सानो ठाउँमा ठूलो आँट गरेर व्यवसाय गरेका पूर्णशोभा र ओमनाथ पूर्णशोभा र उनका श्रीमान ओमनाथले सञ्चालन गरेको खाजा पसल, फोटो: बिना सुनार/जीविको

बिना सुनार २०७८ माघ २९ गते ११:१२

बिहानको ३ बजेदेखि नै बसन्तपुरमा रहेको पूर्णशोभा श्रेष्ठ ( ४६ ) र उनका श्रीमान ओमनाथ श्रेष्ठ (५०) ले सञ्चालन गरेको पसलमा पाटन, कालीमाटी, सोह्रखुट्टे, बालाजु लगायतका ठाँउबाट खसीको फोक्सो आइपुग्छ । यसरी आएको फोक्सोलाई व्यवस्थापन गर्न दुवैजना खटिन्छन् ।

“चाडबाडको बेलामा फोक्सो सहजै पाउँदैन । पसल पसल खोज्न जानैपर्छ तर अन्य समयमा पसलहरूले यहीँसम्म ल्याइदिन्छन्,” पूर्णशोभा भन्छिन् ।

यो जोडीको दैनिकी विगत दुई दशकदेखि यसरी नै फोक्सोको क्रेट उचालेर सुरु हुने गरेको छ ।

पूर्णशोभा भन्छिन्, “काम त रातीदेखि नै सुरु हुन्छ  । मासुपसलबाट आएको फोक्सो पखाल्ने, काट्ने अनि फ्रिजमा राख्ने गरेरै बिहानको समय बित्छ । बिहान चाँडै नगरे त दिउँसो फोक्सोको माग पुर्‍याउन नै सकिदैन ।”

बसन्तपुर दरवार अगाडिपट्टि रहेको काठमाडौं गणेश मन्दिर छेउको पुरानो घरमा पूर्णशोभा दम्पतीको खाजा पसल छ जहाँ विशेषगरी खसीको फोक्सोबाट बनेको परिकार खान आउनेहरूको भिड हुन्छ । गोडा जुधाएर बसियो भने यो पसलमा मुस्किलले दस जना मात्र अट्छन् । दुई वटा बेन्चलाई एल (L) आकारमा राखिएको छ भने त्यहाँ बसेर खाजा खानेहरूले बेन्चको बिचमा रहेको एउटा मात्र टेबललाई साझा टेबलका रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । पसलभित्र छिर्दा निहुरिएन भने टाउको नै ठोकिने ।

खाजा पसलमा आएका ग्राहकहरू, फोटो: बिना सुनार/जीविको

उनको खाजाघरमा ग्राहकहरू आउँदै, ‘ए … सकिएको ?’ भन्दै निराश हुँदै फर्किरहेका थिए । विगत १२ वर्षदेखि विशेषगरी खसिको फोक्सोको लागि प्रख्यात रहेको यो खाजाघरमा आज फोक्सो सकिसकेको थियो, त्यही कारण फोक्सो खान आएका ग्राहक निरास भएर फर्केका रहेछन् । सेकुवा बनाउँदै गरेकी पूर्णशोभाले फोक्सो खान नपाएर फर्कदै गरेका ग्राहकलाई फिस्स हाँस्दै भन्दै थिइन्, ” ६५ वटा फोक्सो पकाएको हो, आज अलि धेरै कस्टमर आएर सकिहाल्यो ।”

बिहान ३ बजेदेखि रातको १० बजेसम्म यो जोडी पसलकै काममा खटिन्छन् । पूर्णशोभाका अनुसार मुस्किलले ४ घण्टा मात्र उनीहरु सुत्न पाउँछन् ।

पूर्णशोभा र ओमनाथले दुई दशक पहिलेदेखि खाजा पसल चलाइरहेका छन् । यी दम्पती १२ वर्ष अगाडि भने बसन्तपुरमा स्टल राखेर फोक्सो बेच्थे । करिव ६ वर्ष स्टलमा फोक्सो बेचेपछि त्यहाँ स्टल राख्न नपाइने भयो । बसन्तपुरबाट महानगरले स्टल उठाएपछि के गर्ने, कसो गर्ने भन्ने चिन्ताले उनीहरू महिनौँसम्म निदाउन सकेनन् । आफ्नो आम्दानीको श्रोत कमाइ गर्ने बाटो नभएपछि घर व्यवहार धान्न ठूलै संघर्ष भयो ।

उनी सम्झिन्छिन्, “बाहिर राखेको स्टल मात्र आम्दानीको स्रोत थियो, महानगरले हटाएपछि आम्दानी विहिन भयौँ ।”

पूर्णशोभा श्रेष्ठ, फोटो: बिना सुनार/जीविको

उनकै स्टलमा खाजा खान आउने ग्राहकहरूले पूर्णशोभा र ओमनाथलाई पसल खोल्न सल्लाह दिए । पुरानै ग्राहकहरू आउने आशाले बसन्तपुर छेउमा पसल खोल्ने ठाँउ खोजे र त्यहीँ पुनः व्यापार सुरु गरे । सामान्यतया खाजा पसलहरूमा चिउरा,मःम,मासु, चाउमीन लगायतका परिकारहरु पाइन्छ । तर सोभा दम्पतीले नयाँ खोलेको पसलमा पनि पहिलेदेखि नै बेच्ने गरेको फोक्सोको परिकार राख्ने निर्णय गरे ।

दिनमा कम्तीमा पनि ६० वटा फोक्सो उनीहरूको पसलबाट बिक्छ । ग्राहकहरू पनि पूर्णशोभाको पसलमा पाइने फोक्सो खुबै मन पराउँछन् । फोक्सो बाहेक मः मः, ससेज, सेकुवा पनि उनीहरूको पसलमा पाइन्छ ।

खसीको काँचो फोक्सो ल्याएर राम्ररी धोइपखाली त्यसमा मैदाको पिठोसँगै मर-मसलाहरू हालेर उसिन्ने अनि त्यसलाई सानो सानो आकारमा काट्ने र तेलमा फ्राइ गरेपछि पूर्णशोभाको विशेष परिकार फोक्सो खानलाई तयार हुन्छ। यसरी बनाएको फोक्सोको स्वाद एकदमै मीठो र फरक हुने हुँदा उनका ग्राहक पनि दैनिक रुपमा बढ्दै गएका छन् ।

“मैले यहाँ फोक्सो खान थालेको १० वर्ष भयो । काभ्रेबाट काठमाडौं आउँदा यहाँको पिरो, स्वादिलो अनि खाँदा मुख नै रसिलो हुने फोक्सो नखाई जानै मन लाग्दैन,” पूर्णशोभाका ग्राहक प्रमोद बिक भन्छन् ।

प्रमोद मात्र होइन फोक्सो खानकै लागि विभिन्न ठाउँबाट मानिसहरू यहाँ आउने गरेको छन् । दिउँसोको १ बजेदेखि फोक्सो बेच्न सुरु गरेपछि ग्राहकको भीड लागेर उनीहरूले खाजा खाने, आराम गर्ने समय पनि पाउँदैनन् ।

उनी भन्छिन्, “ ग्राहक आउन थालेपछि सास फेर्ने फुर्सद हुँदैन, फोक्सो तार्न, दिन, पैसा लिने दिने गर्दा धपेडी नै हुन्छ ।”

रातिको करिव ९ बजिसकेको थियो । रात ढल्किदै गएपनि काठमाडौंको बसन्तपुरमा मानिसहरूको चहलपहलमा भने कमी थिएन । पसलहरू पनि प्राय: खुला थिए । किनमेल गर्न आउने ग्राहकहरू र सडक व्यापारीहरूको पनि भिड उत्तिकै थियो । बसन्तपुर दरवार स्क्वायर परिसर घुम्न आउनेहरू , चिया बेच्नेहरू र त्यहाँ बसेर चिया खानेहरूको पनि आवतजावतमा कमी थिएन । पूर्णशोभाको खाजा पसलबाट बिस्तारै ग्राहकहरू भने निस्किदै थिए । श्रीमान श्रीमती मिलेर पसल बन्द गर्ने तयारी गर्दै थिए ।

पूर्णशोभाका अनुसार यो व्यवसायबाट दैनिक ७ हजारको व्यापार हुने गर्दछ । १ छोरा, १ छोरी सहित  उनीहरूको घर परिवार यही पसलकै आम्दानीले धानेको उनी बताउँछिन् ।

मासिक दुईलाख भन्दा बढी बिक्री हुने र एक लाखभन्दा बढी त बचत नै हुने गरेको पूर्णशोभा बताउँछिन् । नेपाली मौलिक परिकारको रुपमा चिनिने फोक्सो र अचार बेचेरै उनीहरूले आफ्नो जीविको मज्जासँग धानेका छन् ।

“फोक्सो बेचेरै बालबच्चा पढेका छन् । घर खर्च चलेको छ । सकुन्जेल यही व्यवसाय गर्छौं । यसलाई नै ठूलो पसल बनाउछौँ,” पूर्णशोभा प्रसन्न मुद्रामा सुनाउँछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *