कार्यान्वयनको तयारीमा ‘पढ्दै कमाउँदै कार्यक्रम’

परीक्षणका रूपमा सातै प्रदेशका केही विद्यालय छनोट गरिने

जीविको २०७८ मंसिर ७ गते १९:०१

सरकारले प्राविधिक शिक्षा अध्ययन गर्ने कक्षा ९ देखी  १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रमको प्रक्रिया अघि बढाएको छ । भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको विकास गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न योजना बनाई एउटा प्रदेशको तीन विद्यालय पर्ने गरी कार्यक्रमको तयारी गरिरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा सुरुवात गरिने उल्लेख गरिएको छ ।

नेपालमा पहिलोपटक सरकारले विद्यार्थी लक्षित गरेर यस्तो कार्यक्रम ल्याएको हो । कार्यक्रम प्राविधिक विषयहरु;  बाली विज्ञान, पशु विज्ञान, कम्प्युटर इन्जिनियरिङ्, इलेक्ट्रिक इन्जिनियरिङ्, सिभिल इन्जिनियरिङ् पढ्दै गरेका विद्यार्थीमा केन्द्रित गरिएको छ । विद्यार्थीहरूले उत्पादन गरेका बस्तुलाई बजार व्यवस्थापन गर्न सरकारले सहयोग गर्ने बताएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको १४ करोड बजेट ‘पढ्दै कमाउँदै’ कार्यक्रमको लागि छुट्याइएको छ । देशभर कार्यक्रम सञ्चालन गर्न बजेट थोरै भएकाले यस वर्ष परीक्षण कार्यक्रमका रूपमा केही विद्यालय छनोट गरी सञ्चालन गर्ने तयारी गरिएको छ । विद्यालय छनोट गर्दा १५ दिने विज्ञापन गरेर इच्छुक विद्यालयलाई दरखास्तका लागि आह्वान गरिनेछ । दरखास्तमध्ये छानिएका विद्यालयलाई एक दिन अभिमुखीकरण कार्यक्रम गरी नगरपालिकामार्फत अनुदान दिने मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको अनुसार विद्यार्थीले पढेर जानेका कुरालाई आय आर्जनसँगै आम्दानीसँग जोड्ने उद्देश्य उक्त कार्यक्रमको रहेको छ । प्रवक्ता दीपकले भने “पढ्दै कमाउँदै कार्यक्रम प्राविधिक धारको कक्षा सञ्चालन गरेका विद्यालयका विद्यार्थीलाई प्राथमिकता दिने गरी मस्यौदा बनेको छ । जसले गर्दा विद्यार्थीले आफ्नो पढाइको क्षेत्रसँग सम्बन्धित रोजगार तथा प्रयोगात्मक काम गर्न पाउने छन्”  उनी भन्छन् “अहिले कार्यविधि बन्दै छ, बनेपछि कार्यान्वयनमा आउँछ, कार्यविधि बनिसकेपछि मात्रै सेवा सुविधाबारे जानकारी हुनेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *