वैदेशिक रोजगारीमा मनमायाको अनुभव : ऋण, जेल अनि पारिवारिक विग्रह
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस विशेष

जीविको २०७८ पुष ३ गते २१:२०

आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, ‘सचेत, सीपमूलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मूल आधार’ भन्ने नारासहित देशैभरी आप्रवासी श्रमिकको पक्षमा पैरवी गर्दै आएका संघसंस्थाले सरकारसँगको सहकार्यमा साताव्यापी कार्यक्रम गर्दै मनाउदैं छ ।

साताव्यापी कार्यक्रमको अवसर पारेर जीविको डट कमले वैदेशिक रोजगारीमा रहेका/गएका श्रमिकका अनुभव, यस क्षेत्रमा कृयाशिल प्रतिनिधिहरुसँग संवाद, विचार तथा लेखहरूसंगै समाचार तथा रिपोर्टहरुको श्रृंखला प्रकाशन गर्दैछ । श्रृंखलाको सुरुवात वैदेशिक रोजगारीका कारण ऋण, जेल अनि पारिवारिक विग्रह भोग्न बाध्य भएकी मनमायाको अनुभवबाट गर्दैछौं ।


 

वर्षौँ भयो मेरा आँखा राम्ररी ओभाएका छैनन् । कहिले इजिप्ट, कहिले इराक त कहिले भारतको कालकोठरीमा मेरो दशक बितेको छ । मेरा छोरालाई बिहान बेलुकाको खाना र उचित शिक्षादीक्षा दिनका लागि मैले प्रवासलाई रोजेको थिएँ । हुनत मेरा श्रीमान पनि वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । श्रीमानले परिवार र आफ्नो जाहान नदेखेपछि मैले पनि प्रवासको बाटो रोज्नुपर्यो । गाउँका एकजना दाइले मेरो दुखः देखेर मलाई इराकसम्म पुर्याए । ऋण गरेर साढे दुईलाख रुपैयाँ जोहो गरि छोराछोरीको भविष्य राम्रो हुने सपना देखि २०६८ सालमा इराक पुगेँ । इराक मैले सोचेको भन्दा फरक रहेछ । काममा गयो, बिहान बेलुका काम गर्यो । महिना बितेपछि पैसा आइहाल्छ अनि छोरालाई पठाउँछु अनि उनीहरूले चाहेको खान लाउन पाउँछन् भन्ने सोंच्थे । विडम्बना, त्यो मेरो कल्पनामा मात्र रहेछ । बिहान पाँच बजे झिसमिसेमा उठेदेखि रातीको दुई बजेसम्म पनि ठाडो पिठ्युँ नगरी काम गर्नुपर्थ्यो । त्यो पनि एउटा घरमात्र कहाँ हो र चारवटा घर भ्याउनु पर्थ्यो ।  कतै भान्से अनि कतै सुसारे त कोहीको माली त कतै धोबी जस्ता अनेकौँ काम गरेर एकछिन सुस्ताउने पनि समय थिएन । लाग्थ्यो मेरो शरीर एउटा मेसिन जस्तो भइसक्यो । एउटा घरमा काम सकियो, अर्को घर गइहाल्नुपर्ने अवस्था थियो ।

आनन्दले दुईछाक खान र मज्जाले निदाउन नपाएको त कति वर्ष बित्यो आफैँलाई याद पनि थिएन । यसरी काम गर्दा दिन, हप्ता हुँदै महिना बित्थ्यो । तलब आउने समय भयो है भनेर ति काम गरेका दिनहरूको सबै थकान बिर्सन्थे तर तलब माग्दा गाली पाइन्थ्यो । यता नेपालमा बालबच्चा आमाले पैसा पठाउँछे भनेर आशामा हुन्थे तर मैले छोरीलाई “नानु छिट्टै पैसा पठाउँछु है” मात्र भन्न सक्थेँ । न म मेरो तलब मलाई चाहियो भनेर उनीहरूसँग माग्न सक्थेँ न त म उनीहरूको अगाडि बोल्न नै सक्थें । मलाई उनीहरूको भाषा नै थाहा थिएन । ईशाराले मैले आफ्नो कुरा कति न राख्न सक्थेँ र चुपचाप जति दियो त्यहीँ लिन्थे । कहिले चार महिनासम्म तलब दिन्थेनन्, दिइहाले पनि चार महिना हुँदासम्म पनि तलब दुई महिनाको मात्र दिन्थे । पाँच महिनाको तलब दिँदा तीन महिनाको पैसा मात्र मेरो हातमा पर्थ्यो । हुन त मलाई मेनपावरले १ लाख ५० हजार रुपैयाँ तलब तोकेर लगेको थियो तर त्यहाँ भने मुस्किलले ४० हजार रुपैयाँ मात्र हात लाग्थ्यो । यसरी लगातारको काम र तनावले म बिरामी परेँ । बिरामी पर्दा पनि औषधी उपचार त परै जाओस, मैले तातो पानीसम्म पाईन । आफ्नो ठाउँ अनि परिवार झलझल याद आउँथ्यो । स्वदेश भए कस्तो छ भनेर त कसेले सोध्थ्यो होला तर बिरानो देश बिरानो नै हुने रहेछ ।

शरिरले धान्नै नसक्ने भएपछि मैले अब जे होस्, जस्तो होस् नेपाल नै फर्कने निर्णय गरेँ । त्यहाँ रहेकी एकजना दिदीको सहयोगमा म नेपाल फर्किए । नेपाल फर्किएपछि मलाई पुनर्जन्म लिएजस्तो अनुभूति भयो । छोराछोरीलाई वर्षौँपछि भेट्न पाउँदा मेरो खुसीको सिमा थिएन । छोरा पनि मलाई देखेर हर्षित थियो । इराक बस्दा पैसा कमाउन नसकेका कारणले पुनः बालबच्चाको अवस्था जिउका तिउ थियो । न उनीहरूले राम्रो खानलाउन पाएका थिए न त राम्रो शिक्षा नै पाएका थिए । क्षणिक रुपमा केही राहत महसुस भएको मेरो मनलाई पुनः जिम्मेवारीले  थिच्यो । आफ्नो ठाउँमा केही गरिखाने बाटो पनि देखीन त्यसैले फेरी मेरो आँखा अगाडि वैदेशिक रोजगारी नै झल्झली नाँच्न थाल्यो ।

त्यसपछि पुनः म तिनै गाउँका दाइलाई राम्रो कामका लागि विदेश पठाइदिन भन्दै गुहार्न पुगेँ । उनको काम नै विदेश पठाउने भएकाले मलाई पठाउन उनको लागि कुनै ठूलो समस्या भएन र मलाई इजिप्ट जाने प्रस्ताव राखे । मासिक १ लाख रुपैयाँ तलब पाइन्छ भनेर मलाई बताएपछि म पनि इजिप्ट जान तयार भएँ । ती दाइले मलाई गौशलाको एउटा मेनपावर लगे । मलाई त्यो मेनपावरको नाम पनि याद छैन । गाउँले दाइलाई नै मैले विश्वास गरें । त्यसपछि मेरो विदेश जाने तयारी थालियो । त्यसको लागि मबाट २ लाख रुपैयाँ पनि असुल गरियो । पहिलेझैँ ऋण खोजेरै मैले विदेश जाने पैसा मेनपावरलाई बुझाए । लौ अब त उडियो राम्रो ठाउँमा काम पाइन्छ होला, पहिलेको झैँ दु:ख खेप्नु नपर्ला, बालबच्चा छाडेर हिँडेपनि तिनको भविष्य भने अब राम्रो बनाउनेछु भन्ने धेरै कुराहरु मनमा खेलाउँदै प्लेनमा बसेँ । उडेको बल्ल एक डेढ घण्टा भएको थियो जहाज रोकियो । मलाई इजिप्ट त कति नजिकै रहेछ छिट्टै नै पुगिने रहेछ भन्ने लाग्यो र ओर्लिए । बाहिर निस्किंदा भारतको दिल्ली रहेछ । किन यहाँ ल्यायो, के कारणले ल्याएको मलाई केहि पनि थाहा थिएन । प्रहरी जाँचबुझमा सबै कागजपत्र देखाउँदा मलाई झूटा कागज बनाएर पो पठाइएको रहेछ । म छाँगाबाट खसेसरी भएँ ।

इजिप्ट जाने भनेर ठूलो सपना बोकेर हिँडेकी म प्रहरीलाई कुनै जवाफ दिन सकिन । भएको कागजपत्र देखाउँदा झुटो साबित भयो अनि म दिल्लीको एउटा कारागारमा थुनिन पुगेँ । जेलको बसाइ कस्तो हुन्छ त्यो त कसैलाई भन्नु नपर्ला यति सास्ती र पीडाले म त्यहाँ बसेँ त्यो म बयान पनि गर्न सक्दिनँ । सम्झँदा पनि शरीरभरि अझै काँडा उम्रिन्छ । न त मैले घरमा सम्पर्क नै गर्न सकेँ । भाग्यले एकजना नेपाली दिदीलाई जेलमा भेटियो । उनलाई आफ्नो दुखेसो पोखेँ । बहिनीको फोन नम्बर दिएर मेरो अवस्था यस्तो छ भन्ने समाचार पुर्‍याइदिन आग्रह/अनुरोध गरेँ । ती दिदीले मेरो बहिनीलाई फोन गरेर सबै कुरा भनिदिनु भएछ । मेरो बारेमा जानकारी पाएपछि नेपालबाट भाइ दिल्ली पुगी एक महिना त्यहाँको वकिलसँग मिलेर मलाई निकाल्यो । ६ महिना जेल सजाय भोगेपछि करिब ४ लाख रुपैयाँ तिरेर मैले उद्दार पाएर गत भदौमा नेपाल फर्किएँ । अहिले यहाँ आफ्नो क्षतिपूर्तिका लगि महिला आयोग र आप्रवासी श्रमिकहरुका लागि काम गर्ने संस्थाहरु धाउँदै छु । अहिले मेरो टाउकोमा इजिप्ट जान भनेर खर्च गर्दा लागेको ऋण छ । पारिवारिक बोझ छ, बालबच्चाको जिम्मेवारी छ । जेलबाट मलाई छुटाउन लागेको ४ लाख कसरी तिर्ने भन्ने ठूलो पिर छ ।

धेरै मानिसहरु अहिले पनि विदेश जान्छन् तर मेरो जीवनको भोगाइलाई सम्झँदा कोही पनि विदेश नजाउन् जस्तो लाग्छ । यदि विदेश काम गर्न जानैपरे सबै कुरा बुझेर त्यहाँको भाषाहरु सिकेर मात्र जाउँन् भन्ने लाग्छ ।

(पौरखी नेपालले गत पुष २ गते राष्ट्रिय मानवअधिकार आयोगमा आयोजना गरेको श्रमिक सुनवाई कार्यक्रममा वैदेशिक रोजगारीको अनुभव बताउँदै मनमाया तामाङ्ग)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *