलो समय खर्च गर्ने हुँदा बजार माग र कस्ता सामाग्री उत्पादन गरेमा बजार पाउन सकिन्छ भन्ने  ज्ञान उनीहरूसँग नहुँदा  उद्यममा महिला सहभागिता न्यून देखिएको छ ।  

उद्यमशीलताको बारेमा गरिरहेका कामहरूका बारे जनचेतना कसरी जगाउँदै हुनुहुन्छ ?

 सामाजिक सञ्जाल पहिलो सूचना दिने संयन्त्र हो ।  सामाजिक सञ्जाल सूचना प्रवाह गर्ने प्रभावकारी संयन्त्र भएको कारणले हामीले यो माध्यमलाई पहिलो सूचना दिने संयन्त्रको रूपमा लिएका छौँ । साथै महानगरको वेबसाइटमार्फत पनि हामीले सञ्चालन गरिरहेका कार्यक्रम बारे जानकारी गराइरहेका छौँ ।त्यस्तै हामी गत पौषबाट उद्यमशीलता बारे जानकारी दिने किसिमका वर्कसपहरू जुम मार्फत हरेक शुक्रबार नियमित गरिरहेका छौँ  । यसबाहेक टोल भ्रमण गरेर पनि महिलाहरूलाई उद्यमबारे जानकारी गराउने वडा कार्यलयहरूलाई जिम्मेवार बनाउने र वडा वडामा महिला उद्यमी समूह सञ्चालन गर्ने काम गरेर पनि उद्यम प्रवर्द्धनबारे जानकारी गराइरहेका छौँ ।   

महानगरभित्रका महिलाहरूले कस्ता किसिमका उद्यम गरिरहेका छन् ?

अहिले महानगरभित्र महिलाले साबुन उत्पादन, नेपाली कपडा, जुत्ता, पुस्टकारी बनाउने, माहुरी पालन गरिरहनुभएको छ । महानगरभित्रनै महिलाले मोटरसाइकल  मर्मत गर्ने वर्कसप चलाइरहनुभएको छ । यसबाहेक डकुमेन्ट्री प्रोडक्सन, ह्याण्डीक्राफ्ट सामाग्रीहरूको निर्माण गर्ने कामहरू गर्ने पनि महिला उद्यमीहरूले गरिरहेका छन् ।  

महिला उद्यमशील कर्जा कार्यक्रमहरूबारे महानगरपालिकाका महिला उद्यमी कति जानकार छन् ?

महानगरका महिलाहरूलाई यस्ता कर्जा कार्यक्रमबारे जानकारी खासै छैन, तर पछिल्लो समय हामीले महिलाहरूलाई उद्यम गर्दा चाहिने आर्थिक सहयोगका लागि कर्जा कार्यक्रमहरू बारे जानकारी गराउने काम हामीले प्रत्येक शुक्रबारको जुम सत्र मार्फत गराउँदै आएका छौँ  । बैंकहरूसँग गएर पनि समन्वयका कामहरू गरेका छौँ  । उद्यमी महिलाहरू जसले काम गर्नु हुन्छ उहाँहरूलाई बैंक सम्म जाने वातावरण निर्माण पनि हामीले काम गरेका छौँ । त्यस्तै आफ्नो उद्यमबारे जानकारी गराउँन लेखिने मागपत्र लेखनमा पनि महिला विकास शाखाले तालिम सञ्चालन गरिरहेको छ । हामीसँग धेरै जना कर्जाको कुरा गरिदिनु भनेर आउनु हुन्छ । त्यसरी आउनेलाई हामीले समन्वयका कामहरू गरिरहेका हुन्छौँ । त्यसबाहेक पनि वडामा ५  लाखको कोष राखिएको छ । अब एउटा राम्रो कोष महानगरपालिकामा पनि एउटा कोष चाहिने देखिन्छ । 

महिला उद्यम प्रवर्दनका लागि महानगरको भावी कार्यदिसा कस्तो रहेको छ ?

 अब धेरै काम गरेपछि यसबारे जानकारी भइसक्यो अब भने झन् जनचेतना जगाउनुपर्ने देखिन्छ । हामी त्यही अनुरूप काम पनि गर्नेछौँ  । उद्यमशीलताको तालिम दिने काममा अब सबै वडालाई जोडेर प्रत्येक वडामा काम गर्ने योजना छ । बजार व्यवस्थापनका लागि बिक्री केन्द्र स्थापना गर्ने योजना पनि बनाइरहेका छौँ  । राष्ट्रिय आविश्कार केन्द्र सम्म पनि हामीले महिला उद्यमीहरूका सामान राखेका छौँ । अहिलेसम्म २ वटा प्रदर्शनी गर्यौँ, अब अझै यस किसिमका प्रदर्शनी गर्ने योजना बनाउँदै छौँ । टोल टोलमा पनि महिला उद्यमीको उत्पादन बिक्री गर्न सकिन्छ भनेर पनि काम अगाडि बढाउँदै छौँ । उद्यमीलाई उद्यमीसँग जोड्ने काम पनि हामी गर्ने योजना बनाएका छौँ  ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *