घरेलु हिंसाकै कारण बिदेशिन बाध्य भए महिला फोटोः पुष्कल श्रेष्ठ जीविको

प्रतिक ढकाल २०७८ फागुन ६ गते २०:४५

विवाहको टुंगो लागेको दिन कैलाली लम्कीचुहाकी शान्ति परियार (३६) खुबै खुसी थिइन् । मनमा एक किसिमको उत्सुकता पनि थियो । “पहाडबाट बिहे गरी तराई झर्न पाउने अनि आफ्नो रोकिएको पढाई पनि पुनः सुरु गर्ने आश सँगै नयाँ जीवनसाथी पाउँदाको उमंग बेग्लै थियो,” शान्ति सम्झन्छिन् ।

सोह्र सत्र वर्षमै विवाह हुने प्रचलन रहेको गाउँमा २३ वर्षसम्म पढाई छाडेर घरमा त्यसै बस्दा समाजले नि बिहे हुँदैन कि भनेर कुरा काट्न सुरु गरिसकेका थिए । “बिहेपछि मलाई समाजसँग अगाडि छाती तानेर हिड्‌न सक्ने भए,” उनी बताउँछिन् ।  विवाह हुँदा छाएको खुसी अनि उमङ्गलाई शान्तिले धेरै दिनसम्म अनुभव गर्न पाइनन् । उनका श्रीमान दैनिक रक्सी सेवन गर्ने रहेछन् । बिहान देखि बेलुका सम्म रक्सी धोक्ने अनि नशामा आएर बिना कारण शान्तिलाई कुटपिट गर्ने । भाँडा वर्तन सम्म फाल्ने गर्थे । 

 “विवाह भएको २२ दिनकै दिन उनले मलाई लात्तीले बेस्सरी हिर्काए, त्यस दिनबाट प्राय सँधै नै कुटाई खाँए,” उनी सम्झिन्छिन् ।

शान्तिले विवाहपछि १ छोरालाई जन्म दिइन् । श्रीमानले नकमाउने भएपछि शान्तिको टाउकामा जिम्मेवारी थपियो ।  परिवार चलाउने पैसा नहुँदा शान्तिलाई बिहान बेलुकाको गर्जो टार्न पनि मुस्किल थियो। उनी मजदुरी गर्न थालिन् ।

“घरमा कमाउँने म एक्ली थिएँ घरको काम गर्नुपर्ने, दिउँसो मजदुरी गर्नुपर्ने, काममा जाँदा अन्य मजदुरसँग नाम जोडेर लाञ्छना लगाउने । कमाएको थोरै पैसा पनि श्रीमानले कुटपिट गरि रक्सी खान लैजान्थे,” शान्ति सुनाउँछिन् ।  ६ वर्ष यस्तै शारिरिक मानसिक शोषणमा वितेपछि शान्तिले विदेश जाने सोच बनाइन् । छोरालाई श्रीमान सँग राख्ने परिस्थिति थिएन्, दिदीको घरमा राखिन् । त्यसपछि माइतिबाट १ लाख बिस हजार ऋण गरेर उनी घरेलु कामदारको रुपमा मलेशिया उडिन् । 

शान्ति जस्तै झापा दमककी सीता शर्मा (नाम परिवर्तन) पनि ४ वर्ष अगाडि घरेलु हिंसाबाट बच्न लेभनान् गइन् । श्रीमान विदेश गएपछि उनकी सासुले उनलाई दैनिक पीडा दिन सुरु गरिन् । अर्कै पुरुषसँग लागेको भनेर गाली गर्ने, २ दिन सम्म खान नदिने, आफैँ खान खोजेपनि फ्याँकिदिने जस्ता शोषण उनले भोगिन् ।

यता सासुले विदेश रहेका सीताका श्रीमानलाई अनेक लाञ्छना लगाई कुरा लगाइदिएपछि श्रीमानले पनि उनलाई मानसिक शोषण दिन सुरु गरे । उनले फोन गाली गर्ने अपशब्द बोल्ने सँधै गर्थे । “छोराछोरीको अगाडि फोन उठाउँन नमिल्ने गरि गाली गर्थे, फोन नउठाए को सँग लागेकी छस् र फोन उठाउँदिनस् भन्थे” सीता सुनाउँछिन् । 

सीताको ४ वर्ष शोषण सहेरै बित्यो पछि शोषण सहन नसकेर आफ्ना दुई छोराछोरीलाई माइतमै छाडेर उनी पनि लेभनान् पुगिन् । उनी भन्छिन् “हिंसाको दुःख भन्दा बरु कामको दुःख सहन्छु जस्तो लाग्यो र लेभनान् पुगेँ ।”

सीता र शान्ति जस्तै घरेलु कामदारको रुपमा विदेश मा काम गर्ने अधिकांश महिलाहरू आफ्नै घरको हिंसा बाट बच्न विदेश जाने प्रमुख कारण रहेको जानकारहरू बताउँछन् । पुरुष प्रधान नेपाली समाजमा महिलाहरूले कानुनी सुरक्षा प्राप्त गर्न गार्हो हुनु अनि समाजले पनि महिलामाथि भएको अन्यायलाई आँखा चिल्मिएको कारणले नेपाली महिलाहरूले विदेश जाने विकल्प रोज्ने गरेको पाइन्छ । 

 “परिवारमा घरेलु हिंसा सहनुपरेकै कारण विदेशिन बाध्य महिलाहरूको संख्या ठूलो छ । सरकारले घरेलु कामदारको रुपमा विदेशिन चाहने महिलाहरूलाई रोक्न अप्ठ्यारो कानुन बनाए पनि महिलाहरू भने विदेशि नै चाहन्छन्,” आप्रवासन विद् शरु जोशी बताउँछिन् ।

जनगणनाको २०६८ को प्रारम्भिक रिपोर्टलाई हेर्ने हो भने पनि पछिल्लो एकदशकमा वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या बढेको देखिन्छ । केन्द्रीय तत्थ्यांक विभागले निकालेको २०७८ जनगणनाको तत्थ्यांक अनुसार नेपालभरका जम्मा २१ लाख ६९ हजार ४ सय ७८ व्यक्तिहरू विदेशिएका छन् । जसमध्ये महिला श्रमिकहरूको संख्या ४ लाख छ हजार १ सय ६३ जना रहेको छ । २०६८ बाट २०७८ सम्म आइपुग्दा विदेशमा बस्ने महिला श्रमिकको सङ्ख्यामा ७१.०९ प्रतिशतले वृद्धि भएको देखिन्छ । २०६८ को जनगणना अनुसार विदेशमा बस्ने महिला श्रमिकको संख्या जम्मा २ लाख २७ हजार ४ सय रहेको थियो । उनी भन्छिन् “सबै भन्दा मुख्य कुरा महिलाहरूमा भएको घरेलु हिंसाको कारणले महिलाहरू विदेशिने गरेका छन् । आफूलाई समस्यामा परेको बेला जसले जे भन्यो त्यही मान्नुले अरुको प्रलोभनमा परेर महिलाहरू  बाहिरिने गरेको पाइन्छ ।” 

अदक्ष अनि सीप/तालिम बिहिन महिलाहरू घरेलु कामदारको रुपमा विदेश जाने गर्दा कार्यस्थलमा हिंसा हुन सक्ने अवस्था रहेको जानकारहरूले सचेत गराउने गरेका छन् । घरेलु हिंसाबाट पीडित हुनुपर्ने, ज्यालामा विभेद हुने र न्यूनतम ज्याला पनि नपाउने अवस्था भएका कारण महिलाहरू जोखिम मोलेरै भएपनि विदेशिन बाध्य भएको जोशी बताउँछिन् ।  वैदेशिक रोजगार विभागको प्रतिवेदनअनुसार व्यक्तिगत श्रम स्वीकृति लिने कुल एक लाख १५ हजार तीन सय ९८ मध्ये २७ दशमलव ६ प्रतिशत अर्थात् ३१ हजार आठ सय २० महिला छन् भने पुनः श्रम स्वीकृति लिनेमा महिलाको संख्या कुल श्रम स्वीकृति लिनेकै हाराहारीमा अर्थात् ४५ प्रतिशत देखिन्छ । कुल १५ लाख ८७ हजार ६ सय ५४ पटक पुनः श्रम स्वीकृति लिएकामा महिलाको संख्या ६४ हजार पाँच सय सात रहेको छ । कुवेतमा हालसम्म संस्थागत रूपमा श्रम स्वीकृतिमा पाँच हजार ४१ महिला गएको देखिन्छ भने व्यक्तिगत रूपमा जानेको संख्या २० हजार दुई सय ७८ देखिन्छ । 

“घरमा श्रीमान् परिवारका अन्य सदस्यबाट दैनिक शोषण सहनुपरेर, हिंसा खप्नु नपरोस् भन्ने सोचेर ठूलो सङ्ख्यामा महिलाहरू विदेशिने गरेका छन्,” अम्कास नेपाली अध्यक्ष विजया श्रेष्ठ भन्छिन् । 

विशेषगरी नेपालको सुदूरपश्चिम र मध्यपश्चिममा घरेलु हिंसाका घटना बढी देखिने गरेको, महिलाहरूलाई घर बाहिरको काममा अवसर नहुने र अशिक्षाका कारण शारिरिक तथा मानसिक हिंसाको सिकार हुनुपर्ने कारणले गर्दा महिलाहरू विदेशिन चाहेको उनको तर्क छ ।

पछिल्लो दशक विदेशिने महिलाहरूको संख्या बढे झैँ घरेलु तथा महिला हिंसाका घटनाहरू पनि गुणात्मक रुपमा बढेको देखिन्छ । प्रहरी प्रधान कार्यलयले दिएको जानकारी अनुसार आव २०६८ मा नेपालमा महिला हिंसाका कुल  १३ सय ५५ दर्ता भएका थिए । गत वर्षसम्म आइपुग्दा यो संख्या १८ हजार ९ सय ६१ पुगेको छ । दर्ता भएका घटनामा सबैभन्दा बढि घरेलु हिंसाका घटना १४ हजार २ सय ३२ छन् ।

जीविको इन्फोग्राफिक्स् : पुष्कल श्रेष्ठ / सुप्रिम बिष्ट

“अझैपनि घरमै हिंसा खपेर बस्ने हुँदा प्रहरी तथा सम्बन्धित निकायमा हिंसाका सबै घटनाहरू दर्ता हुन पाउँदैनन् । यसरी हिंसाका घटना नलुकाई मुद्दा दर्ता गर्ने हो भने यो ग्राफ अझ बढ्छ,” बिजया बताउँछिन् ।

पछिल्लो दशकमा प्रहरी प्रधान कार्यलयको तत्थ्यांक झैँ महिला आयोगमा दर्ता हुने घरेलु तथा महिला हिंसाको ग्राफ बढेको देखिन्छ । महिला आयोगमा गत वर्ष १ हजार ६५ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् ।

“पछिल्लो दशकमा महिला हिंसाको संख्या बढेको देखिन्छ । कोरोना कालमा त यो संख्या बढेर गएको छ ।” महिला आयोगकी अध्यक्ष कमला पराजुली बताउँछिन् ।  घरेलु हिंसाको ग्राफ बढेर नै वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको तत्थ्य शतप्रतिशत ठीक छ भन्ने चाहिँ उनलाई लाग्दैन ।

“घरेलु हिंसा पनि एउटा कारण चाहिँ अवश्य हो तर विदेशिनेको कारण घरेलु हिंसा मात्र हो भन्न चाहिँ सकिँदैन” उनी भन्छिन् “मुख्यतया आर्थिक विपन्नता महिला विदेशिनु परेको छ, आर्थिक अभावले उनीहरु विदेशिन बाध्य भए ।” प्रहरी प्रधान कार्यलयले दिएको वि.स २०५३-५४ को तत्थ्यांक अनुसार उक्त वर्ष जम्मा ३ सय ३७ महिला हिंसाका घटनाहरू सार्वजनिक भएका थिए । त्यसपछि २४ वर्षपछि अर्थात् २०७७-७८ सम्म आइपुग्दा महिला हिंसाका घटना ५६ गुणाले बढेर १८ हजार ९ सय ६१ पुगेको देखिन्छ ।

“जनचेतनाले मुद्दाका घटनाहरू बाहिर आए हिंसाको संख्या बढेको देखियो तर २ दशकमा ५६ गुणाले हिंसाको ग्राफ बढेको देखिनु चाहिँ सामान्य विषय होइन” कमला बताउँछिन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *