साउदी पलायन भएका नारायण यसरी बने सीप परीक्षण बोर्डका विज्ञ (भिडियो) सीप परीक्षण बोर्डका विज्ञ नारायण लामा, फोटो: पुष्कल श्रेष्ठ/जीविको

धर्मराज रिमाल २०७८ फागुन १६ गते १९:४४

धुलिखेल, काभ्रेका नारायण लामाले भर्खर २५-२६ वर्ष लाग्दै गर्दा नै पर्यटन तथा आतिथ्य सत्कारमा लागेर व्यवसायिक यात्रा तय गर्ने निधो गरेका थिए । यस सम्बन्धी तालिम लिने, काम गर्ने र आफूले सिकेको कुरा अरुलाई सिकाउने गर्थे उनी । होमस्टे चलाउने, आतिथ्य सत्कार र होटल सम्बन्धी थप प्रशिक्षण लिने र नेपालमै उद्यमी बन्ने जस्ता धेरै योजना बनाएका थिए नारायणले । क्रमिक रुपमा योजनाअनुसार काम गर्दै गरेका उनको जीवनमा एउटा अनपेक्षित संकट आयो ‘भुकम्प’ । २०७२ सालमा गएको भुकम्पले नेपालमा हजारौं सङ्ख्यामा मानवीय र अर्बौंको भौतिक क्षति गर्‍यो । सात वर्ष पुग्न लाग्दा पनि भुकम्प पछिको पुननिर्माण अझै सकिएको छैन । भुकम्पले धेरै क्षेत्र तहसनहस भए, तिनै मध्य एक क्षेत्र हो ‘पर्यटन तथा आतिथ्य सत्कार’ । थलिएको पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा काम गर्न उनलाई आर्थिक चुनौती भयो । त्यस समयमा उनले एउटै मात्र विकल्प देखे – वैदेशिक रोजगारी । आम नेपालीले जस्तै उनले पनि विदेशिने निर्णय गरेर साउदी अरब पलायन भए ।

नारायणसँगै अन्य युवाहरू पनि वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए । यसरी साउदी गएकाहरू मध्ये अधिकांशले त्यहाँ गर्ने काम सम्बन्धी सीप सिकेका थिएनन् । कम्पनीले उनीहरूलाई अत्यन्तै कम तलब र सेवा सुविधामा काम गरायो । नेपालमै हुँदा सीप सिकेका नारायण लामाले भने त्यहाँको पाँच तारे होटलमा वेटरको काम पाए । कामका दौरानमा उनले आतिथ्य सत्कार सम्बन्धी नयाँनयाँ सीप पनि सिक्दै गए । २ वर्ष वैदेशिक रोजगारीमा समय बिताएका नारायणले वैदेशिक रोजगारीमा रहँदा सिकेको ज्ञान र सीपलाई नेपालमै उपयोग गर्ने अठोट गरेर २०७४ सालमा स्वदेश फर्किए ।

अहिले नारायण लामा पर्यटन तथा आतिथ्य सत्कारका विषयमा प्रशिक्षण दिन्छन् भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गतको राष्ट्रिय सीप परीक्षण बोर्डमा विज्ञका रुपमा पनि कार्यरत छन् । तालिम दिन र परीक्षा लिन उनी देशैभरी पुग्ने गर्छन् । जहाँ जाँदा पनि उनले सीप सिकेर रोजगार हुन सबैलाई आव्हान गर्छन् । नारायणले सीपको महत्व र स्वदेश र विदेशमा यसको सम्भावनाका बारेमा विशेषगरी युवालाई सन्देश दिन छुटाउँदैनन् ।

विदेशमा वेटर रहेका नारायण कसरी नेपालमा सीप परीक्षण बोर्डका विज्ञ हुन पुगे ? हेर्नुहोस् उनी आफैले बताएको भिडियो कथा:

भिडियो/भिडियो सम्पादन: पुष्कल श्रेष्ठ/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *