भकारीमा धान छैन, पुर्पुरोमा हात 

प्रतिक ढकाल २०७८ मंसिर ११ गते ९:३४

मेलौली नगरपालिका ९ बैतडीका महेन्द्र भट्टलाई यो वर्षको मङ्सिरमा बाली थन्काउने चटारो रहेन । “न रह्यो खेतबारी, न रह्यो बाली” । वर्षेनी भकारीका भकारी धान राख्ने हात यिनै हुन्, यी अहिले भकारीमा चराले खाने चारो पनि छैन।,” भट्ट खाली भकारी देखाउदै कुरा गर्न थाल्छन् ।

गत वर्ष त्यही भकारी ५० मुरी धानले भरिएको थियो । “बाली मात्र बगाए फेरी अर्को साल फलाउँथे मेरो त खेत नै बग्यो अब गरिखाने भाँडो पनि डुब्यो,” महेन्द्र गुनासो पोख्छन्

बेमौसममा आएको बाढीले मेलौली मात्रमा ४० परिवारको खेत लग्यो । त्यहाँका बाढी पीडित किसान सबैको हालत महेन्द्रको जस्तै भएको छ । खेतबारी खण्डहर बनेको छ र मेलौलीका जनताहरुलाई वर्षभरी खान कसरी खाने चिन्ताले खान थालेको छ ।

वर्षाको प्रभाव पूर्वी पहाडमा पनि उत्तिकै परेको थियो । वर्षा सँगैको हावाहुरीले इलाम सन्दकपुर गाउँपालिकाका प्रविण गड्तौलाको खेतमा लगाएको धान भुईँमा लडेर आधा उत्पादन घटेको बताउँछन । “असारभरको मेहनत भुईँमा लड्यो, आधा भन्दा धेरै धान नोक्सान भयो, सार्है मन रोएको छ,” उनी भन्छन्  ।

पानी सँगैको हावाहुरीले धानबालीमा क्षति पुगेका प्रविणले यसपटक उत्पादन गरेको धानले खेतालाको खर्च पनि उठेन । पहिलाका वर्षहरूमा झण्डै ११ महिना परिवार धान्ने धान उत्पादन हुन्थ्यो अहिले भने ४ महिनामै भकारी रित्तिने अवस्था छ । “घरमा ७ जनाको परिवार छ आम्दानी स्रोत खेती मात्र हो । सरकारी साथ-सहयोग भए त भोकै परिदैन थियो कि !” प्रविण भन्छन् ।

सरकारले बाढीबाट धानबाली नष्ट भएका किसानहरूलाई ६५% सम्म राहत दिने भनेता पनि हालसम्म महेन्द्रले राहत सुविधा भने पाउन सकेका छैनन् । सरकारले प्रदान गर्ने भनेको ६५% राहतमा १० कट्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कट्ठादेखि ३ बिघासम्म जग्गा भएका किसानलाई ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने निर्णय थियो ।

महेन्द्र र प्रविण जस्ता साना किसान हरूलाई त राहत घोषणा गरेको पनि थाहा छैन । “राहात दिने त भनियो किसानले पाएनन्  कसले पायो थाहा छैन,” महेन्द्र/प्रबिण भन्छन

बाढीका कारणले नेपालको पूर्वी र पश्चिमी भेगमा सर्वाधिक क्षति पुग्यो । पश्चिम नेपालका कैलाली कञ्चनपुर बझाङ बाजुरा डडेलधुरा दार्चुला र डोटीमा किसानले लगाएको धानबाली डुबेको छ कतै खेतबारी नै बगाएको छ । नेपालमा धानखेतीक लागी सर्वाधिक उत्तम क्षेत्र मानिने प्रदेश १ र प्रदेश २ मा पनि लगातारको बर्षाका कारण धानबालीमा ठूलो क्षति पुग्यो । पूर्वका झापा इलाम सिरहा सप्तरी सर्लाही महोत्तरी धनुषा जस्ता जिल्लाहरुमा जनताले लगाएको धानबाली नष्ट भयो । बाढीका कारण धानबालीमा डुबेर  तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लाका किसानले लगाएको धानमा वर्षाले धेरै असर पुर्‍याएको मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ । प्रदेशभर ५५ हजार हेक्टर क्षेत्रफलको धानमा असर पुगे पनि क्षति भने १८ हजार हेक्टरमा मात्रै छ । एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार ४ सय रुपैयाँ मेट्रिक धानमा सुदूरपश्चिम प्रदेशमा असर देखिएको छ ।

सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक अनुमानित विवरणअनुसार ती प्रदेशहरुमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र वर्षाले क्षति पुर्‍याएको छ । क्षतिको अनुमानित रकममा मूल्यांकन ७ अर्ब २२ करोड रुपैयाँ हाराहारी रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताए । वर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई भने असर मात्रै पुर्‍याएको मन्त्रालयले जनाएको छ ।

‘तीन वटा प्रदेशका एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा असर परेको र जसमध्ये ६७ हजार ९१९ हेक्टरको धानमा पूर्ण क्षति पुगेको छ,’ सहसचिव एवं प्रवक्ता सञ्जेलले भने । दुई लाख ५८ हजार ९२ मेट्रिकटन धान वर्षातका कारण क्षति भएको प्रारम्भिक अनुमान छ ।

विवरणअनुसार लुम्बिनी प्रदेशका चार जिल्लामा वर्षातको असर धेरै छ । प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही धेरै प्रभावित हुने जिल्लाहरु हुन् । यो प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा वर्षाले क्षति पुर्‍याएको छ ।

यस्तै प्रदेश १ को झापा, सुनसरी र मोरङमा वर्षातको असर धेरै छ । मन्त्रालयका अनुसार प्रदेशको ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा वर्षाको असर र क्षति देखिएको छ । प्रदेशमा ८० करोड रुपैयाँ बराबरको २८ हजार ४६९ मेट्रिकटन पाकेको धानमा क्षति पुगेको छ ।

धानउत्पादनको लागी खानीनै मानिने प्रदेश २ मा पनि बाढीका कारण धानबालीमा ठूलो असर पुग्यो प्रदेश २ मा वर्षाका कारण मानवीय क्षति नभएपनी धानबालीमा व्यापक क्षति भएको हो । प्रदेश २ का खेतहरूमा लगाइएका धानहरू मध्ये १५ प्रतिशत धानमा क्षति पुगेको प्रदेश २ अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दियो ।

नेपालमको प्रमुख अन्नवालीको रुपमा देशभर नै धानको खेती र उत्पादन गरिन्छ । नेपालको पहाडी तथा तराई क्षेत्रमा गरिने धानवालीले यी क्षेत्रका किसानहरुको बिहान बेलुकाको छाक टर्ने गर्दछ । नेपालमा धान खेती घरायसी प्रयोजनका लागी मात्र गरिने भएका कारण बर्षेनी छिमेकी राष्ट्र भारत तथा चीनबाट अर्बौँ रुपैँया बराबरको धान तथा चामल नेपाल भित्रने गर्छ । पछिल्लो ५ बर्षमा चामल तथा धानको आयात र उत्पादनको विवरणलाई हेर्ने हो भने नेपालले १ खर्ब ७१ अर्ब ९४ करोड रुपैँया बराबरको चामल तथा धान आयात गरेको तत्थ्यांक छ । जसमा १ खर्ब २० अर्ब ६४ करोड रुपैँया बराबरको चामल आयात गरिएको छ भने झण्डै ५० अर्ब बराबरको धान आयात भएको तत्थ्यांक छ ।

आर्थिक वर्ष चामल आयात धान आयात धान उत्पादन
२०७७/७८ २८ अर्ब ६० करोड १९ अर्ब ५५ करोड ५५ लाख ५० हजार मे.ट
२०७६/७७ २३ अर्ब १७ करोड १० अर्ब ४७ करोड ५६ लाख १० हजार मे.ट
२०७५/७६ २५ अर्ब ७४ करोड ६ अर्ब ८४ करोड ५१ लाख ५१ हजार मे.ट
२०७४/७५ २३ अर्ब ५५ करोड ५ अर्ब ९७ करोड ५२ लाख ३० हजार मे.ट
२०७३/७४ १९ अर्ब ५९ करोड ४ अर्ब २८ करोड ४२ लाख ९९ हजार मे.ट

गएको ५ वर्षमा नेपालले आयात गरेको तथा उत्पादन गरेको धान र चामलको विवरण

यसपटक बाढी र पहिरोमा परि ठूलो किसानले ठूलो क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएपछी नेपालले अझ यो तत्थ्यांक भन्दा पनि ठूलो परिणाममा धान आयात गर्नुपर्ने पक्का पक्की छ । अर्कोतर्फ बर्षभरीको बाली बाढी र पहिरोले बगाएपछी देशभरका किसानहरुलाई गर्जो टार्न सकस पर्ने देखिन्छ ।

बाढीका कारण घर बारी डुबाएकालाई सरकारले राहतको घोषणा गरेता पनि अन्नवाली डुबेर क्षति व्यहोरेका किसानहरूलाई राहतको व्यवस्था भने सरकारले गर्न सकेको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *