शिक्षक सेवा आयोगले खुलायो १ हजार ५ सय ४४ शिक्षकका लागि अवसर

जीविको २०७८ मंसिर २९ गते १८:३४

तीन वर्षसम्म कुनै शिक्षकको पदपूर्ति प्रक्रिया नबढाई बसेको शिक्षक सेवा आयोगले माध्यमिक तहको १ हजार ५ सय ४४ शिक्षक पदको लागि खुला प्रतिस्पर्धाको लागि आवेदन आव्हान गरेको छ । 

शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट अध्यापन अनुमति पत्र प्राप्त गरेकाले प्रतिस्पर्धा गर्न सक्नेछन् । पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भरी सक्नु पर्ने आयोगले सूचनामा जनाएको छ । 

सबैभन्दा बढी ४३५ विज्ञान विषय शिक्षकको माग गरिएको छ । त्यस्तै अंग्रेजी शिक्षकका लागि ३१२ पद खुलेको छ भने तेस्रो ठूलो संख्यामा मागिएको विषय शिक्षक गणित हो, जसको लागि २८९ पदको अवसर खुलेको छ । यी तीन विषय नेपालका सामुदायिक बिद्यालयमा सबैभन्दा अप्ठ्यारो विषय मानिन्छ र शिक्षक पाउन पनि गाह्रो हुने गरेको बिद्यालय व्यवस्थापनको गुनासो हुने गरको छ ।

नेपाली विषयका लागि २३१, सामाजिक २०१, अर्थशास्त्र १०, लेखा ५१, शिक्षा १, स्वास्थ्य २, संस्कृत ३, कम्प्युटर ६, शुक्लयजुर्वेद २, संस्कृत व्याकरणमा २, संस्कृत साहित्य १ र न्याय विषयका लागि एक जना शिक्षक माग गरिएको छ ।

आयोगले पछिल्लो पटक २०७५ साल असारमा बिज्ञापन खुलाएको थियो । आयोगका उप-सचिव यमनारायण घिमिरे का अनुसार करिव १८ हजार शिक्षक लिनुपर्ने अवस्था छ । “क्रमिक रुपमा त्यो प्रकृया अगाडि बढ्ने छ,” उनले भने । 

२०७६ मा ५४ लाख ५९ हजार विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएकामा २०७७ मा बढेर ५७ लाख १३ हजार विद्यार्थी पुगेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांक रहेको छ । देशैभरी ३३ हजारभन्दा बढी सामुदायिक विद्यालय रहेका छन् ।

शिक्षक पेशामा कमाइ धेरै नहुने र लगातार काम गर्नु पर्ने भएकोले धेरैको छनोटमा यो पेशा पर्दैन । नेपालमा अवसरको अभावमा हरेक महिना नयाँ जनशक्ति  विदेशिने गरेको छ । पन्ध्र सय बढीको अवसर एकै चोटी आउनु नेपालको हकमा निकै ठूलो अवसर हो ।

परीक्षा आवेदन फाराम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ । उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत आवेदन दिन सक्नेछन् । आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ ।

विज्ञापन आयोगको वेबसाइट www.tsc.gov.np/ बाट डाउनलोड गर्न सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *