हात गुमाएर पनि हौसला नगुमाएका पौरखी नवराजको कथा

धर्मराज रिमाल २०७८ पुष ९ गते १७:५७

दोलखाका नवराज कार्की(३५) ले ढलानको काम गर्दै गर्दा  दाँया हात मिक्स्चर मेसीनमा परेर गुमाए । गरिखाने हात नै गुमेपछि अब कसरी जीविको चलाउने भन्ने कुराले उनलाई तनाव र बेचैन बनायो । नवराजमाथि पारिवारिक जिम्मेवारी एकातिर थियो भने अर्कोतिर आयआर्जन गर्ने बाटो नै बन्द भएको अवस्था थियो । नवराज भन्छन्, “यस्तो बज्रपात परेको बेलामा मैले अब कसरी कमाउने र परिवार पाल्ने भन्ने कुरा सोच्नै सकिन । म पूरै निराश भइसकेको थिएँ अनि अब के गर्ने भनेर सोच्न पनि नसक्ने स्थितिमा पुगेको थिएँ ।” 

पारिवारिक जिम्मेवारीले गर्दा नवराजलाई सधैँभरी निराश भएर बस्न मन लागेन । एउटा हात गुमेपनि श्रम गर्नुपर्छ भन्ने अठोट लिएर उनले फेरि निर्माण सम्बन्धी काममा भारी बोक्न सुरु गरे । केही समय भारी नै बोकिरहे अनि छोटो समयका लागि ट्रेकिङमा सहयोगीको पनि काम गरे । काम गर्दै जाँदा दृढ इच्छाशक्ति छ भने जसरी पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने उनलाई बोध भयो । त्यसपछि उनले एउटा हातको साहारामा रिक्सामा सामानहरु बोकेर पसलपसल पुर्‍याउन थाले । समयले कोल्टे फेर्दै गयो,कमाई र बचत राम्रो हुँदै गएपछि नवराजले इलेक्ट्रिक रिक्सा किने । 

विगत ५ वर्षदेखि भने उनले इलेक्ट्रिक रिक्सामा सामान डेलिभरी गरिरहेका छन् । उनले चाउचाउ, बिस्कुट, चिप्सको डिलर खोलेका छन् । आफ्नो काममा उनले सहयोगी पनि राखेका छन् । कामप्रतिको उनको सम्मान, लगाव र आत्मविश्वास सराहनीय छ । उनी दैनिक १२ घण्टा भन्दा बढी काममा खटिन्छन् ।

नवराज आफूले जानेको काम गर्न र आफ्नो पेशामा गर्व गर्न अरुलाई पनि सुझाव दिन्छन् । हेर्नुहोस्, हात गुमाएर पनि हौसला नगुमाएका पौरखी नवराजको भिडियो  कथा :

भिडियोःपुष्कल श्रेष्ठ/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *