शिक्षक सेवा आयोगले खुलायो तेह्र हजारभन्दा बढीका लागि रोजगारीको अवसर

जीविको २०७८ पुष १४ गते १८:५६

शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजार ९३ शिक्षकको दरखास्त आह्वान गरेको छ । आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि विज्ञापन आह्वान गरेको हो।

आयोगले सबैभन्दा बढी खुला कोटा तर्फ ७ हजार २ सय ३ रहेको छ। त्यसैगरी आदिवासी जनजाति तर्फ १ हजार ५ सय ९०, मधेसी १ हजार २ सय ९८, दलित ५ सय ३०, अपांगता भएका  २  सय ९३ र पिछडिएको क्षेत्रबाट दुई सय ३४ शिक्षक माग गरेको छ

प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ । त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ ।

आधिकारिक विज्ञापन हेर्नका लागि तलको लिङ्क क्लिक गर्नुहोस् :

शिक्षक सेवा आयोग, बिज्ञापन

शिक्षक आयोगले यसअघि २०७५ सालमा प्राथमिक शिक्षकको लागि बिज्ञापन खुलाएको थियो । करिव ३ वर्ष पछि खुलाएको प्राथमिक तृतीय तहका शिक्षकको करिव ३२ हजार मासिक तलब हुने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए । साथै १२ दिने वार्षिक बिरामी बिदा बाहेक पेन्सन, संचय कोष, नागरिक कोष लगायतको सेवा सुविधाको पनि व्यवस्था रहेको उनले जानकारी दिए । उनका अनुसार हालसम्म शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनेको सङ्ख्या ७ लाख रहेको छ । त्यसमा २ लाख २ हजार ७ सय १२ जनाले प्राथमिक तहको लागि लाइसेन्स लिएका छन् । यसमध्ये कम्तिमा १ लाख जतिले यसमा आवेदन दिने शिक्षक सेवा आयोगले अनुमान गरेको छ ।

माध्यामिक शिक्षा (कक्षा १२) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिना तालिम पुरा गरेका नेपाली नागरिकले आँउदो माघ १३ गते सम्म नियमित र माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने छन् । आँउदो चैत १९ गतेदेखि लिखित परीक्षा हुने आयोगले जनाएको छ ।

दरखास्त फाराम अनलाइन मार्फत् बुझाउन सकिने छ । आवेदन फारम online.tsc.gov.np/  बाट डाउनलोड  गरी  भर्न सकिन्छ ।

आयोगले यसअघि नै माध्यमिक तहमा १ हजार ५ सय ४७ र निमावि तहमा २ हजार ५ सय ९८ पदका लागि पनि विज्ञापन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *